येशू ख्रीष्टले आफ्नो व्यक्तित्व र कार्यद्वारा मण्डलीको निम्ति धेरै आशिष र अनुग्रह कमाई दिनुभयो, अनी सित्तैमा उपहार स्वरूप विश्वासीहरूलाई यो दिनु पनि भयो ! क्रुसद्वारा निर्दोषीकारण, धर्मीकरण, पवित्रीकरण, धर्मसन्तानको आशिष, र महिमिकारण कमाइदिनुभयो, जुन मण्डलीले ख्रीष्टसँगको एकताद्वारा प्राप्त गर्छिन (एफिसी १:३; रोमी ६:५)!
निर्दोषीकरणले विश्वासीलाई ख्रीष्टको निष्क्रिय आज्ञाकारीताद्वारा (क्रुस) सम्पूर्ण पापको क्षमा दिएर निर्दोष सरह परमेश्वरको नजरमा कहिले पाप नगरेको जस्तै तुल्याईदिन्छ । पवित्रकरणले येशूले सक्रिय आज्ञाकारीताद्वारा कमाउनु भएको पवित्र जीवनमा मण्डलीलाई कलमी बाँधेर निष्कलंक बनाईदिन्छ । सक्रिय आज्ञाकारीताले निर्दोष सरह बनाईदिन्छ, भने निष्क्रिय आज्ञाकारीताले पवित्र बनाईदिन्छ, अनि यो दुवै आशिषहरुले महिमीकरणको लागि योग्यता र आधार तयार गरिदिन्छ ! यो कानुनको भाषा हो (रोमी ५:९) ।
तर रोचक यो छ कि धर्मसन्तानको आशिष परिवारको भाषा हो ! ज – जसलाई परमेश्वरले महिमाको लागि निर्दोष र पवित्र तुल्याउनु हुन्छ, तिनीहरूलाई आफ्नो सन्तान पनि अवश्य बनाउनुहुन्छ, अर्थात् दोषीलाई निर्दोष र पवित्र बनाएर महिमाको घरमा आफ्नो पुत्र र पुत्री बनाएर लानु पनि हुन्छ ! अब धर्मसन्तानले आफ्नो पिताको घर अर्थात् स्वर्गको उतराधिकार, नागरिकता र आफ्नो पिताको नाउँ पनि सित्तैमा उपभोग गर्न पाउँछ ! यसलाई यसरी बुझौ : अदालतको कठघरामा जघन्य अपराधको दोषी भएर उभिएको आरोपितको दण्ड, न्याय, र कसुर, परमेश्वरको स्वाभाविक एक मात्र पुत्र, येशू ख्रीष्ट हाम्रो जेठो दाजुले आफूमाथि त्यो मुद्दा र मुद्दाको दोष, न्याय , र आरोपको दण्डको भुक्तानी क्रुसमा रगत बगाएर गरीदिनुभयो (रोमी ५:९; रोमी ८:३०; १ यूहन्ना ३:१)।
दण्डको भुक्तानी हाम्रो दाजुले भोगिसक्नुभएको कारणले अब हामी बाइज्जत बरी भएर, सफाई पाएर अदालतबाट बाहिर जाँदै गर्दा न्यायाधीश परमेश्वर पिताले बाहिर भेटेर आफ्नो सन्तानको रूपमा हामीलाई हात समातेर घरतिर लानुहुन्छ ! अनी हाम्रो विरुद्धमा रहेको प्रतिवादी वकीललाई (शैतान) खुलमखुल्ला तमाशा बनाईदिनुभयो ! यसरी परमेश्वरले हाम्रो जेठो दाजु ख्रीष्टको क्रुसको मृत्यु र पुनरुत्थानद्वारा हामीलाई आफ्नो महिमित परिवार र घरानाको सदस्य बनाउनुहुन्छ (२ कोरिन्थी ६:१८; कलस्सी २:१५; एफिसी २:१९) !
सिकाईः त्यसैले हामी येशूका भाई – बहिनीहरू अर्थात् परमेश्वरको सन्तानले यस पवित्र परिवारलाई अझ बढाउन सुसमाचार प्रचारद्वारा योगदान र बलिदान गर्नुपर्छ, जुन हाम्रो पारिवारीक धर्म हो !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
