रोचक प्रसङ्गः ख्रीष्टमस परमेश्वरको विश्वासयोग्यता र करारको सम्झनाका कथा हो !



अदनको बगैंचामा मानिससँग हिँडडुल गर्ने परमप्रभु परमेश्वर करारको परमेश्वर पनि हुनुहुन्छ । मानिससँग करार बाँधेर परमेश्वरले मानिसलाई करारको आशिष दिनुभयो । तर मानिसले अनाज्ञाकारिताको फल खाएर पवित्र करार भंग (पाप) गरेको कारण करारको सराप पाई अदनबाट निष्कासन भए । त्यो सरापको भागीदार मानिस लगायत भूमि, प्राणीहरू, अनि सारा सृष्टि पनि भए ! 

करारका अनुग्रही परमेश्वरले मानिसलाई श्रापित आवस्थामा छाड्नुभएन । श्रापलाई नाश गरी फेरि करारको पुनःस्थापन र नवीकरण गरी अदनको भन्दा पनि उत्कृष्ट करारको आशिषमा फर्काउने मुक्तिदाताको भविष्यवाणी अब्राहामको करारद्वारा (उत्पति १५), मोशाको करारद्वारा (प्रस्थान २४), दाउदको करारद्वारा (२ समुएल ७) इस्राएललाई दिईएको थियो ! 

इस्राएललाई मिश्रको दासत्वबाट छुटकारा दिने अब्राहाम, इसहाक, र याकूबसँग बाँधेको करारको स्मरण गर्दै परमप्रभु परमेश्वर मोशालाई दर्शन दिन जलिरहेको पोथ्रामा ओर्लीआउनुभयोः परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो (प्रस्थान २ः२४) ! जसरी आफ्नो प्रजालाई छुटकारा दिन परमेश्वरले करार सम्झेर ओर्लीआउनुभयो, त्यसरी नै करारका परमेश्वर आफ्नो प्रजालाई पाप, मृत्यु र शैतानको दासत्वबाट छुटकारा दिन बालक येशूको मानव शरीरमा ओर्लिआउनुभयो, जुन कुरा लुका १–७२–७३ मा लेखिएको छः उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्नो पवित्र करार स्मरण गर्नलाई, जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो (लुका १ः७२–७३) ! 

यसरी येशू ख्रीष्टको जन्मलाई नयाँ मोशाको जन्मको रूपमा देख्न सक्छौ, किनभने मोशाको जन्म र सेवकाईमा इस्राएलको पुरानो प्रस्थान भयो भने नयाँ मोशाको जन्म र सेवाकाईद्वारा नयाँ प्रस्थान र नयाँ करारको प्रारम्भ भयो ! मोशा र नयाँ मोशा येशू बीच समानता र भिन्नताहरु धेरै छन ! ख्रीष्टमसँग सम्बन्धित एउटा समानता चाहिँ मोशाको जन्ममा बच्चाहरुको निर्मम हत्या गरिएको थियो, त्यसरी नै येशूको जन्ममा पनि बच्चाहरुको हत्या गरिएको थियो ! भिन्नता त्यो भन्दा पनि अझै रोचक छः परमेश्वरले पुर्खाहरुसँगको करार सम्झेर इस्राएलको सहायता गर्न ओर्लिआउनुभयो र मोशालाई त्यो जिम्मा दिएर मिसनमा पठाउनुहुन्छ, तर त्यही करारका परमेश्वर ख्रीष्टमसमा करार सम्झेर आफ्नो प्रजा मण्डली— इस्राएलको सहायता गर्न स्वयंम नयाँ मोशामा देहधारी हुनुभयो, अर्थात् त्यो मिसनमा अरुलाई पठाएर हैन, तर बरु त्यो मिसन आफ्नै हातमा लिएर त्यसलाई मोशाले भन्दा महान रिती र महिमित रुपमा पूरा पनि गरिदिनुभयो ! करार सम्झेर सहायता गर्न आउने कारकको ईश्वर नै बालक येशू ख्रीष्टको मानव देहमा ख्रीष्टमसमा प्रकट हुनुभयो ! 

यसरी, प्रभु येशू ख्रीष्ट त्यही सनातनका करारका परमेश्वर हुनुहुन्छ जसले मानव अवतार धारण गर्नुभयो ताकि हाम्रो करारको श्राप उहाँले क्रुसमा वहन गरी नाश गर्न सकियोस् भनेर हो (हेर्नुहोस गलाती ३ः१३–१४) ! उहाँ श्रापित हुनुभएको कारण हामीले अदनको भन्दा महिमित करारको आशिष पायौं ! 

त्यसैले, ख्रीष्टमस परमेश्वरको विश्वासयोग्यता र करारको सम्झनाका कथा हो ! परमेश्वर करारप्रति गम्भीर र वफादार हुनुहुन्छ, जसले आफ्नो प्रजालाई प्रेम गरी पुनःस्थापना गर्न करारका ईश्वर बालकको रूपमा गोठमा पर्सिनुभयो ! ख्रीष्टमस करारको पुनस्थापना, पुननिर्माण, पुनप्राप्ति, र नविकरणको कथा हो !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post