विषय : येशू ख्रीष्टमा विश्राम
खण्ड : मत्ती ११ः२८–३०
परिचय : सम्पुर्णमा जयमसिह साथै वचनको यस समयमा स्वागत छ । तपाईहरुले जोन बन्यनद्वारा लिखित लिखित पुस्तक पिलग्रिम प्रोगेस ( गन्तव्य ) पुस्तक त पढ्नुभएको छ होला । त्यस पुस्तकमा एउटा ख्रीष्टियन भन्ने पात्रले पिठ्युमा ठूलो बोझको भार बोकेको हुन्छ । उ बिनाशको शहरबाट निस्केर जब सम्म त्यो पिठ्युमा बोकेको त्यो बोझको भारीलाई क्रुसमा बिसाउँदैन, तब सम्म त्यो बोझको भारीले उसलाई सताईरहन्छ । तर जब उसले क्रूसमा त्यो बोझको भारिलाई बिसाउँछ तब त्यसले बिश्राम पाउँछ । आज हामी हेर्नेछौँ कि मानिसहरुलाई कस्तो बोझले दबाईरहेको छ अनी कसरी उनीहरुले विश्राम पाउन सक्छन भन्ने कुरालाई मत्ती ११ः२८–३० बाट हेर्नेछौँ । तपाईहरुले मसँग सँगै नयाँ करारमा रहेको मत्तिको सुसमाचार नामक पुस्तकको ११ः २८–३० सम्म निकाल्न म अनुरोध गर्दछु । म तपाईहरुको माझमा पाठ गर्न चाहान्छु, जहाँ यसो लेखिएको छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
यसबाट तपाईहरुमाझ राख्न चाहेको कुरा चाहीँ जब हामी ख्रीष्ट कहाँ आउँछौ, उहाँको जुवा बोक्छौ र उहाँबाट सिक्छौँ तब हामीले आत्मामा विश्राम पाउनेछौँ । भन्ने कुरा हो ।
मुख्य विचार : जब हामी ख्रीष्ट कहाँ आउँछौ, उहाँको जुवा बोक्छौ र उहाँबाट सिक्छौँ तब हामीले आत्मामा विश्राम पाउदछौँ ।
यस कुरालाई उजागर गर्न हामी ३ बुदाहरु हेर्नेछौँ, जसले यस कुराको सत्यतालाई विस्तृत रुपमा बुझ्न सहायता पुगाउनेछन ।
पहिलो बुदालाई हेरौँ, जुन पद २८ बाट….
१. विश्राम पाउनलार्ई ख्रीष्टकहाँ आउनुपर्छ ( पद २८ )
- जब हामी मत्ती ११ः२०–२४ सम्म हेर्छौ भने, येशूले त्यहाँ पश्चाताप नगर्ने शहरहरुलाई धिक्कार्नुभएको छ । कारण जुन शहरहरुमा उहाँले शक्तिशाली काम गर्नुभयो ति शहरहरुले पश्चाताप गरेनन । जबकि ति कुराहरुले येशू परमेश्वरबाट पठाईनुभएको सुसमाचारबाहक अर्थात मसिह हुनुहुन्थ्यो भन्ने कुरालाई पुष्टि गर्दर्थ्यो । अनि हामी मत्ती ११ः२५–२७ सम्म हेर्दा देख्दछौँ कि येशूले प्रार्थना गर्नुहुन्छ जुन पिताप्रति धन्यवादको प्रार्थना थियो कारण पिताले पुत्रको परिचयलाई प्रकाश तिनिहरुलाई माझ पारिदिनुभयो जो आफ्नै नजरमा बुद्धिमान र समझदारको घमण्डको कारण अन्धो छैनन तर नम्र हृदयका छन ।
- पद २८ मा येशूले भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु । जब हामी “थाकेका’’ भन्ने शब्दलाई केलाउछौँ, यो “æpresent active participle ’’ हो, जसले आलंकारिक रूपमा परमेश्वरलाई खुशी पार्न र मुक्तिको बाटो जान्न खोज्ने कठिन परिश्रमलाई जनाउँछ । त्यसकारण यहाँ, येशूले मानव स्रोतसाधन, बुद्धि मार्फत सत्यको लागि आफ्नो व्यर्थ खोजीबाट थकित व्यक्तिलाई आमन्त्रित गर्नुहुन्छ, जो मुक्ति कमाउन प्रयास गर्नबाट थकित छन, र जसले आफ्नै प्रयासहरूद्वारा परमेश्वरको धार्मिकताको स्तर प्राप्त गर्न नसक्दा निराश भएका छन ।
