रोचक प्रसङ्ग : परमेश्वरको थुमा नै मोरीयाहको मुटु र त्यसको ढुकढुकी हुनुहुन्छ ।

 


अब्राहामको एक मात्रै प्रतिज्ञाको पुत्र तथा बुढेसकालको सहारा इसहाकलाई परमेश्वरले मोरीयाहको डाँडामा बलिदान गर्नको लागि आदेश दिनुहुन्छ । अब्राहाम १०० वर्ष र सारा ९० वर्षको हुँदा आश्चर्यरुपमा जन्मेको परमेश्वरको प्रबंन्धलाई परमेश्वरले नै होमबलि गर भन्ने आदेश पाउनासाथ अब्राहाम विना प्रश्न र गनगन मोरियाहातर्फ जान्छन् । डाँडा उक्लदै गर्दा दाउरा बोक्दै गरेको इसहाकले डराउँदै प्रश्न सोध्छन् : इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?” अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए। (उत्पति २२ः७–८ )
हिब्रु बाइबलमा उत्पति २२ को शीर्षक एकेडा (Akeda) हो, जसको अर्थ बलिदानको पशुलाई वेदीमा बाँध्नु भने अर्थ लाग्छ ! अब्राहामले इसहाकलाई त्यही रितिले बाँधेर दाउरामाथि राख्छन् र मार्न छुरी उठाउँछन् । तर स्वर्गबाट परमेश्वरको दूतले त्यसो नगर्न भन्छ, अनि इसहाकको सट्टामा परमेश्वरले जुटाउनुभएको थुमालाई बलिदान गर्छन । त्यसपछि अब्राहामले भविष्यको प्रतिज्ञा र आशिष पाउँछन । यसरी अब्राहामको विश्वासलाई कामले सिद्ध मात्रै गर्दैन तर विश्वासको पिताको रूपमा पनि ईतिहासमा अमर हुन्छ !
उत्पति २२ को सबैभन्दा रोचक पद १५ होः यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे । “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ । विद्वानहरुका अनुसार अन्तिम वाक्य उत्पति २२ को भाग थिएन तर त्यो मोशाले पछि थपेका थिए ! यो घटना भविष्यमा आउने उत्तम र महान पूजाहारी र थुमा परमेश्वर पिता र उहाँको पुत्र येशू ख्रीष्टको पूर्वछायाँ र पुर्वस्वरुप मात्रै हुन्, जसलाई हामी बुँदागत रूपमा समानता र भिन्नताहरुको दृष्टिकोणबाट हेर्नेछौं :
१. जसरी अब्राहामको एकमात्रै पुत्र इसहाक थियो (हिब्रुमाः एखाड (Akhad) र ग्रिकमाः मोनोगेनेस (monogenes), त्यसरी नै परमेश्वर पिताको पनि एक मात्रै पुत्र हुनुहुन्छ ! ग्रीक शब्द मोनोगेनेस अनुसार येशू ख्रीष्ट एकमात्रै ईश्वरको प्रजाति हुनुहुन्छ, अनि उहाँजस्तो अरु कोहीपनि छदैछैन (यूहन्ना १:१४) !
२. दुवै छोराहरू अर्थात् ख्रीष्ट र इसहाक आश्चर्यकर्मद्वारा जन्मेका प्रतिज्ञाका छोराहरु थिए, ( उत्पति २१ः२; मत्ती १ः१८–२१) अनि दुवैजना बलिदान हुन अर्पण गरीएता पनि अन्ततः एक जना मात्रै बलिदान हुनुभयो अर्थात् थुमा ख्रीष्टको बलिदान भयो जसले इसहाकको प्राण बचाईदिनुभयो !
३. अब्राहामले इसहाकलाई बलिदान गर्न मोरियाहाको डाँडामा लगे, त्यसरी नै परमेश्वर पिताले आफ्नो पुत्रलाई त्यही डाँडामा बलिदान गर्न लिनुभयो । मोरियाहको डाँडा र कलबरी डाँडा एउटै थियो ! यसरी उत्पति २२ः१५ को भबिष्यबाणी त्यही डाँडामा पूरा भयो ( मत्ती २७ः२६–५१)!
४. इसहाकले आफ्नै बलिदानको दाउरा बोके जसमाथि उसलाई बाँधिएर बलिदान गर्न राखियो । थुमा येशूले पनि आफ्नै बलिदानको दाउराको क्रुस बोक्नुभयो अनि त्यसैमा टाँगिएर बलिदान हुनुभयो । तर इसहाक बलिदान भएनन् तर ख्रीष्ट बलिदान हुनुभयो !
५.रहस्यमय र रोचक चाहिँ यो छः अब्राहमले पूजाहारीको रूपमा वेदी बनाए अनि त्यहाँ बलिदान चढाए ( उत्पत्ति २२ः९–१३) । परमेश्वर पिताले पनि पूजाहारीको रूपमा आफ्नै पुत्रको बलिदान क्रुसको वेदीमा गरिदिनुभयो । त्यो क्रूस र क्रुसमा बलिदानको थुमा जुटाउनुहुने गुरुयोजनाकार र वेदीको निर्माणकर्ता अरु कोही नभएर स्वयंम पूजाहारी परमेश्वर हुनुहुन्थो, जसले आफ्नो निज पुत्रलाई बाँकी राख्नुभएन (रोमी ८ः३२; यूहन्ना ३ः१६), तर संसारको निम्ति क्रूसको वेदीमा किल्ला ठोकेर (बाँधेर) अर्पण गरिदिनुभयो ! जसरी इसहाकको साटो थुमा बलिदान भए, त्यसरी नै पापी संसारको साटो परमेश्वरको थुमा बलिदान हुनुभयो (यूहन्ना १ः२९; हिब्रु ९ः१२,२६;१०ः१२) ! यहाँ स्पष्ट रूपमा परमेश्वर पिताको पूजाहारीको कामलाई देखाईएको छ ! वास्तवमा त्रीएक परमेश्वर, पिता, पुत्र र पवित्र आत्मालाई नै पूजाहारीले रूपमा धर्मशास्त्र बाइबलमा देखाईएको छ !
