रोचक प्रसङ्गःयेशू नै मोशाले उचालेको सर्पको वास्तविकता र विस्थापित रूप हुनुहुन्छ !


४० वर्षको मरुभूमिको यात्राको क्रममा इस्राएलीहरुले परमेश्वरप्रति विद्रोही भएर गनगन गरेको कारण ईश्वरीय न्याय अर्थात् विषालु सर्पहरुको विपत्ति आयो, र धेरै जना सर्पको टोकाईबाट मरे । तर पछि मोशाको अन्तरविन्तीको कारण परमेश्वरले इस्राएलीहरुको जीवन रक्षा गर्न काठको खम्बामा काँसाको सर्प झुन्ड्याउन मोशालाई आदेश दिनुभयो । त्यसलाई हेर्दा सर्पले टोकेर मर्न आँटेका मानिसहरु निको हुन्थे, अनि जीवन पाउँथे (गन्ति २१ः४–९) !
यसमै अर्को रोचक कुरा जोड्नु पर्दा, भक्तपुरमा हरेक वर्ष नेवारहरूको विस्केट जात्रामा उठाउने क्रुस आकारको काठको लिङ्गोमा पनि सर्पको प्रतिमा (नाग नागिन) झुण्डयाउँछ, जसलाई “हालिपत’’ भनिन्छ ! सबै नगरबासी त्यो हेर्न भक्तपुरको भेलुखेलमा जम्मा हुन्छन् ! मलाई थाहा छैन यो कसरी बाइबलको घटनासँग मिल्न आयो, तर रोचक चाहिँ पक्कै छ ! केवल रोचक भएकोले मात्रै भनेको हो, अन्यथा नलिनुहोला अनि अन्धाधुन्द अर्थ पनि नलगाउनुहोला !
स्वयं येशू प्रभुले मोशाको सर्पको प्रतीकलाई आफ्नो क्रुसको मृत्युसँग सम्बन्धित गरीदिनुभयोः जसरी मोशाले उजाड–स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस–जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ (यूहन्ना ३ः१४–१५) । खम्बाको काँसाको सर्प प्रकार (Type) हो भने त्यसको अप्रकार (Anti-Type) ख्रीष्टको क्रुस हो ! हामी यसलाई बुँदागत रूपमा यसको समानता र भिन्नताहरु केलाउनेछौं ।
१. जसरी उजाड स्थानमा सर्प उचालियो, र सर्पले टोकेका मानिसहरुले चंगाई र जीवन पाए, त्यसरी नै येशू ख्रीष्ट पनि उजाड स्थानमा क्रूसमा उठाइयो, ताकि पापले टोकेका मानिसहरुले पापको विषबाट चंगाई र अनन्त जीवन पाउन सकियोस् भनेर हो ! येशूले यो सन्दर्भ भनिसकेपछि यूहन्ना ३ः१६ पद आउनु अर्को रोचक कुरा हो, किनभने त्यहाँ पापीहरुले अनन्त जीवन पाउने कुरा गरिएको छ, जसरी पापी इस्राएलीहरुले सर्पलाई हेर्दा जीवन पाएका थिए । हेर्नु भनेको विश्वास गर्नु भन्ने अर्थ लाग्छ !
२. यो सन्दर्भ ख्रीष्टमससँग पनि सम्बन्धित छ: सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” (मत्ति १:२०-२१) । हिब्रू विचारमा पापलाई रोगको रूपमा चित्रण गरिएको छ जुन प्राचीन सर्पको टोकाइबाट आएको थियो । अनि त्यो महारोगबाट छुटकारा दिन ख्रीष्ट अर्थात् मशीह वैद्यको रूपमा आउनेछ भन्ने जनविश्वास थियो, जुन भबिष्यबाणी येशू ख्रीष्टको जन्मसँगै पूरा हुँदै थियो अनि क्रुसमा उहाँ उचालिनु भएपछि त्यसले पूर्णता पायो !
३. बाइबलमा काँसा धातुको प्रतीक र सूचक मृत्यु हो ! मतलब, काँसाको सर्पले मृत्युको संकेत गर्दछ, तर त्यही मृत्युले इस्राएलीहरुमा जीवन ल्यायो ! ठिक त्यसरी नै येशूको मृत्युले विश्वास गर्ने पापी संसारलाई अनन्त जीवन ल्याइदियो ! स्मरण रहोस्, सर्पलाई हेर्नेहरुले मात्रै जीवन पाएका थिए, तर तिनीहरू पछि फेरि मरे ! तर येशू टाँगिएको क्रुसलाई विश्वासको आँखाले हेर्नेहरुले अविनाशी, अजम्बरी र अनन्त जीवन पाउँछन्, अनि तिनीहरू कहिले पनि मर्दैनन् (हेर्नुहोस् यूहन्ना ८:५१, ११: २५-२६) !
