रोचक प्रसङ्गः येशू राजाको जन्म भएकोले आराधना र दण्डवत् गर्न ताराले नयाँ मन्दिरतिर डोर्‍याए !




अदनमा परमप्रभु राजाको रूपमा आफ्नो प्रजा मानिससंग हिँडडुल गर्दै भेटघाट गर्न आउनुहुन्थ्यो! मानिसको राजद्रोहको कारण अदनको राज्यबाट उनीहरूलाई निकालियो ! अनुग्रही परमेश्वरले एकदिन राजाको रूपमा मानव भएर जन्मेर पुन आफ्नो प्रजाहरुलाई पुर्नस्थापना गर्ने प्रतिज्ञा भबिष्यवाणीद्वारा दिनुभयो । बाइबल धर्मशास्त्र यही मसीह राजाको बारेमा हो, जो स्वयंम एकदिन बालकको रुपमा तथा स्त्रीको सन्तान भएर जन्मने प्राचीन भबिष्यवाणी थियो । बाइबलभरि यही भबिष्यबाणीको प्रतिज्ञा देख्न सक्छौ । मानव भएर जन्मने राजा बाइबलको पुस्तकको विकाससँगै अरु भूमिकाहरुसँग पनि जोडिँदै जान्छ, तरैपनि मसीह, राजा भएर जन्मने विषयचाहिँ बाइबलको प्रमुख भविष्यवाणी हो, जुन उत्पति देखि मलाकीसमै देख्न सक्छौ ! यो अलि बुझ्न गाह्रो हुन्छ होला तर ध्यान दिएर गम्भीर भएर पढ्नुभयो भने पक्कै पनि महिमित हुनेछ ! 

हामी यही भविष्यवाणीको श्रृंङ्खलालाई आगामी केही दिनको लागि ख्रीष्टमस रोचक प्रसङ्गको रूपमा हर्नेछौं । आज हामी २ वटा राजा अनि राजासँग जोडिएको विषयगत भविष्यवाणीहरुलाई हेर्नेछौं, जुन एकदमै रोचक छन् अनि ख्रीष्टमसको घटनासँग सिधै ठोकिन्छ ! 

पहिलो भविष्यवाणी उत्पति ९ः२६–२६ होः नोआले यसो पनि भने, “शेमका परमप्रभु धन्यका होऊन्, कनान त्यसको दास होस्। परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्‌” (उत्पति ९ः२६–२७) । यहाँ नोआले शेमका परमप्रभुलाई धन्यका भन्दै उहाँले शेमको पालमा वास गरोस् भनेका छन् ! यो पालमा वास बस्न आउनको क्रियाको कर्ता स्वयंम शेमका परमेश्वर हुनुहुन्छ । शेम नै इस्राएलीहरु अर्थात् यहूदीहरुका पुर्खा थिए ! मतलब, यो भविष्यवाणी अनुसार एक दिन परमेश्वर इस्राएलको पालमा वास बस्न आउने प्रतिज्ञा अग्रिम दिईएको थियो !

रोचक के छ भने स्त्रीको सन्तान नै मसीह राजा भएर एक दिन मानव संसारमा आउने प्रतिज्ञा थियो, अनि यो राजा शेमको पालमा वास बस्न आउने भविष्यवाणी थियो ! यो भविष्यवाणी युहन्न्ना १ः१४ मा पूरा भयो : अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। परमेश्वरको वचन अर्थात् पुत्र येशू ख्रीष्ट शेमको पालमा वास बस्न आउनुभयो ! यो पाल अरु केही नभएर येशू ख्रीष्टको देह हो, जसमा पुत्र येशू वास बस्न आउनुभयो, अर्थात् येशूको मानव शरीर यहूदी कुलको थियो, जसमा ईश्वर वास बस्न आउनुभयो । त्यो भन्दा पनि रोचक के छ भने, यो वास बस्ने शब्द हिब्रु र ग्रीकमा मन्दिरको भाषा हो, जसलाई शेखाइना (क्जभपष्लबज) महिमाको वास भनिन्छ, अनि वास बस्न आउने मन्दिर वा पवित्रस्थानलाई मिस्कान (ःष्कपबल) भनिन्थ्यो ! हिब्रु भाषामा शेखाइनाको शाब्दिक अर्थ नै पाल (पण्डाल) टाग्नु हो, अर्थात् परमेश्वरको पुत्र येशू ख्रीष्टको मिस्कानको देहमा शेखाइना महिमाको अनन्त वास भयो, अर्थात् पाल टाँगियो, अनि यो पाल तब टाँगियो जब मानव संसारको बीचमा इम्मानुएल भएर बालक येशूको जन्म भयो ! 

