रोचक प्रसङ्गः ख्रीष्टमस प्राचीन आशालाई जीवन्त बनाईदिने येशू ख्रीष्टको जन्मको कथा हो ।

 


अदनको बगैँचामा मानिससँग हिँड्डुल गर्ने परमप्रभु राजा परमेश्वर एक दिन मानव देहमा अवतरण हुने प्राचीन भविष्यवाणी थियो ! यो राजा आउने बाटो स्त्रीको सन्तानको मार्फत (उत्पत्ति ३ः१५), नोआको सन्तान शेम मार्फत (उत्पति ९ः२६–२७), अब्राहामको सन्तान इसहाक मार्फत (उत्पति २२ः१८), याकूबको सन्तान यहुदाको मार्फत (उत्पति ४९ः१०, गन्ती २४ः१७) हुनेछ भन्ने जनविश्वास र जनआस्था थियो ! रोचक के छ भने यो देहधारी हुने राजाको भविष्यवाणीहरु प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मन्दिर र करारको विषयहरुसँग पनि सम्बन्धित भएको देख्छौं ! 

यो भबिष्यवाणीमा एउटा नयाँ रोचकता २ शमूएल ७ ले थपिदिन्छ, जहाँ परमेश्वरले दाऊदसँग करार बाँधेर नै प्राचीन भबिष्यवाणीहरुको मसीह राजा, दाउदको वंशबाट आउनेछ भन्ने प्रतिज्ञा र सपथ दिनुहुन्छः 

परमप्रभुले तेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्नुभएको छ । जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु। त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु। म त्यसका पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। त्यसले अधर्म ग¥यो भने, मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु। तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्छाएँ, म मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ। तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्थिर हुनेछ“ (२ शमूएल ७ः११–१६) ।

त्यो प्राचीन भविष्यवाणीहरु मानव मसीह राजाको बारेमा मात्रै थियो, अनि यहाँ पनि यो करारको तत्कालीन सन्दर्भ राजा सोलोमन हो ! तर, यसमा महिमित के छ भने यो मानव अवतारमा प्रकट हुने राजा ईश्वरको पनि पुत्र हुनेछ भनेर भविष्यवाणी दिइयो ः म त्यसका पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ (हेर्नुहोस पद १४) ! मतलब, प्राचीन राजा आउने बाटोको वंशमा दाऊदको वंश मात्रै जोडिएन, तर आउनेवाला मसीह राजा मानवको पुत्र र ईश्वरको पुत्र भई दुई स्वभाव, एक व्यक्तिमा (ज्थउयकतबतष्अ ग्लष्यल) अनन्त मिलान हुनेछ भनेर पनि भविष्यवाणीमा जोडीएको देख्छौं ! 

यो भन्दा रोचक के छ भने यो भविष्यवाणीको प्रसङ्ग नै करार हो, अनि यसको सन्दर्भ नै सोलोमनले मन्दिर निर्माण गर्ने बारेमा हो ! जसरी राजा सोलोमन करारको सन्तान र मन्दिर निर्माणकर्ता हो, त्यसरी नै सोलोमन भन्दा महान राजा येशू नयाँ करारको सन्तान र मण्डली— मन्दिर निर्माणकर्ता हुनुहुनेछ! यसरी हामीले यहाँ पनि स्पष्ट देख्न सक्छौ कि पूर्व भविष्यवाणीहरुमा जस्तै आउनेवाला मसीह राजाको विषय मन्दिर र करारसँग ठोकिन्छन् !