६. येशू ख्रीष्ट इसहाक र थुमा दुबैको वास्तविकता हुनुहुन्छ ! उहाँ इसहाक जस्तै परमेश्वरको एकमात्रै पुत्र हुनुहुन्छ ( यूहन्ना ३ः१६) । हिब्रुको लेखकले भन्नुहुन्छ की इसहाकको बलिदान भएको जस्तै मन्न सकिन्छ, र अब्राहमले विश्वासद्वारा उनीलाई फिर्ता पाए, किनभने अब्राहमले बलिदान चढाउने नाटक गरेका थिएनन, तर वास्तवमा नै बलिदान चढाउन चाहेका थिए !अब्राहामलाई पूर्ण विश्वास थियो कि यदि आफ्नो छोरा मार्नु नै परेतापनि परमेश्वरले उसलाई मृत्युबाट पुनरुत्थान गर्नसक्नुहुन्छ, नत्र इसहाकको हकमा गरिएको सबै प्रतिज्ञाहरु व्यर्थ र झुट साबित हुन्थ्यो, जुन असम्भव थियो ( हिब्रु ११ः१७–१९) ! ख्रीष्ट थुमा पनि हुनुहुन्थो किनभने उहाँ परमेश्वरको थुमा भएर अब्राहामको सन्तानको साटो बलिदान हुनुभयो । उहाँको बलिदानको कारण हामी बलिदान हुन परेन (रोमी ४ः२०–२५) !
७. यूहन्ना ८ः५६ अनुसार अब्राहामले येशूको दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए भनेर येशूले दाबी गर्नुभयो ! अब्राहाम र येशू शरीरमा कहिल्यै भेटेका थिएनन, अनि येशू भन्दा अब्राहाम १७६७ वर्ष अगाडि आएका थिए ! अब्रहामलाई मोरियाहको डाँडामा ख्रीष्टको क्रूसको महिमा आफ्नो छोराको साटो बलिदान हुन परमेश्वरले बन्दोबस्त गरिदिनुभएको थुमाको महिमामा देखाई दिनुभएको थियो । त्यसैमा अब्राहाम प्रफुल्लित भए अनि रमाए किनभने अब्राहामलाई विश्वास थियो कि आफ्नो भावी सन्तानहरुको साटो यही डाँडामा परमेश्वरले एक दिन पाप उठाईलाने थुमा जुटाईदिनुहुनेछ !
८.मोरियाहको डाँडाको अर्को रोचक के छ भने त्यही डाँडाको तल्लो भागमा सोलोमनले मन्दिर बनाएका थिए । कलवरी टुप्पोमा थियो र मन्दिर त्यही डाँडाको फेदमा थियो ! यदि यस्तो हो भने, उत्पति २२ः१५ अनुसार परमेश्वर जुटाउनुहुनेछ भनेको थुमा मात्रै थिएन तर मन्दिर पनि थियो । अर्को शब्दमा भन्नुपर्दा, त्यस डाँडामा थुमा मात्रै जुटाइएको थिएन, तर थुमा बलिदान हुने क्रुसको वेदी (मन्दिरको महापवित्र स्थान) पनि जुटाइएको थियो !
९.इसहाकलाई बलिदान नगर भनेर हप्काउने परमप्रभुको दूत थियो । त्यो दूत साधारण स्वर्गदूत थिएन तर विशेष दूत थियो जो मोशाको पोथ्रामा, यहोशुलाई सहायता गर्न आएका परमप्रभुको सेनाहरूका कप्तान थिए । त्यो दूतले आफैलाई परमेश्वर भनेर संबोधन मात्रै गर्दैनथ्यो, तर बरु मानिसहरूको आराधना र दण्डवत् पनि ग्रहण गर्थ्यो ! विद्वानहरुका अनुसार यो दूत येशू ख्रीष्टको पूर्वस्वरूप र पूर्व अवतार थियो, जो एक दिन अब्राहामको सन्तानको सट्टामा परमेश्वरको थुमा भएर बलिदान हुन्न आउनको लागि आफ्नै चिह्न र प्रतिज्ञा दिन आएका थिए !
१०. पुरानो नियममा सबै भन्दा स्पष्ट, मानिसको सट्टामा अरु कोही नै बलिदान हुने सिद्धान्त अर्थात् Doctrine of Substitution एकदमै राम्रोसंग यहाँ प्रदर्शन र प्रकट गरिएको छ । मोशा लगायत नयाँ कारकका लेखकहरुले पछि यही बलिदानलाई साभार र उद्धत गर्नुका साथै यसमा आधारित भएर बलिदानको बारेमा लेखेको र सिद्धान्त बनाएको देखिन्छन् । त्यसैलाई यो बाइबलीय बलिदानको प्रमुख र प्राथमिक स्रोत मान्न सकिन्छ ।
सिकाईः यसरी मोरियाह र कलबरीको घटना एक अर्कामा समान र भिन्न छन् । कलबरीको क्रुसमा पाप उठाईलाने परमेश्वरको थुमा नै मोरीयाहको मुटु र त्यसको ढुकढुकी हुनुहुन्छ, जुन बाइबलमा सबैभन्दा रोचक र रहस्यमय ढंगमा प्रस्तुत गरिएको छ !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post