रोचक प्रसङ्गः येशू ख्रीष्ट नै नयाँ बेथेल, नयाँ भर्‍याङ र नयाँ बाटो, सत्य र जीवन हुनहुन्छ !


याकूबलाई आफ्नो दाजुले मार्न खोज्दैछ भनेर थाह पाएपछि उसको आमाले उसलाई मामाकोमा भाग्ने सल्लाह दिन्छिन् । याकूब बेथेलमा (परमेश्वरको घर) आइपुग्छ अनि ढुङ्गाको सिरानी बनाएर निदाउँछ । राती सपनामा परमप्रभुले सपनामा दर्शन दिनुहुन्छः पृथ्वी देखि स्वर्गसम्मै जोडिएको एउटा भर्‍याङ देख्छ, जसको टूप्पोमा परमप्रभु उभिनुभयो, र जसमा स्वर्गदूतहरु ओर्लदै र उक्लँदै थिए ! परमप्रभुले याकूबलाई अरु प्रतिज्ञाहरुसँगै फेरि आफनै देशमा फर्काएर ल्याउने प्रतिज्ञा पनि दिनुहुन्छ । याकुबले बिहानै उठेर भाकल गरेर आफ्नो बाटोतिर लाग्छ (उत्पति २८ः१०–२२)। 

याकुबले देखेको भर्‍याङको दर्शन प्रकारशास्त्र  (Typology) केवल सपना मात्रै थियो, जसको वास्तविकता मानिसको पुत्र अर्थात् प्रभु येशू ख्रीष्ट  विपरित प्रकारशास्त्र (Antitypology) हुनुहुन्छ ! यसको सन्दर्भ एकदमै रोचक छः फिलिपले नथानेललाई आफूले मशिह ख्रीष्ट भेटेको दाबी गर्छन्, तर नथानेलले शंका गर्छन् । पछि ख्रीष्टले नथानेललाई अन्जिरको रुखमुनी मसिहलाई भेट्ने उत्कट ईच्छाका साथ प्रार्थना गर्दै गर्दा देखेको दाबी गर्नुहुन्छ ! थप, येशूले बेथेलको भर्‍याङलाई इंकित गर्दै नथानेलले स्वर्ग उघ्रेको, अनि मानिसको पुत्रमाथि स्वर्गदूतहरु ओर्लंदै र उक्लँदै गरेको देख्नेछन् भनेर भन्नुहुन्छः 

“नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।” नथानेलले उहाँलाई भने, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”येशूले तिनलाई जवाफ दिई भन्नुभयो “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्वास गर्दछौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।” अनि उहाँले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लंदैगरेका देख्नेछौ।” (यूहन्ना १ः४८–५१) 

यो सन्दर्भलाई र भर्‍याङको सपना र ख्रीष्टको समानता र भिन्नतालाई बुँदागत रूपमा हेरौं

१. बेथेलको भर्‍याङ याकूबको प्रार्थनाहरु स्वर्गसम्मै लाने माध्यम थियो, त्यो भर्‍याङको वास्तविकता ख्रीष्ट हुनुहुन्छ, जसले नथानेलको प्रार्थना ख्रीष्टको भर्‍याङ अर्थात् क्रुसमार्फत स्वर्गसम्मै पुग्यो । परिणामस्वरूप मसिह येशू र नथानेलको भेट भयो ! 

२. बेथेलको भर्‍याङ स्वर्गको बाटो थियो, तर अब ख्रीष्टको क्रुस स्वर्गको बाटो हो । बेथेलमा परमेश्वरको दर्शन, प्रकाश, वाणी र प्रतिज्ञाहरु मिल्थ्यो, तर अब यी सबै आशिषहरु ख्रीष्टमा उपलब्ध छन् । 

३. बेथेल परमेश्वरको घर थियो जसलाई स्वर्गको सबैभन्दा नजिक मानिन्थ्यो, तर अब ख्रीष्ट त्यो नयाँ बेथेल अर्थात् परमेश्वरको नयाँ मन्दिर हुनुहुन्छ ! कति विद्वानहरूले इस्राएलको मन्दिरको स्थान मोरियाहाको डाँडा र बेथेल एउटै स्थान भनेर तर्क गरेका छन् ! 

४. बेथेलको भर्‍याङमा स्वर्गदूतहरुले स्वर्गमा प्रार्थनाहरु पुर्याउन ओहोर दोहोर गर्थे, तर अब यो काम उनीहरूले मानिसको पुत्र ख्रीष्टको क्रुसको भर्‍याङद्वारा मात्रै गर्न सक्छन् ! त्यही भएर हामीले हरेक प्रार्थनाको अन्त्यमा येशूको नाउँमा भन्छौ ! 

५. बेथेलमा केवल सपनामा मात्रै स्वर्ग उघ्रेको थियो, तर ख्रीष्टमा त वास्तवमा नै स्वर्ग उघ्रन्छ, र परमेश्वरको दर्शन उपलब्ध छ (यूहन्ना १४ः६) ! त्यही भएर येशूले भन्नुभए जसले मलाई देखेको छ, त्यसले परमेश्वर ( पिता ) लाई देखेको छ (यूहन्ना १४ः९) !


सिकाईः यसरी याकूबको बेथेलको सपनाको दर्शन ख्रीष्ट येशूमा आएर पूरा मात्रै हुँदैन, तर बेथेल भन्दा महान कोही आएको छ भनेर पनि देखाईएको छ । येशू ख्रीष्ट नै नयाँ बेथेल, नयाँ भर्‍याङ र नयाँ बाटो, सत्य र जीवन हुनहुन्छ (यूहन्ना १४ः६) !


--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post