- त्यसैगरी येशूले बोझले दबिएका भन्ने कुरा गर्नुहुन्छ । जब हामी दबिएका शब्दलाई केलाउछौ, यो “दबिएका’’ भन्ने शब्द “æPerfect passive participle’’ हो, जसले संकेत गर्दछ कि विगतमा कुनै समयमा थकित व्यक्तिमाथि ठूलो बोझ थोपारिएको थियो । जहाँ “थाकेका’’ भन्ने शब्दले मानिसले आफ्नै बुद्धि मार्फत ईश्वरीय सत्य खोज्दा उत्पन्न हुने आन्तरिक थकानलाई जनाउँछ, भने, “दबिएका“ भन्ने शब्दले स्वधार्मिकताका कामको व्यर्थ प्रयासहरूबाट उत्पन्न हुने बाह्य बोझलाई जनाउँछ ।
- येशू ख्रीष्टको समयमा, रब्बीहरुको शिक्षाहरू यति विशाल रुपमा फैलिएको थियो कि, तिनीहरूले लगभग हरेक मानव गतिविधिको लागि मापदण्ड र सूत्रहरू तोकेका थिए । ति सबै परम्पराहरू सिक्नु पनि लगभग असम्भव थियो, र ती सबै पालना गर्नु पूर्णतया असम्भव थियो । त्यसकारण, येशूले शास्त्री र फरिसीहरूले मानिसहरूको काँधमा राखेको धार्मिक परम्परा गह्रौ भारीको बारेमा यसो भन्नुभयो, तिनिहरुले गह्रौ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरुका काँधमा राखिदिन्छन । तर तिनीहरु आफैचाहिँ ती उठाउनलाइ एक औँलाले पनि छुँदैनन । (मत्ती २३ः४); त्यसैगरी, यरुशलेमको परिषदमा फरिसी दलका केही विश्वासीहरुले अन्यजातिको खतना हुनु र तिनीहरुलाई मोशाको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ । ( प्रेरित १५ः५ ) भन्दै गर्दा पत्रुसले भन्छन कि यो जुवा न त हाम्रा पिता पुर्खाले न हामीले बोक्न सक्यौ ? यो जुवा राखेर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ भनेर उनले परिषदमा सहभागी भएकाहरुमाझ उल्लेख गर्दछन । (प्रेरित १५ः१०)।
- मोशाको व्यवस्थामा रहेका ६१३ वटा व्यवस्था त थिए थिए तर यी रब्बीहरुले ति व्यवस्थालाई अर्थ खोल्दा ति व्यवस्थालाई मानिसहरुको निम्ति झन गह्रौ बनाईदिएका थिए भन्ने कुरालाई एक उदाहरण शबाथ दिनको बारेमा हेरौँ । मत्ती १२ः१–१३ यहाँ येशु र उहाँका चेलाहरु शबाथ दिनको समयमा अन्नका खेतहरुबाट भएर जाँदै गर्दा चेलाहरु भोकाएको कारणले अन्नका बालाहरु टिप्दै खाँदै गए, तर फरिसीहरुले यी कुरा देखिहाले तब उनिहरुले येशूलाई भने हेर्नुहोस तपाईका चेलाहरु शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन । उनिहरुले व्यवस्था ३४ः२१ अनुरुप ६ दिनसम्म आफ्ना कामकाज गर्दैरहनु तर सातौँ दिनमा चाहीँ विश्राम गर्नूृ । हलो जोत्ने कटनी गर्ने समयमा पनि विश्राम गर्नु । भन्ने कुरालाई यसरी अर्थ लगाईदिए कि सबाथको दिनमा १९९९ भन्दा बढि कदम यात्रा गर्न नमिल्ने, कोही बिरामी भएर मर्नै लागेको छ भने पनि उपचार नगर्ने जस्ता नितिनियम बनाई शबाथ मानिसको निम्ति थियो तर मानिस सबाथको निम्ति बनाएर मानिसहरुका जीवन गह्रौ बनाईदिएका थिए ।
