रोचक प्रसङ्गः अय्युब परमेश्वरसँग डराउने धर्मी दास थिए । शैतानको परीक्षाको कारण अय्यूबले आफ्नो प्राण बाहेक सर्वस्व गुमाएतापनि उनले पाप गरेर परमेश्वरलाई सरापेन, किनभने अय्यूबको सम्पति स्वयंम परमेश्वर हुनुहुन्थो, जुन शैतानले खोस्न सकेन ! परीक्षामा सफल भएपछि अय्यूबको सुदिन फर्क्यो, अनि गुमाएको भन्दा दोबर समृद्धि र सन्तानको आशिष पाए !
बाइबलमा अय्यूबलाई पूजाहारीको रूपमा देखाइएको छः अय्यूबले आफ्नो साथीहरुको पापको निम्ति अन्तरर्विन्ती चदाईदिन्छ । थप, तिनी बिहान सबेरै उठी आफ्ना छोराहरूको निम्ति यो विचारले एउटा–एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्।” अय्यूबले सधैँ यसै गर्थे (अय्यूब १ः५) ! अय्यूबले वेदी बनाएर बलिदान चढाएर आफ्नो सन्तानको निम्ति अन्तरर्विती चढाए !
येशू ख्रीष्ट नयाँ अय्यूब हुनुहुन्छ, जसले अय्यूबले भन्दा गहिरो दुःख कष्ट भोग्नुभएता पनि परमेश्वरलाई सराप्नुभएन, तर बरु परमेश्वरले क्रुसमा उहाँलाई त्याग्नु भएतापनि र मार्नु नै भएतापनि अन्तिम श्वाससम्मै स्थिर, अटल, र अविचलित नै रहनुभयो ! शैतानले ख्रीष्टको विश्वासलाई नाश गर्न सकेन, न त येशूको नजरमा परमेश्वरलाई घृणीत नै तुल्याउन सक्यो ।
मलाई रोचक लागेको चाहिँ अय्यूब १ः५ पद हो । पूजाहारी अय्यूब हरेक बिहानै आफ्नो छोराहरूको निम्ति पापबलि चढाउन उठ्थे ! येशू र अय्यूब बीच मुख्य समानता र भिन्नता यहाँ छ । पूजाहारी येशूले क्रुसमा पापको शुद्धी गरिसकेपछि पिताको दाहिने हातमा विराजमान हुनुभयो (हिब्रु १ः३)! पूजाहारी येशू त्यहाँ किन बस्नुभयो ? किनभने हामी जस्तो पापीको निम्ति हरेक दिन र रात अनवरत, अटुट र अविरल रूपमा आफूले क्रूसमा सिध्याउनु भएको बलिदान औँल्याउँदै पिता परमेश्वरको सामु मध्यस्त र अर्न्तरबिन्ती गर्नको लागि हो !
प्रधान पूजाहारी ख्रीष्टलाई अय्यूबलाई जस्तै पशुबलिको जरूरत छैन, न त बलिदान गर्न वेदीको नै आवश्यकता पर्छ नै, किनभने येशू स्वयंम् बलिदानको थुमा र बली चढाउने पूजाहारी हुनुहुन्छ, जसले क्रूसको वेदीमा रगत बगाएर सधैंको लागि प्रयाप्त हुने गरी तथा अरु बलिदानको जरूरत कहिले नपर्ने गरी सिद्ध बलिदान चढाउनुभयो ! आफ्नो क्रूसको बलिदानलाई देखाउँदै हरेक दिन प्रधान पूजाहारी ख्रीष्टले पिताको दाहिने हातमा बसेर हाम्रो पापको प्रायश्चित, मध्यस्त, अर्न्तरबिन्ती, र हाम्रो पक्षमा निरन्तर वकालत गरिरहनुहुन्छ !
यही कारणले गर्दा विश्वासीहरुको भूत र वर्तमानको पाप मात्रै नभएर भविष्यको पाप पनि क्षमा हुन्छ, किनभने ख्रीष्टको बलिदान विश्वासीहरुको भविष्यको पाप धुन पनि प्रभावकारी र क्रियाशील छ ! त्यही भएर प्रेरित युहन्नाले यस्तो भन्नुहुन्छः
'' मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि'' (१ युहन्ना २ः१–२) !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
