रोचक प्रसङ्गः परमेश्वर पिता, ख्रीष्ट क्रुसको बलिदानको एकमात्रै प्रायोजक (Sponsor) हुनुहुन्छ !

 


 परमेश्वर पिता, ख्रीष्ट क्रुसको बलिदानको एकमात्रै प्रायोजक  (Sponsor) हुनुहुन्छ ! यसलाई यसरी भन्न सकिन्छ : येशूको क्रुस मंच थियो, जहाँ संसारको मुक्तिको कथा कोरिदै थियो, र यस चलचित्रको प्रायोजन परमेश्वरले गर्नुभएको थियो ! प्रायोजकको अर्थ आफ्‌नो संघ – संस्था वा व्यापारको प्रचार–प्रसार र प्रवद्र्धन गर्नको निम्ति लगानी गर्ने लगानीकर्ता हुनहुन्छ । यो व्यापारीक भाषा भएतापनि ईश्वरशास्त्रमा चलाउन उपयुक्त हुन्छ । परमेश्वरले आफ्‌नो प्रचार–प्रसार र आफ्‌नै नाउँको महिमा गर्न, अनि संसारमा आफ्‌नो कार्यको प्रवद्र्धन गर्न उहाँले आफ्‌नो निज पुत्रलाई पठाउनुभयो ! यो पुत्र प्रायोजक परमेश्वरको प्रयोजन वा प्रायोजित हुनुहुन्छ, जसले आफ्‌नो निर्माता र निर्देशक परमेश्वरको चलचित्रको प्रवद्र्धन र प्रचारको खातिर बलिदान हुनुभयो ! 

तर बाइबलमा एउटा रोचक यो छ, जुन व्यापारिक भाषा भन्दा अलि पृथक छः प्रायोजक परमेश्वरले नै प्रायोजित पुत्र उपलब्ध र प्रबन्ध गरिदिनुभयो ! यति मात्रै नभई प्रायोजितको मंच अर्थात् क्रूसपनि मुक्तिको कथा कोर्न तयार पारिदिनुभयो (युहन्ना ३ः१६) ! परमेश्वरले यस्तो किन गर्नुभयो ? यसको उत्तर रोमी ३ः२५–२६ मा पावलले एकदम राम्रोसँग यसरी दिनुभयो : ‘परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्‌नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।’ 

येशूको मुक्तिको मिसनलाई सम्भव बनाउन परमेश्वरको आत्माले येशूलाई सम्पूर्ण कार्यमा सघाउनुभयो ! मुक्तिदाता प्रभु येशूले यो मुक्तिको कार्य आफ्‌नो दुर्बल मानवीय शरीरमा सुसम्पन्न गर्दै गर्दा उहाँ आफ्‌नो ईश्वरीय स्वभावमा भन्दा पनि पवित्र आत्मामा पूर्ण रूपमा निर्भर रहनुभयो ! अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले आफ्नो मुक्तिको चलचित्रमा आफ्नै आत्मा पठाउनुभएर यो चलचित्रलाई सफल बनाइदिनुभयो, किनकि पवित्र आत्माविना उद्धारको कथा अधुरो र अपुरो नै हुनेथियो ! स्मरण रहोस्, येशू केन्दित भन्दै गर्दा परमेश्वर पिताको र पवित्र आत्माको कार्यलाई मण्डलीले बिर्सनुहुँदैन, र महत्वका साथ प्रचार गर्नुपर्दछ ।

यसरी हामीले यो मुक्तिको चलचित्रमा त्रीएक परमेश्वरको संयुक्त कार्यलाई देख्न सक्छौः पिता प्रायोजक, पुत्र प्रयोजन, अनि पवित्र आत्मा त्यो चलचित्रलाई संसारको सिनेमा हलमा प्रदर्शन गर्ने साथै त्यसको प्रभावलाई मानिसहरूमा लागू गर्ने पिता प्रायोजक र पुत्र प्रयोजनको आत्मा हुनहुन्छ !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post