रोचक प्रसङ्गः व्यवस्था (मोशा) र अगमवक्ताहरुले (एलिया) अनुग्रह (येशू) को दर्शन गर्न आएका थिए !



मोशा सबाथ दिनमा बारम्बार सिनैको डाँडामा उक्ले, अनि बादलमा प्ररमप्रभु परमेश्वर मोशासंग कुराकानी गर्न आउनुहुन्थ्यो ! मोशाले त्यही डाँडामा भेट हुने पाल पनि बनाएका थिए, जसलाई बादलले छोप्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो (प्रस्थान ४०ः३४–३५) । 

रोचक के छ भने डाँडामा येशूको स्वरूप परिवर्तन भएको घटना सिनैको घटनासंग सिधै सम्बन्धित छ । मत्ति १७ मा स्पष्ट लेखिएको छ कि येशू पनि मोशा जस्तै ७ औं दिन अर्थात् सबाथ दिनमा याकूब, यूहन्ना र पत्रुसलाई लिएर डाँडामा उक्लिनुभयो ! त्यहाँ येशूको रूप परिवर्तन भयो, अनि मोशा र एलिया येशूसँग कुराकानी गर्न आए । थप, तेजस्वी येशूलाई बादलले छोप्यो, अनि परमेश्वरको वाणी पनि सुनियो (मत्ति १७ः१–८) ! हामी यो रहस्यलाई बुँदागत रूपमा हेर्नेछौंः 

१.मोशाले व्यवस्थाको प्रतिनिधि गर्छन भने एलियाले अगमवक्ताहरको ! दुवै जना येशूलाई भेट्न आउनुको मतलब व्यवस्था र अगमवक्ताको पूर्णता येशू नै हुनुहुन्छ भन्ने हुन्छ ! थप, व्यवस्था (मोशा) र अगमवक्ताहरुले (एलिया) अनुग्रहको अर्थात् येशूको दर्शन गर्न आएका थिए ! अर्को शब्दमा भन्नुपर्दा , मुक्ति, व्यवस्था र आगमवाणीद्वारा सम्भव छैन, तर केवल अनुग्रहद्वारा मात्रै सम्भव छ, जसको गवाही व्यवस्था र आगमवक्ताहरुले दिएका थिए ! यो अनुग्रहको मानव अवतार र मूर्त स्वरूप स्वयंम इम्मानुएल येशू हुनहुन्छ ! 

२.येशूसंग मोशा र एलिया के विषयमा बातचीत गरिरहनु भएको थियो त ? उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो (लुका ९ः३१) । यो वाक्यमा,  “येशूको मृत्युको विषयमा“ चलाईएको ग्रीक शब्द “प्रस्थान“ (Exodus) हो, जुन यरूशलेममा पूरा गर्नुपर्नेथियो ! मतलब, मोशा र एलिया येशूको नयाँ प्रस्थानको बारेमा कुरा गर्न आउनुभएको थियो ! मोशाको भन्दा महान प्रस्थान हुनलागेको थियो, किनभने परमेश्वरको निस्तारको थुमा ख्रीष्टको रगत कलवरी क्रुसमा छर्केसँगै विश्वासीहरु नयाँ मोशाको (ख्रीष्ट) नेतृत्वमा, शैतानको दासत्वबाट छुटकारा पाएर स्वर्गिय दूध र मह बहने देशसम्मै तीर्थयात्रामा जाने समय आउँदैथियो ! थप, जसरी मोशामा सबै इस्राएलको बप्तिस्मा भएको थियो, त्यसरी नै अब बप्तिस्मा नयाँ मोशामा हुनेछ किनभने बप्तिस्माको मूलभूत अर्थ नै परमेश्वको अभिषिक्त जनलाई पहिचान गरेर पछ्याउनु हो (१ कोरिन्थी १०ः१–२) ! 

३. जसरी मोशाले बनाएको भेट हुने पाललाई बादलले छोप्यो, त्यही रीतिले नयाँ भेट हुने पाल अर्थात् नयाँ मन्दिरलाई बादलले छोप्यो ! मतलब, येशूको मानव मन्दिरले पुरानो मन्दिरलाई प्रतिस्थापन गरि दियो, अनि परमेश्वरको शेखाईना महिमा बादलमा यस नयाँ मन्दिरमा ओर्लिआउनुभयो ! येशूको रूप परिवर्तनको अर्थ यही हो कि येशूको मन्दिरको महिमाको तेज र प्रकाश फुटेर बगीनिस्क्यो ! यूहन्नाले पछि हामीले ख्रीष्टको मन्दिरको शेखाईना महिमा देख्यौं भनेर गवाही दिनुहुन्छ (यूहन्ना १ः१४–१५), जुन यहाँ देखेको थिएँ ! यही कारणले गर्दा नै पत्रुसले डरमा यहाँ ३ वटा बासस्थानहरु बनाऔं भनेर भनेका थिए, किनभने मोशाले डाँडामा बासस्थान बनाएका थिए ! 

४. डाँडामा मोशासँग परमेश्वरले बातचीत गर्नुभयो अर्थात् परमेश्वरको वाणी आयो, त्यसरी नै यहाँ वाणी आएको छ : तिनी बोल्दाबोल्दै, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो, र त्यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन (मत्ति १७ः५) ! मोशा सम्पूर्ण परमेश्वरको घरानामा विश्वासयोग्य दास थिए, तर नयाँ मोशा सम्पूर्ण परमेश्वरको घरानामा पुत्र हुनुहुन्छ (हिब्रु ३ः६ )! 

५. सिनैबाट तल ओर्लिदा मोशाको मुहार मात्रै परमेश्वरको महिमाको तेजले चम्क्यो, अनि मोशाले घुम्टो हाल्नुपर्यो । त्यो महिमा मोशाको आफ्नै थिएन, तर येशूको महिमा उहाँको आफ्नै थियो, अर्थात् उहाँको मन्दिरको शेखाईना महिमाको तेज ! यसलाई प्रेरित पावलले घुम्टो उघ्रिएको महिमा भनेर बडो महिमित ढंगमा प्रस्तुत गरेका छन् (हेर्नुहोस् २ कोरान्थी ३ः१६–१८) ! मोशा चन्द्रमा जस्तै हो जुन सूर्यको प्रकाशले मात्रै चम्कन्छ, तर ख्रीष्टको तेज सूर्यको जस्तै आफ्नै हो ! 

निष्कर्ष : यसरी हामीले स्पष्ट देख्छौं कि सिनैको डाँडा र रूप परिवर्तन भएको डाँडा एक आपसमा ठोकिन्छ, अनि सिनैको महिमालाई यस डाँडाको महिमाले उछिनिदिन्छ! येशू नै सिनैको मुटु र त्यसको ढुकढुकी हुनुहुन्छ, जुन एकदमै रोचक र रहस्यमय ढंगमा प्रस्तुत गरिएको छ !


--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post