परमेश्वर मिसनको परमेश्वर हुनुहुन्छ । उत्पत्ति १२ः१–३


वचनखण्ड : उत्पत्ति १२ः१–३ “ परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस्। तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु,  र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष् पाउनेछन्।”

परमेश्वरको बोलावट र प्रतिज्ञा :

उत्पत्ति १२ बाइबलको एउटा महान परिवर्तन बिन्दु हो ।

परमेश्वर मिसनको परमेश्वर हुनुहुन्छ, परमेश्वरले जुन मिसन मानिसजातीको उद्दारको निम्ति उत्पत्ति ३ मा मानिसको पतन पछि शूरु गर्नुभयो, अब त्यो मिसनमा सहभागी गराउनलाई अब्रामलाई बोलाउनुहुन्छ । जहाँ अब्रामलाई उहाँले भन्नुहुन्छः “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा । “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस् ।  

परमेश्वर केवल अब्रामलाई मात्र होइन तर अब्राम बाट खडा हुने जातिलाई पनि आफ्‌नो मिसनमा सहभागी गराउने कुरालाई व्यक्त गर्नुहुन्छ । जसकारण हामी देख्दछाँै परमेश्वरले अब्राहाम सित जुन करार बाँध्नुभएको थियो त्यो करार उनका छोरा इसहाकमा पनि नविकरण गर्नुहुन्छ, त्यसैगरी इसाक पछि उनका छोरा याकुवसँग पनि त्यो करार नविकरण गर्नुहुन्छ । जसकारण याकुवको नाउँ पछि इस्राएल हुन्छ, उनका १२ जना छोराहरु नै इस्राएल देशका खम्बाहरु हुन्छन उनिहरु नै पछि गएर एउटा ठूलो जाती बन्छ । जुन जातिलाई परमेश्वरले गैरइस्राएलीहरुमाझ परमेश्वरको मिसनमा सहभागी गराउनको निम्ति उनिहरुका माझ ज्योति बन्नको लागी भन्नुहुन्छ ।

तर इस्राएलीहरु गैर इस्राएलीहरु माझ ज्योति बन्न चुक्छन, तर समयको पुर्णतामा साँचो इस्राएल आउनुहुन्छ अर्थात येशू ख्रीष्ट जसको बारेमा परमेश्वरले अब्राहाम सित प्रतिज्ञा गर्नुभएको थियो ।

  • यो प्रतिज्ञा अन्ततः येशू ख्रीष्टमा पूरा हुन्छ । गलाती ३ः८ मा यसो लेखिएको छः “ परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष् पाउनेछन्‌” भन्ने सुसमाचार अघिबाटै सुनाइयो ।”
  • येशू नै अब्राहामको साँचो सन्तान हुनुहुन्छ (गलाती ३ः१६) । उहाँले क्रूसमा बलिदान भइ संसारका जाति–जातिहरूको लागि उद्धारको बाटो खोल्नुभयो । अब, जो कोही येशूमा विश्वास गर्छ, तिनीहरू अब्राहामका सन्तान ठहरिन्छन् (गलाती ३ः७) ।
  • इस्राएलीहरु परमेश्वरको मिसन अरु जातिहरुमाझ पुगाउन चुके, तर येशू ख्रीष्ट चुक्नुभएन । येशू ख्रीष्ट मिसनको केन्द्रविन्दु हुनुहुन्छ जसको बारेमा परमेश्वरले उत्पत्ति ३ः१५ मा कुरा गर्नुर्भएको थियो, उहाँले त्यो मिसनलाई क्रूसमा पूरा गर्नूभयो, र अब त्यो मिसन केवल इस्राएलीमाझ मात्र सिमित राख्नुभएन तर गैर इस्राएली वा गैर यहुदीहरुमाझ पनि त्यो मिसनलाई फैलाउनुभयो । येशू स्वर्गरोहण भईसकेपछि, पवित्र आत्मालाई पठाईकन त्यो मिसनमा अब मण्डलीलाई सहभागी गराउनुभएको छ । 
  • यो मिसनको उद्देश्य भनेको पवित्र परमेश्वरबाट पापको कारणले विछोड भएको मानिसजातीलाई परमेश्वरको संगतीमा ल्याउनु हो । जसकारण आज त्यो मिसन हामीहरुमाझ पनि आएकोले हामी सुसमाचारमा विश्वास गरी परमेश्वरको संगतीमा आउन सक्यौ । अब त्यो मिसन अरुमाझ पुगाउनको निम्ति हामी सहभागी भएका छाँै ।

लागू गर्नुपर्ने कुराहरु :

  • परमेश्वरले मलाई कहाँ–कसरी आशीष दिनुभएको छ ? त्यो आशीषलाई के म केवल आफ्नै लागि प्रयोग गर्दैछु ? वा, अरूलाई आशीष दिन पनि प्रयोग गर्दैछु ? परमेश्वरको आशीष आत्मकेन्द्रित कहिल्यै हुँदैन । उहाँले हामीलाई आशीष दिनुहुन्छ ताकि हामी अन्य मानिसहरूलाई पनि आशीष दिन सकौँ । आज पनि, परमेश्वरले हामीलाई आशिषित हुन र आशिष बाँड्न बोलाउनुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा केवल आफुमात्र आशिषित हुन होइन तर अरुहरुको निम्ति पनि आशिषको कारण हुन बोलाउनुहुन्छ ।
  • सुसमाचारलाई केवल आफुभित्र मात्र सिमित नराख्नुहोस तर त्यो सुसमाचारलाई परिवार, समाज, साथीभाई, आफन्त देखि लिएर अरुमाझ पनी पुगाउनुहोस । ताकी अरु मानिसहरु पनी तपाई जस्तै येशू ख्रीष्टमा विश्वास गरेर आशिषीत बन्न सकुन ।

Post a Comment

Previous Post Next Post