अर्को रोचक के छ भने जब यहुदाको अन्तिम राजा सिदीकिया लगायत सबैलाई बेबिलोनले इशापूर्व ५८६ मा निर्वासनमा लगे, दाऊदवंशी राज्य र राजाको समाप्ती भयो ! तरै पनि ठूला र साना अगमवक्ताहरुले एक दिन प्राचीन भविष्यवाणीहरुले प्रतिज्ञा गरेको मसीह राजा आउनेछ भनेर आशा र आश्वासन दिए ! यो समय र यो भन्दा केही समय अगाडिको राजा मसीह सम्बन्धि भविष्यवाणीहरु निम्न छनः 

१. किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शासन्तका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शासन्तका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ (यशैया ९ः६–७)

२. यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ (यशैया ७ः१४) 

३. त्यस दिन मानिसहरूका निम्ति यिशैको वंशबाट एउटा झन्डाजस्तै खड़ा हुनेछ। जाति–जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्थान महिमामय हुनेछ (यशैया ११ः१०) 

४. “त्यस दिन म दाऊदको ढलेको वासस्थानलाई पुनसर््थापन गर्नेछु, र त्यसका प्वालहरू मरम्मत गर्नेछु। अनि भत्केको अवस्थाबाट त्यसलाई म खड़ा गर्नेछु र अघिजस्तै गरी म त्यसलाई निर्माण गर्नेछु (अमोस ९ः११) 

५. हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ (जकरिया ९ः९) 

६. “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ“ (मिका ५ः२) । अरुपनि धेरै भविष्यवाणीहरु छन्, तर प्रमुख मसीह राजाको मानवत्व र ईश्वरत्व सम्बन्धि भविष्यवाणीहरु यी ६ वटा प्रमुख हुन ! 

लगभग ६०० – ७०० वर्षसम्म मसीह राजा आउँछ आउँछ भनेर इस्राएल प्रतिक्षामा बसिरहे अनि कुरिरहे ! समयको पूर्णतामा जब परमेश्वरले ठहराउनु भएको बेला आयो, तब सम्पूर्ण प्राचीन भविष्यवाणीको पूर्णता र इस्राएलको आशा, गौरव, र महिमा तथा अन्यजातिको पनि मुक्तिदाता, राजाहरूको पनि राजा महाराजा, करारको मन्दिर— मसीह राजा तथा याकूबको चहकिलो बिहानको तारा, ख्रीष्टमसमा मरीयमको पुत्रको शरीरमा देहधारी भई स्वर्गबाट अवतरण हुनुभयो ! यी सबै प्राचीन भविष्यवाणीहरु बाइबलको एउटै खण्डमा अर्थात् लुका १ः २६–३८ मा लगभग पूरा भएको देख्न सक्छौ :

छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्ये–केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।  स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा–पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।” तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।” स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्। किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।

यो मानव मसीह राजा नै परमेश्वरका पुत्र कहलाइनुहुनेछ, अनि उहाँ दाऊदवंशी राजा हुनुहुनेछ, किनभने मरियमको मगनी दाऊदवंशी योसफसँग भएको थियो ! यति मात्रै हैन, यो राजा दाऊदसँग बाँधिएको करारको सन्तान हुनुहुन्छ, जसलाई नयाँ करारको मन्दिरको रूपमा पवित्र आत्माले मरियमको गर्भमा निर्माण मात्रै गर्नुभएन, तर त्यो मानव मन्दिरलाई पवित्र आत्माको शेखाईना महिमाले सिद्ध र महिमित रीतिमा छायाँ पार्न मरियममाथि पनि आउनुभयो ! यसरी मरियमको गर्भबाट नयाँ करारको नयाँ मन्दिर निकालियो, जो स्त्रीको सन्तान, नोहाको सन्तान, अब्राहमको सन्तान, याकूबको सन्तान र तारा, र दाऊदवंशी राजा भएर योसेफ र मरियमको पुत्र भई जन्मनुभयो ! यही कारणले पनि प्रभु येशूलाई मानिसको पुत्र र परमेश्वरको पुत्र दुवै भनिएको हो ! 

ख्रीष्टमस यही प्राचीन भविष्यवाणीहरुको पूर्णता हो ! प्रथम भविष्यवाणी स्त्रीको सन्तानको बारेमा भएकोले नै प्रभु येशू ख्रीष्ट कन्या कुमारीको गर्भबाट स्त्रीको सन्तान भई जन्मनुभयो ! ख्रीष्टमस प्राचीन आशा, आस्था, र विश्वासलाई जीवन्त बनाईदिने बालक येशू ख्रीष्टको जन्मको कथा हो ।

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post