रोचक प्रसङ्गः ख्रीष्टमस त्यही स्वर्गीय सिद्ध मित्र येशूको देहधारणको कथा हो !

 


अदनको बगैँचामा आदम र हब्बासँग परमेश्वरको सम्बन्ध मित्रताको पनि थियो । परमप्रभु परमेश्वर मानिससँग मित्रको रूपमा बगैंचामा हिँड्डुल गर्न आउनुहुन्थ्यो। कतिपल्ट मित्रता सबै सम्बन्धहरु भन्दा पनि माथि हुन्छ, अनि मित्रताको प्रेमले स्त्रीको प्रेमलाई पनि जितिदिन्छ ! यस्तो साथीको प्रेम अदनमा मात्रै थिएन, तर परमेश्वर र अब्राहामबीच (यशैया ४१ः८) र दाऊद र जोनाथनबीच (२ समूएल १ः२६) पनि देखाईएको छ ! 

यो अदनको ईश्वर आफ्नो मित्रहरुसँग अनन्त मित्रताको सम्बन्ध गाँस्न मानव भएर संसारमा जन्मनुभयो ! रोचक के छ भने अदनमा परमेश्वर आत्मामा मात्रै मानिससँग मित्रतामा हुनुहुन्थ्यो, तर अब उहाँ अवतारी शरीरमा नै त्यो मित्रतालाई सिद्ध बनाउन स्वर्गबाट ओर्ली आउनुभयो ! अर्थात् छायाँमा मात्रै सीमित अदनको सम्बन्धलाई येशूले मानव शरीरमा वास्तविकतामा र नयाँ रीतिमा निर्वाह गर्न आउनुभयो, साथै त्यस सम्बन्धलाई नयाँ उचाईमा पनि पूराईदिनुभयो ! त्यही भएर येशू ख्रीष्टले मण्डलीलाई मित्र भनेर सम्बोधन गर्नुभयोः आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्‍यौ भने, तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु (युहन्न्ना १५ः१३–१५) ! 

सिद्ध मित्र येशूले मित्रताको धर्म निर्भाह गर्न कुनै कसर बाँकी राख्नुभएन, किनभने मित्र मण्डलीलाई सम्पूर्ण स्वर्गीय पिताको वचन पनि सुम्पिदिनुभयो ! यतिमा मात्रैमा उहाँ रोकिनुभएन, तर येशू त्यो मित्रताको प्रेम सम्बन्धलाई सिद्ध बनाउन क्रुसमा आफ्नो प्राणको आहुति दिन पनि तयार हुनुभयो ! हरेक साँचो प्रेमले जहिले पनि बलिदान माग्छ ! ख्रीष्टले मित्रताको प्रेमलाई क्रूसको रगतको बलिदानले सिद्ध बनाईदिनु मात्रै भएन, तर मित्रताको प्रेमको नयाँ परिभाषा पनि क्रुसमा लेखिदिनुभयो ! अर्को शव्दमा भन्नुपर्दा, इतिहासमा ईश्वर र मानवबीच मित्रको प्रेमको नयाँ अध्याय सुरुवात गरी त्यो मित्रता कस्तो हुनुपर्दछ भनेर सिद्ध उदाहरण पनि येशूले छाडेर जानुभयो, जुन मण्डलीले सदैव अनुसरण र नकल गर्नुपर्दछ ! 

ख्रीष्टमस त्यही स्वर्गीय सिद्ध मित्र येशूको देहधारणको कथा हो, जो मित्र मण्डलीसँग मित्रताको सम्बन्ध र संगतीमा रमाउन मात्रै चाहानुहुदैँनथ्यो, तर आफ्नो मित्रहरुलाई आफ्नो संसारमा लान पनि आउनुभयो ! प्रिय मित्र येशू मानव बन्नुभयो ताकि हामी अनन्तको लागि उहाँको प्रिय मित्रहरु बन्न सकियोस् भनेर ! यो मित्रता अनन्त भएकोले ख्रीष्ट र मण्डलीको सम्बन्ध यो संसारमा र आउने संसारमा मित्रको नै रहिरहनेछ !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post