रोचक प्रसङ्गः देहधारी राजा अरु कोही नभएर ख्रीष्टमसको राजा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ !




अदनको बगैँचामा मानिससँग परमेश्वरलाई राजाको रूपमा पनि देखाईएको छ । राजा आफ्नो प्रजासँग बगैँचामा भेट्न आउनुहुन्थ्यो ! परमप्रभु परमेश्वर राजा, आदम र हब्बा पहिलो प्रजाहरू, अनि अदनको बगैँचा परमेश्वरको राज्यको रूपमा हेर्न सक्छौं । ओहदा र सृष्टिमा मानिस स्वर्गदूत भन्दा केही निम्न भयतापनि स्वयंम परमप्रभुको स्वरूप र प्रतिरूप पाएकोले मानिस स्वर्गदूत भन्दा पृथक र विशेष छ ! परमेश्वरको विरोध र विद्रोह गरेर अनाज्ञाकारितको फल खाएको कारणले राजाले आफ्नो प्रजालाई राजद्रोहको अभियोगमा आफ्नो राज्यबाट निकालिदिनुभयो । यसरी प्रजा राजाको राज्यबाट निष्कासन गरिए र शैतानको राज्यको अधीनमा पुगे । 

अनुग्रही राजाले आफ्नो प्रजाहरुलाई पुनः आफ्नो राज्यमा फर्काएर उनीहरूलाई पुनस्थापन गर्न उहाँले मानव रूप धारण गर्नुभयो । यो देहधारी राजा अरु कोही नभएर ख्रीष्टमसको राजा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जसले राज्यको सुसमाचार सुनाउन आउनुभयो र आफ्नो प्रजा (मण्डली) लाई अदनको वास्तविकता स्वर्गिय राज्यमा लान ओर्लीआउनुभयो ! उहाँले नै राजद्रोहको मुद्दालाई क्रुसमा किला ठोकेर रद्द गरीदिनुभयो, अनि प्रजालाई राजद्रोह गर्न उस्काउने शैतानको शिर कुच्याइदिनुभयो, साथै शैतानको राज्यबाट आफ्नो प्रजाहरुलाई छुटकारा दिएर ईश्वरको राज्यमा पुनः फर्काएर ल्याउनुभयो ! 

यसरी अदनमा आत्मामा मात्रै आफ्नो प्रजासँग हिँडडुल गर्ने परमेश्वर आफ्नो प्रजा मण्डलीलाई खोज्न, बटुल्न, निखन्न मानव शरीरमा नै आउनुभयो । राजा येशू बेतहेलेममा जन्मेसँगै अदनको भन्दा नयाँ र उत्कृष्ट राजा— प्रजाको सम्बन्ध र संगती सुरु भयो ! 

ख्रीष्टमस राजा येशूको आफ्नो प्रजाप्रतिको अद्भुत र अतुलनीय प्रेमको कथा हो, जसले राजद्रोहको बाबजुत पनि प्रेम गर्न छाड्नुभएन । ख्रीष्टमस ईश्वरबंशी र दाऊदबंशी, अर्थात् ईश्वरीय स्वभाव र मानवीय स्वभावको अनन्त मिलान भएर एक व्यक्तिमा मरियमको गर्भबाट जन्मनुभएको बालकको बारेमा हो। यही बालक राजाको विषयमा आगामी ख्रीष्टमस रोचक प्रसङ्ग समर्पित हुनेछ !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post