अदनमा आफ्नो प्रजा मानिससँग हिँड्डुल र संगती गर्ने परमेश्वर राजा भएर आउने बाटो स्त्रीको सन्तानको वंशबाट थियो । यही स्त्रीको सन्तान नोआ, शेम, अब्राहाम, इसहाक र याकूबको सन्तानको वंशबाट आउने भविष्यवाणी दिइयो, र पछि यही सन्तान दाऊदवंशी राजा भएर आउने भविष्यवाणी पनि दिइयो ! त्यहाँ जान भन्दा अगाडि हामी एउटा ख्रीष्टमसको प्रमुख भविष्यवाणी गन्ती २४ः१७ लाई हेर्नेछौः म उहाँलाई देख्छु, तर अहिले त होइन । म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ (गन्ती २४ः१७) ।
राजा बालाकले याकूब अर्थात् इस्राएललाई श्राप दिन घुस दिएर अगमवक्ता बालामलाई लिएर आउँछन्, तर बालामले चार चोटि नै श्रापको सट्टा आशिष पो दिन्छन्, जसले गर्दा बालाक बालामसँग क्रोधित हुन्छन् ! चौथो चोटिको आशिषमा बालामले याकूबबाट आउने मसीह राजाको भबिष्यबाणी कहन्छ ! रोचक के छ भने यो याकूववंशी राजालाई तारासँग पनि सम्बन्धित गरिएको छ !
अदनको स्त्रीको सन्तानको भविष्यवाणी अन्तत स्त्रीको सन्तान नै भएर जन्मनुभयो ! कन्या कुमारीबाट जन्मनुभएको येशू ख्रीष्ट नै इस्राएलको मसीह राजा हुनुहुन्छ ! यहूदीहरुलाई राजा येशूको जन्मको चिन्ह कन्या कुमारीको गर्भधारण थियो भने अन्यजातीलाई पूर्वको चहकिलो तारा थियो ! यो चिन्हले यही देखाउँछ कि राजा येशूको जन्म र राज्यको सुसमाचार इस्राएलमा मात्रै सीमित थिएन तर सारा संसारको लागि नै थियो, किनभने उहाँ संसारको मुक्तिदाता र ज्योति दुवै हुनुहुन्छ (युहन्न्ना ४ः४२) !
त्यही भएर पूर्वका ज्योतिषीहरु तारालाई पछाउँदै यहूदिहरूको राजालाई दण्डवत् गर्न इस्राएल देशसम्मै आएका थिएः यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं ”(मत्ति २ः२) ! वास्तवमा उनीहरूले तारालाई पछ्याएका थिएनन बरु ताराले उनीहरूलाई बालक राजा येशू जन्मेको बेतहेलेमतर्फ डोहोर्याउँदै थियोः जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि–अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अडी़यो । जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए (मत्ति २ः९–१०) !
ख्रीष्टमसमा ख्रीष्टको तारा देखिनु कुनै संयोग वा घटना थिएन, तर प्राचीन भविष्यवाणीको पूर्णता थियो ! पृथ्वीमा देहधारी मसीह राजा येशूको जन्ममा स्वर्गले पनि गवाही दिई रमाउन आएको चिह्नको रूपमा तारा आएको देख्छौ ! त्यही ताराको उज्यालोमा ख्रीष्टमसको ख्रीष्ट संसारलाई ज्योति दिन जन्मनुभएको थियो ! त्यसैले ख्रीष्टमस ख्रीष्टको ताराको पनि कथा हो !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