- त्यसकारण, येशू ख्रीष्टले यसरी थकित र बोझले दबिएका मानिसहरुलाई आफूकहाँ आउन निमन्त्रणा दिनुहुन्छ ताकी उनिहरुले उहाँमा विश्राम पाउन सकुन । यहाँनेर आओ भन्ने शब्द जुन छ यो विश्वास सित समनार्थक शब्द हो । हामी अरु बाइबलिय समनार्थक शब्दहरु भेट्छौ, सुन, स्वीकार गर, प्राप्त गर, खाउ र पिउ इत्यादी ।
- येशू ख्रीष्टमा आएपछि अर्थात विश्वास गरेपछि कस्तो प्रकारको विश्रामको उहाँले कुरा गर्नुभएको हो त भन्दाखेरी, हामी उहाँलाई हाम्रा सबै पापहरूको पूर्ण भार दिन्छौं, र उहाँले हामीलाई हाम्रा सबै पापहरूको लागि पूर्ण क्षमा दिनुहुन्छ । हामी ख्रीष्टमा धर्मी ठहरिएका छौं किनकि उहाँले हामीले पालन गर्न नसक्ने व्यवस्था पालन गर्नुभएको छ । त्यसकारण, जब हामी उहाँकहाँ आउँछौं, हामी परमेश्वरको सामु शान्तिसँग विश्राम गर्छौ ं। जब हामी शब्दकोशमा विश्राम भन्ने शब्दको थप अर्थ हेर्छौ भने, कार्य, गति, श्रम, वा परिश्रमबाट विश्रामको रूपमा वर्णन गर्दछ । त्यस्तैगरी, परमेश्वरको विश्राममा प्रवेश गर्नु भनेको मुक्ति कमाउने स्वःप्रयासमा गरिने धर्मकर्मका कार्यहरुकोे सबै प्रयासहरूबाट रोकिनु हो । दोस्रो, विश्रामलाई थकित वा बाधा पुर्याउने कुराबाट स्वतन्त्रताको रूपमा वर्णन गरिएको छ । यसबाट हामी येशू ख्रीष्टमा आउने मानिसहरुको शान्ति र आनन्द लुट्ने चिन्ता र बोझबाट स्वतन्त्रता दिनुको आत्मिक कुरालाई देख्न सक्छौ ।
- तेस्रो, शब्दकोशले विश्रामलाई निश्चित र स्थिर चीजको रूपमा परिभाषित गर्दछ। त्यस्तै गरी, परमेश्वरको विश्राममा हुनु भनेको हाम्रो अनन्त जीवन हाम्रा मुक्तिदाता येशू ख्रीष्टमा सुरक्षित छ भन्ने अद्भुत निश्चयता हुनु हो ।
त्यसैगरी दोस्रो बुँदालाई हेर्नेछौँ, जुन पद २९ बाट…………
२. विश्राम पाउनलाई ख्रीष्टबाट सिक्नुपर्छ ( पद २९ )
- येशूले पद २९ मा भन्नुहुन्छ कि, मेरो जुवा आफूमाथी लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमिहरुले आत्मामा विश्राम पाउनेछौ ।
- येशूले पहिले आफुकहाँ आउनको निम्ति निमन्त्रणा दिनुभयो, त्यसपछि उहाँले यहाँ मेरो जुवा आफुमाथी लेओ भन्ने कुरा गरेर, समर्पणताको आह्वान गर्नुहुन्छ । जुवा चाहीँ समर्पणताको प्रतिक हो । वर्तमान समयमा तपाईले पक्कै पनी किसानले गोरुहरुको काँधमा जुवा लगाइदिएर त्यसमा हलो जोडेर खेत जोतेको देख्नुभएको होला । त्यसरी नै, प्राचिन संसारमा जुवा काठको बनाई दुईवटा गोरुको काँधमा मिल्ने गरी बनाईन्थ्यो । त्यसको विचमा चाहीँ हलो जोड्नको निम्ति ठाउँ बनाईन्थ्यो र त्यसमा हलो जोरेर किसानले खेत जोत्नको निम्ति प्रयोग गरिन्थ्यो । जुवाले ति गोरुहरुलाई आफ्ना मालिकको नियन्त्रणमा रहि खेत जोत्नको निम्ती सहायता पुग्थ्यो ।
