मण्डली परमेश्वरको सामाजिक धार्मिक भेला हो। यो ख्रीष्टको देह, दुलही, भेडाको बगाल, सत्यको खामो, मन्दिर, र राज्य हो । ख्रीष्ट मण्डलीको राजा हुनहुन्छ अनि मण्डली उहाँको राजदुतावास हो । राजाको सन्देश सुसमाचार हो भने विश्वासीहरु राजदुतहरु (सन्देशवाहकहरु) हुन् । मण्डलीको काम भनेको राज्यको सुसमाचार सुनाएर मानिसहरूलाई राजदुतावासमा ल्याएर अनन्त जीवनको (स्वर्गको) प्रवेशाज्ञा (नागरिकता) दिलाउनु हो, किनभने मण्डली बाहिर मुक्ति छैन ! जसरी कुनै देशमा जानको लागि भिसा अपरिहार्य हुन्छ, त्यसरी नै स्वर्ग जानको लागि मण्डली अपरिहार्य हुन्छ !
रोचक के छ भने चर्चलाई चलाईएको ग्रीक शब्द एक्लेसिया (Ekklesia) हिब्रु शब्द काहालबाट (Qahal) बाट अनुवादित शब्द हो । ग्रीकमा मण्डलीको लागि अर्को शब्द पनि चलाईएको छ अर्थात् केरीककोन (kyriakon), जसको अर्थ “प्रभु येशूको स्वामित्व’’ भन्ने हुन्छ । तर यो हिब्रु शब्दहरूसँग धेरै सम्बन्धित छैन ! जब चर्च सामूहिक रूपमा आराधनाको लागि भेला हुन्छन् तब एक्लेसिया शब्दको प्रयोग गरिन्छ । काहालको वैकल्पिक हिब्रु शब्द एदा (Edha) हो, जसको अर्थ सामूहिक रुपमा आराधना गर्न भेला नभएतापनि व्यक्तिगत रूपमा पनि मण्डली रहन्छ भनेर बुझाउन यो शब्दको प्रयोग गरिन्थ्यो ! अर्को शब्दमा भन्नुपर्दा, मण्डली सामूहिक र व्यक्तिगत दुवै हुन्छन्, अर्थात् मण्डलीमा भेला हुँदा विश्वासीहरु सामूहिक मण्डली हुन्छन् भने मण्डलीबाट बाहिर गएपछि पनि मण्डली नै रहन्छन् ! तपाईहरु शनिबारको आराधना संगतिमा मात्रै मण्डली हैन, तर मण्डली बाहिर हरेक दिन र समय पनि मण्डली हुनुहुन्छ !
यसलाई यसरी बुझौं, प्रेरित पावलले विश्वासीको शरीरलाई पवित्र आत्माको मन्दिर भनेका छन् (१ कोरिन्थी ३ः१५–१६)! पवित्र आत्मा व्यक्तिगत रूपमा पनि विश्वासीमा वास बस्नुहुन्छ अनि मण्डलीमा सामूहिक शनिबारको संगती या घरेलू संगती या अन्य संगतीहरुमा भेला हुदाँ पनि सामूहिक रूपमा वास बस्नुहुन्छ, किनभने जहाँ दुई वा दुई भन्दा बढी विश्वासीहरु येशूको नाउँमा भेला हुन्छन्, त्यहाँ येशूको उपस्थिति पवित्र आत्माद्वारा हुन्छ (मत्ति १८ः२०) ! र त्यो भेला मण्डलीमा रूपान्तर हुन्छ !
सिकाई : यसरी व्यक्तिगत र सामूहिक मण्डलीलाई दुईवटा हिब्रु शब्दहरूको दृष्टिकोणबाट रोचक रुपमा बुझ्न सकिन्छ ।
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
