रोचक प्रसङ्गः ख्रीष्टमस शान्ति स्थापना गरिदिने मन्दिरको जन्मको कथा हो !




परमेश्वर राजा भएर जन्मने बाटो अदनदेखि नै तयारी हुँदै थियो । यो मसीह राजा यहुदाको कुलबाट आउने भविष्यवाणी थियोः यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन् (उत्पति ४९ः१०) ! हिब्रुमा मालिकको लागि चलाईएको शब्द शिलो हो, जुन यरूशलेमको मन्दिर बनिनुभन्दा अगाडि परमेश्वरको आराधना गर्ने पवित्र स्थल थियो ! 

रोचक के छ भने यो शीलो शब्द शान्तिसँग पनि सम्बन्धित छ, किनभने हिब्रु शब्द शालोमको मूल शब्द शीलो हो ! यसले यही देखाउँछ कि मन्दिर र शान्ति एक आपसमा परिपूरक छन्, अर्थात् जहाँ परमेश्वरको मन्दिर छ, त्यहाँ शान्ति पनि अवश्य नै हुन्छ, किनभने त्यहाँ शान्ति र मिलापको बलिदान चढाइन्छ ! 

उत्पति ४९ः१० को भविष्यवाणी तब पूरा भयो जब कन्याकुमारी मरियमको गर्भलाई चोख्याएर पवित्र आत्माले शान्ति स्थापना गरिदिने नयाँ मन्दिर उहाँको गर्भमा निर्माण गर्नुभयो ! ग्राब्रिएल स्वर्गदूतले मरियमलाई यस्तो भनेका थिएः “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ (लुका १ः३५) । जसरी पुरानो मन्दिरलाई शेखाईना महिमाको बादलले छोपेथ्यो, त्यसरी नै बादलको वास्तविक स्वरूप पवित्र आत्माले नयाँ मन्दिरमाथि छायाँ पारिदिनुभयो, अनि त्यो छायाँ परमेश्वर पिताको भएकोले, अनि परमेश्वरको पवित्रआत्मा मरियम माथि आउनुभएकोले, जो जन्मनुभयो त्यो परमेश्वरको पुत्र हुनुभयो ! यहाँ मानिसले बुझ्ने भाषामा यो घटनालाई प्रस्तुत गरिएको छ । यहाँ ईश्वर र मानव बीच कुनै शारिरीक सम्बन्ध भएको देखाईएको छैन, तर बरु जसरी पुरानो मन्दिर निर्माणमा पवित्र आत्मा सक्रिय हुनुहुन्थ्यो, त्यसरी नै नयाँ मन्दिर (येशू ख्रीष्टको मानव शरीर) निर्माणमा पवित्र आत्मा सक्रिय हुनुहुन्छ भने कुरा स्पष्ट पारिएको छ ! यसरी मरियमको चोख्याईएको शरीरबाट मन्दिर निकालियो ! 

यो येशू ख्रीष्टको नयाँ शीलो— मन्दिरको शरीर नै शान्ति स्थापना गर्ने एक मात्रै माध्यम हो, किनभने यही मन्दिरद्वारा परमेश्वर र मानिसबीच शान्ति स्थापना भयो, र पवित्र परमेश्वर र पापी मानिस बीचको दुस्मनी सधैंको लागि अन्त्य भयो ! यही शान्ति स्थापना गरिदिने मन्दिरको जन्ममा स्वर्गदूतहरुले परमेश्वरको स्तुति गर्दै यसरी गाएका थिएः “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” (लुका २ः१४) ! 

त्यसैले, ख्रीष्टमस शान्ति स्थापना गरिदिने मन्दिरको जन्मको कथा हो, जो इम्मानुएल प्रभु येशू ख्रीष्ट हुनुहुन्छ ! यो बालकमा नै परमेश्वरको साँचो शालोम (Shalom) उपलब्ध छ, किनभने उहाँ नै शान्तिका राजकुमार पनि हुनुहुन्छ ! यसरी यहूदाबंशी राजा, शीलोको शान्ति ख्रीष्टमससँग बडो रोचक ढंगमा एक आपसमा जोडिन्छन् र ठोकिन्छन् !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post