- एउटा यहुदी लेखमा यसो लेखिएको थियो, ‘ आफ्नो घाँटी जुवामूनी राख, र तिम्रो प्राणलाई निर्देशन प्राप्त गर्न देओ ’ येशूले यहाँ व्यवस्था र मानवनिर्मित जुवाबाट निस्केर आफ्नो काँधमा आफ्नो जुवा लिनको निम्ति आह्वान गर्नुहुन्छ । किनकी, व्यवस्था र मानवनिर्मित जुवा कसैले काँधमा हालेर अगाडी बढ्नै सक्दैन । त्यसैले येशुले मेरो जुवा आफुमाथी लेओ भन्दा उहाँले व्यवस्था पालनको माग वा रब्बीहरुद्वारा निर्मित विधिविधानको माग गर्नुभएन तर आज्ञाकारीताको माग गर्नुभयो ।
उदाहरण : यदि तपाई किसान परिवारबाट आउनुभएको छ भने पक्कै पनि तपाईलाई थाहा होला कि कहिल्यैपनि नयाँ गोरुलाई नयाँ गोरुसितै खेत जोत्न सिकाईदैन । तर जसले लामो समय खेत जोतिसकेको छ, त्यो गोरुसित नयाँ गोरुलाई सिकाइन्छ । त्यो सँगसँगै आफुमा भार पर्न बित्तिकै हान्ने गोरु, वा अर्को ढिलो हिन्यो भन्दैमा हान्ने गोरु सित कहिल्लैपनी नयाँ गोरुलाई सिकाइदैन तर जसले आफुतिर भार पर्दा नि रिसाउदैन, ढिलो हिड्दा पनी अर्को गोरुलाई हान्दैन त्यस्तो गोरु सित नयाँ गोरुलाई सिकाइन्छ ताकी नयाँ गोरुले जोत्न सिकोस । वास्तवमा येशूले, यहाँ मसँग सिक किनभने म विनम्र र कोमल हृदयको छु भन्दै गर्दा येशूले यहाँ यस्तो जुवाको कुरा गर्दै हुनुहुन्छ जुन जुवामा नारिदा हामी उहाँबाट सिक्न सक्छौ र त्यो जुवालाई हामीले बोक्न सक्छाँै ।
त्यसैगरी तेस्रो बुँदालाई हेर्नेछौँ, जुन पद ३० बाट…………
३. विश्रामको निश्चयता ख्रीष्टमा पाईन्छ । ( पद ३० )
- पद ३० मा, किनकी भन्ने शब्दबाट शुरु हुन्छ जुन संयोजक हो । जसले अगाडीका कुरासित जोड्ने काम गर्दछ । अर्थात अर्को शब्दमा भन्नुपर्दा, येशूले मेरो जुवा आफुमाथी लेओ र म सँग सिक भन्नुको कारण के हो भने उहाँको जुवा सजिलो र उहाँको भारी हलुको छ भन्ने कुरा गर्नुहुन्छ ।
- येशूले स्पष्ट पार्नुहुनछ कि, शास्त्री र फरिसीहरुले बोकाएको व्यवस्था र मानवनिर्मित गह्रौ जुवा तिमिहरुलाई बोकाउनेछैन । किनकी त्यो जुवा तिमिहरु बोक्न सक्दैनौ । तर येशूले भन्नुभएको जुवाको बारेमा १ युहन्ना ५ः३ ले भन्छ, परमेश्वरको प्रेम यहि हो कि हामी उहाँका आज्ञाहरु पालन गर्दछौँ, र उहाँका आज्ञाहरु भारपुर्ण छैनन ।
- हामी परमेश्वरको आज्ञा पालन गर्छौं, हाम्रो आफ्नै शक्तिले होइन, तर ख्रीष्टको शक्तिले, हामीले गर्ने सबै कुरामा, ख्रीष्ट नै हामीलाई डोऱ्याइरहनुभएको छ, हामीलाई अगुवाई गरिरहनुभएको छ, सक्षम बनाइरहनुभएको छ, हामीलाई सिकाइरहनुभएको छ त्यसकारण उहाँको जुवा हलुको र सजिलो छ । जसले गर्दा हामी बोक्न सक्छौँ ।
निष्कर्ष