अर्को भविष्यवाणी पनि यही मन्दिरसँग सम्बन्धित छ, साथै त्यहाँ मसीह येशूलाई राजा र मन्दिर दुवै भनिएको छः यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्  (उत्पति ४९ः१०) ! यो भविष्यवाणी याकुबले आफ्नो छोरा यहूदालाई आशीर्वाद दिदाँ कहेका थिए । यसले देखाउँछ कि राजा मसीह यहुदा कुलबाट आउनुहुन्छ, जो पछि दाऊदवंशी राजाको रूपमा देखिईएको छ ! यहूदावंशी राजाहरुले सार्वभौमिकताको शासन आफ्नो हातमा लिएर राज्य तबसम्म चलाउनुहुनेछ जबसम्म त्यसको मालिक आउँदैन ! रोचक यो छ कि सबै यहूदावंशी राजाहरु जो पछि दाऊदवंशी राजाहरु भए, तिनीहरुको पनि मालिक अर्थात् मसीह राजा राजाहरुका पनि राजा महाराज भएर आउनेछ भन्ने भविष्यवाणी हो यो ! 

तर जुन शब्द हिब्रुमा यहाँ मालिकको निम्ति प्रयोग गरिएको छ, त्यो शीलो हो, जसले यो प्रसङ्गमा अझै रोचकता थपिदिन्छ ! सोलोमोनले मन्दिर बनाउन भन्दा अघि यही शीलोमा मानिसहरुले परमेश्वरको आराधना गर्दै र बलिदान चढाउदै थिए : एल्काना वर्षेनी शीलोमा सर्वशक्तिमान् परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो सहरबाट उक्लेर जाने गर्थे (१ शमूएल १ः३) । यसले यही देखाउँछ कि बालक भएर जन्मने मसीह राजा, मन्दिर पनि भएर मानिसहरूसंग वास बस्न आउनुहुन्छ, अर्थात् उहाँले आफ्नो मानव शरीरको पाल मानिसहरूको बीचमा टाँग्नुहुनेछ ! 

यो महाराजा मसीह– मन्दिरको जन्ममा पूर्वका ज्योतिषीहरू यहूदियाको बेथलेहेममा जन्मेका बालक येशूलाई खोज्दै आइपुगेः “यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं ” (मत्ति २ः२) । यी ज्योतिषीहरू बालक राजालाई दण्डवत् गर्न आएका थिए, र पछि दण्डवत् गर्नुका साथै कन्तुर खोलेर बहुमूल्य थोकहरु पनि बालकलाई चढाए । यसले के देखाउँछ भने बालक राजा नयाँ मन्दिर पनि हुनुहुन्छ किनभने अब दण्डवत् र आराधना ढुङ्गाको मन्दिरमा हैन, तर नयाँ शिलो– मन्दिरमा गरिनुपर्दछ ! अर्थात् बालक येशू नै नयाँ आराधनाको विस्थापित स्थल हुनुहुन्छ ! 

येशू नआएको भए सायद ताराले ज्योतिषीहरूलाई यरूशलेमको मन्दिरमा आराधना र दण्डवतको लागि डोर्‍याउथ्यो होला, तर मन्दिरको शाक्क्षात स्वरूप र प्रतिस्थापित रूप येशू राजाको जन्म भएकोले आराधना र दण्डवत् गर्न ताराले नयाँ मन्दिरतिर अर्थात् बेथलेहेमतिर डोर्‍याए ! यसरी प्राचीन दुई प्रख्यात भविष्यवाणीहरु बालक येशूको जन्ममा राजा र मन्दिरको रूपमा ठोकिन्छन् ! 

त्यसैले, ख्रीष्टमस राजा— मन्दिरको जन्मको कथा हो ! यो राजा— प्रजा र मन्दिर— आराधक बिचको प्रेम र संगतीको कथा हो, जुन येशूको आगमनसंगै नयाँ रीति र उत्कृष्ट तरिकामा अनन्तको लागि स्थापित भयो !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post