परमेश्वरले आदम र हब्बालाई मृत्युको चेतावनी दिँदै असल र खराबको ज्ञान दिने रुखबाट फल खान सख्त प्रतिबन्द लगाएतापनि सर्पको भेषमा शैतानले हब्बालाई फसाउन सफल भयो, अनि हब्बाले त्यो फल आफ्नो पति आदमलाई पनि खान कर लगाईन ! यसरी परमेश्वरसँगको विद्रोहमा शैतानले मानिसलाई पनि सामेल र सहभागी गरायो, जसको कारण ईश्वरीय श्राप, अर्थात् पाप, पतन, मृत्यु र मृत्युको डर आदम र उसको सन्ततिमा फैलियो !
सर्पले स्त्रीलाई परीक्षामा परास्त गरेको कारण एक दिन स्त्रीको सन्तानले सर्पमाथि विजयी हुनेछ भन्ने ईश्वरीय भविष्यवाणी दिईयो, जसलाई पहिलो सुसमाचार (Protoevanglium) भनिन्छ, किनभने यो पाप र पतनपछि आएको पहिलो सुसमाचारको आशा थियोः तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ” (उत्पति ३ः१५) । परमेश्वर र सैतानको प्राचीन युद्ध अब अदनको बगैंचामा अर्थात् मानव संसारमा पनि आइपुग्यो, अनि त्यो लड़ाइँलाई निर्णायक अवस्थामा पुराएर अन्त्य गरिदिने एक जना विजेता (Champion) आउने कुराको प्रतिज्ञा गरियो !
अदनदेखि नै स्त्रीको सन्तान र सर्पको सन्तान बीच दुश्मनी सुरु भयो ! त्यही भएर इतिहास भरी नै पवित्रजातिलाई सधैं अपवित्र दुष्ट जातिले अन्याय, अत्याचार, र सतावट दिँदै आएको छ । यसको पहिलो परिमाण स्वरूप सर्पको सन्तान कयिनले स्त्रीको सन्तान हाबिललाई हत्या गरेका थियो (हेर्नुहोस् गलाति ४ः२८–२९ः “तर त्यस बेला जसरी शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँदथ्यो, अहिले पनि त्यस्तै छ“ (गलाति ४ः २८–२९) । शैतान र उसका सन्तान जतिसुकै स्त्रीको सन्तानमाथि हावी भएतापनि ईश्वरीय भविष्यवाणी अनुसार एक दिन विजेताले सर्पको सन्तानको हैन तर स्वंयम सर्पको शिर कुच्च्याउनेछ भन्ने आशा र विश्वास थियो !
यो प्राचीन भविष्यवाणीलाई पूरा गर्न नै ईश्वरको पुत्रले मानिसको पुत्रको अवतार लिनुभयो, अर्थात् उहाँ स्त्रीको सन्तानको (पुरुषको कुनै हिस्सा छैन) रूपमा मरियमको गर्भबाट जन्मनुभयो ! यही कारणले गर्दा नै येशू ख्रीष्ट कन्याकुमारी मरियमबाट बेथलेहेममा स्त्रीको सन्तानको रूपमा जन्मनुभएको थियो ! यही कुरालाई हिब्रुको लेखकले हिब्रु २ः१४–१५ मा त्यो प्राचीन भविष्यवाणीलाई संबोधन गर्दै यसरी लेखेका छन “किनकि छोरा–छोरीहरू (परमेश्वरको सन्तान) मासु र रगतका सहभागी भएका हुनाले येशू ख्रीष्टले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्, र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन् ! येशू ख्रीष्ट नै त्यो स्त्रीको विजय सन्तान हुनुहुन्छ, जसले प्राचीन सर्पको शिर कुच्च्याएर प्राचीन भविष्यवाणीलाई पूरा गरी प्राचीन युद्धलाई विजयमा परिणत गरीदिनुभयो, किनकि उहाँ प्रकट हुनुको उद्देश्य नै सैतानको कामहरू नाश गर्नको लागि थियो (१यूहन्ना ३ः८) !
अर्को रोचक पक्ष यो हो कि, परमेश्वरको पवित्रआत्मा पनि यो युद्धमा प्रत्यक्ष रूपमा जोडिनुभयो, किनभने त्यही ईश्वरीय आत्माले मरीयमको गर्भमा गएर स्त्रीको सन्तानको मानव शरीरलाई योद्धाको रूपमा युद्ध गर्न बनाउनुभयो ! अनि यही आत्माले येशूलाई बप्तिस्मामा अभिषेक गरेर सैतानसँग परीक्षित हुन मरुभूमिमा लानुभयो, अनि परीक्षामा विजयी भएपछि, त्यही पवित्रआत्माले ख्रीष्टलाई सम्पूर्ण सेवाकाईमा सहायता गर्नुभयो, र अन्त्यमा त्यही आत्माले निर्णायक युद्ध लड्नको लागि क्रुसमा लानुभयो, जहाँ सैतानले स्त्रीको सन्तानको कुर्कुच्चो डस्यो अर्थात् उहाँलाई क्रूसको दुःख र मृत्यु दियो, त्यसको विरुद्धमा त्यही क्रूसको दुःख र मृत्युद्वारा प्राचीन सर्पको शिर कुच्याईदिनुभयो, अर्थात् शैतानको पूर्ण हारका साथै उसको नियति नरकको लागि तय गरिदिनुभयो !
अर्को शब्दमा भन्नुपर्दा, सैतानले येशूलाई आदम र हब्बालाई जस्तै पापमा फसाउने सकेन । यदि येशूले पनि परमेश्वरको वचन र इच्छालाई बेवास्ता गरेर पाप गरेको खण्डमा उहाँ पनि पापी बन्नुहुन्थो, अनि उहाँको बलिदान र रगतले हाम्रो पाप क्षमा हुँदैनथ्यो, न त उहाँको पुनरुत्थान नै सम्भव हुन्थ्यो ! तर उहाँले अदनमा जस्तै पाप गर्नुभएन, तर येशूले क्रूसको मृत्युद्वारा पाप, मृत्यु, मृत्युको डर अनि शैतानलाई सधैंको लागि पुनरुत्थानको विजयमा निलिदिनुभयो (हेर्नुहोस १ कोरन्थी १५ः५४) ! यसरी हब्बाले ल्याइएको पाप र मृत्युको दुर्दशालाई मरियमको सन्तानले क्रुसमा भोगेर त्यसैद्वारा सैतानमाथि विजयी हुनुभयो ! यसरी स्त्रीको सन्तानको जन्म र क्रूसको मृत्यु एक अर्कासँग जोडिन्छ, किनभने येशू ख्रीष्टको जन्म (Christmas) नै मृत्यु (Good Friday) र पुनरुत्थानको (Easter) लागि थियो !
त्यसैले, ख्रीष्टमस दुष्टमाथि सत्यको विजय र विजेताको कथा हो ! यो कथा मानवजातिको लागि सुसमाचार हो, किनभने दुष्टले जतिसुकै शिर उठाएर डसेतापनि त्यसको शिर अवश्य कुच्च्याईनेछ ! यो परमेश्वरको प्रतिज्ञा र प्रबन्धको पनि कथा हो किनभने हाम्रो पक्षमा युद्ध लडेर विजय सुनिश्चित गरिदिने विजेता उहाँले जुटाइदिनुभयो !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