कतिपटक हामी येशूमा विश्वास गरिसक्दा पनी मुक्तिको साँचो विश्राममा जीवन बिताईरहेका हुँदैनौँ । हामीले गर्ने कृयाकलापहरु ( बाइबल अध्ययन, प्रार्थना, सँगती, भेटी दशाशं ) इत्यादीलाई मुक्तिको आधार बनाई स्वधार्मिकपनको मुखौटो लगाई आफुलाई थकित र बोझले दबाईरहेका हुन्छौँ । अझैँ पनी हाम्रा चर्चहरु विधिवादको भुमरिमा फसिरहेका छन । तर येशूले स्पष्ट पार्नुहुन्छ कि त्यो जुवा कुनै मानिसले बोक्न सक्दैन । त्यो थकितपन र बोझपनबाट केवल येशूले मात्र विश्राम दिन सक्नुहुन्छ । त्यसैले, जब हामी ख्रीष्ट कहाँ आउँछौ, उहाँको जुवा बोक्छौ र उहाँबाट सिक्छौँ तब हामीले आत्मामा विश्राम पाउदछौँ ।
चुनौती
जसै जोसेफ मेल्डलिकोट स्क्रिभेन आफ्नो भजनमार्फत यी कुरालाई औल्याउँछन ।
येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो
दुःखसुख ईश्वरकहाँ ल्याउनु, हामीलाई वरदान कत्रो
कत्रि शान्ति सुख गुमाउँछौँ कति दुःख छ ब्यर्थैमा
कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौँ प्रार्थनामा ।
कति पटक हामी ख्रीष्टयन भएर येशूमा विश्राम पाउँछौ भन्ने सत्यता जान्दाजान्दै पनि हामी उहाँकहाँ हाम्रा बोझका भारिहरुलाई ल्याउँदैनौ । आफैँ नै पिरोलिएर बसिरहेका हुन्छौँ, व्यर्थमा कष्ट भोगिरहेका हुन्छौँ, शान्ति सुखलाई व्यर्थमा गुमारहेका हुर्न्छौ कारण हामीले येशू कहाँ ति कुरालाई बाँड्दैनौ आफैँ बोकि हिड्न चाहेर जीवन विश्रामरहित बनाईहरका हुन्छौँ । प्रिय हो,
- यदि तपाई येशू ख्रीष्टमा विश्वास गर्नुभएको छैन भने तपाईको निम्ति खुशीको खबर यो हो कि, तपाईहरु कति जना धर्म कर्म गरेर मुक्ति पाईन्छ भन्ने कुराको जुवामा परेर थाकिसक्नुभएको होला, दबिनुभएको छ होला । तर यदि तपाई येशूमा विश्वास गर्नुहुन्छ भने आज उहाँमा मुक्ति अर्थात विश्राम पाउनु हुनेछ ।
- यदि तपाईहरु ख्रीष्टियन भएर पनि तपाईं तनाव, दोषी, व्याकुल, वा भावनात्मक बोझले थिचिनुभएको छ भने, यो सबै एक्लै बोक्ने प्रयास नगर्नुहोस् । प्रार्थनापूर्वक आफ्ना चिन्ताहरू येशूकहाँ ल्याउनुहोस्, मद्दतको निम्ति उहाँमा बिन्ती राख्नुहोस ।
प्रार्थना : हे पवित्र परमेश्वरको तपाईको जिवित वचनको निम्ति धन्यवाद । यसले यो प्रकाश पारेको छ कि हामी विधिवाद र मानवनिर्मित परमम्परा र विधिविधानको जुवा बोक्दै गर्दा थाकेका र बोझले दबिएका छौ तर हामीलाई तपाईले आफ्नो पुत्र येशू ख्रीष्ट दिनुभयो जसले हामीलाई ति जुवाबाट छुटकारा दिई उहाँको हलुको र सजिलो जुवामा नारिन पायौ । यो जुवामा सधैँ नारिएर जिवन जिउनको निम्ती हामी सबैलाई सहायता गर्नुहोस, येशू प्रभुको नाउँमा आमेन ।
--------------------------------------------------------------------------------------------
- निशान घर्ति मगर, पाष्टर गड्स प्लान चर्च सुर्खेत
