येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे।तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।” योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे। मत्ति १ः१८-२५
परमेश्वरको पुत्र मानिसको पुत्र बन्नुभयो ताकि, मानिसका पुत्रहरू परमेश्वरका पुत्र बन्न सकुन्। -जोन क्याल्भिन
ख्रीष्ट परमेश्वरको क्रोध सहन जन्मनुभएको थियो, ताकि हामीले परमेश्वरको अनुग्रह प्राप्त गर्न सकौं । -जोनाथन एडवड्र्स
अवतार कुनै अस्पष्ट आत्मिक घटना थिएन; यो त येशू ख्रीष्टको व्यक्तित्वमा स्वंय परमेश्वरले मानव इतिहासमा प्रवेश गर्नु थियो । -आर.सी. स्प्रौल
ख्रीष्टले हाम्रो शरीर धारण गरेर हामीलाई ईश्वरीय स्वभावका सहभागी बनाउनुभएको छ— सारको भ्रमले होइन, तर अनुग्रहले । -जोन क्याल्भिन
भेडाहरुको जीवन गोठलोको रगतमा भएकोले गोठालो येशू रगतको शरीर लिएर गोठमा जन्मनुभयो ! ख्रीष्टमस गोठालो र गोठको भेडाहरूको प्रेमसम्बन्ध र संगतिको कथा हो ! -सुरज कासुला
पापले निम्त्याएको शत्रुतालाई नष्ट गर्न र हामीलाई परमेश्वरसँग मिलाप गराउन, परमेश्वरको पुत्र मानिस बन्नुभयो, ताकि परमेश्वर–मानिसको रूपमा उहाँले परमेश्वर र मानवताको बीचमा मध्यस्थता गर्न सकून् । निशान घर्ती