४. इस्राएलीहरुले व्यक्तिमा नभएर वस्तुमा शक्ति छ भनेर विचार गरे ! परिणामस्वरूप, उनीहरूले त्यो काँसाको सर्पमा चंगाई र जीवनको जादुमय शक्ति छ भनेर त्यसलाई मूर्तिको रूपमा राजा हिजिकियाको समय नै पुजिरहे ! पछि राजा हिजकियाले त्यसलाई जलाइदिए (२ राजा १८ः१–४) ! यसमा विरोधाभास के छ भने इस्राएलीहरुले जे लाई नपुज्नु पर्ने त्यसैलाई अर्थात् काँसाको सर्पलाई पुजे, तर जसलाई पुज्नु पर्ने अर्थात् ईश्वरको पुत्र प्रभु येशू मसीहलाई पुजेनन्, न त ग्रहण नै गरे, तर बरु उल्टै उहाँलाई क्रुसमा टाँगीदिए (हेर्नुहोस् यूहन्ना १:११-१२) ! यसले यही देखाउँछ कि जीवनको शक्ति केवल व्यक्ति येशूमा छ, वस्तुमा कदापि छैन ! जो कसैले व्यक्तिलाई भन्दा वस्तुलाई महत्व दिन्छन, तिनिहरूले येशूलाई फेरि क्रुसमा लगेर टाँगिदिन्छन, अनि उहाँलाई खुलमखुल्ला तमासा बनाइदिन्छन् (हिब्रु ६ः६) !
यो सन्दर्भ आधुनिक समृद्धिका सुसमाचार प्रचारकहरु र कथित प्रेरित र अगमवक्ताहरुको निम्ति ठूलो पाठ हुन्न सक्छ, कारण उनीहरूले पनि इस्राएलीहरुले जस्तै व्यक्ति येशूलाई (सुसमाचार) हैन, तर वस्तुहरु, अर्थात् चंगाईलाई, भूत निकाल्ने कामलाई, अन्यभाषालाई, आश्चर्यकर्मलाई, प्रभुभोजको रोटी र रसलाई, अभिषेकको तेल, पानी, पछौयौरा, तुहरी आदि इत्यादिलाई महत्व दिँदै पुजिरहेका छन् !
५. खम्बाको काँसाको सर्प इस्राएलीहरुको निम्ति परमेश्वरको प्रबन्ध थियो, जसले भबिस्यमा आउने महान क्रुसको प्रबन्ध र प्रतिज्ञालाई दर्साउँछ ! यो ईश्वरीय प्रबन्ध इस्राएलीहरुको लागि मात्रै सीमित थिएन, तर सारा संसारकै लागि थियो (यूहन्ना ३ः१६) ! अर्को शब्दमा भन्नुपर्दा, खम्बाको सर्प उचालिनु छायाँ (Type) मात्रै थियो भने क्रुसमा टाँगिएर उचालिनुभएको येशू त्यसको वास्तविकता (Anti-Type) हुनुहुन्छ: छायाँलाई वास्तविकताले उछिन्नुका साथै प्रतिस्थापन पनि गरिदियो !
६. मोशाले सर्पलाई उचाल्दा हिब्रु बाइबलमा “नेस נֵס (nes)’’ भन्ने शब्द चलाईएको छ ! यही शब्द मोशाले युद्ध जितिसकेपछि वेदी निर्माण गरेर "परमप्रभु मेरो झण्डा" (Yahweh Nissi) हुनुहुन्छ भनेर मोशाले घोषणा गर्दा पनि प्रयोग गरिएको थियो (प्रस्थान १७:८-१६) ! त्यो झण्डा विजयको प्रतीक थियो । यसले के देखाउँछ भने जसरी मोशाले अस्थाई चंगाई र जीवनको झण्डा उचाले, अनि पछि सर्प उचाले, त्यो भन्दा महान झण्डा परमेश्वर पिताले आफ्नो एकलौटे पुत्रलाई कलवरीको क्रुसमा टाँगेर उचालिदिनुभयो, जसले पाप, मृत्यु, र सैतानमाथि विजय हासिल गर्यो ! पुरानो झण्डा फरफराउँदा अस्थाई चङ्गाई, जीवन र विजय सुनिश्चित भयो भने क्रुसको झण्डा फरफराउँदा अनन्त चङ्गाई, अनन्त जीवन अनि अनन्त विजय सुनिश्चत भयो ! यसले यो रहस्यलाई पनि उजागर गर्दछ कि परमप्रभु मेरो झण्डा (Yahweh Nissi) भनेको वास्तवमा क्रूसको झण्डा थियो जुन कलबरी डाँडामा प्रमाणीत र चरितार्थ दुवै भयो !
यसरी मोशाको सर्प र ख्रीष्टको क्रुसको समानता र भिन्नताहरुलाई हेर्न र बुझ्न सक्छौ ! येशू नै मोशाले उजाड स्थानमा उचालेको सर्पको अनि परमप्रभु मेरो झण्डाको (Yahweh Nissi) वास्तविकता, पूर्णता अनि त्यस मोशाको सर्पको विस्थापित रूप हुनुहुन्छ, जुन बडो रोचक र रहस्यमय ढंगमा प्रस्तुत गरिएको छ !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post