रोचक प्रसङ्ग : केवल क्रुसको वेदीमा मुक्ति छ, र पापको प्रायश्चित छ !


पहिलो मन्दिर अदनको बगैँचा थियो ! यही मन्दिरको आधारमा मोशाले सोलोमनले, यरुबाबेलले, र हेरोदले मन्दिर निर्माण गरेका थिएँ । तर यो मन्दिर वास्तविक स्वर्गीय मन्दिरको छाया वा नकल मात्रै थियो ! यो मन्दिरको महापवित्रस्थानमा करारको सन्दूक थियो, जहाँ पापको प्रायश्चित सालिन्दा गरिन्थ्यो ! पृथ्वीमा पापको प्रायश्चित गर्ने वेदी यो बाहेक अरु कुनैपनी थिएन ! तर अचम्मको कुरा यो छ कि त्यो वेदीले एकजना व्यक्तिलाई दर्साईरहेको थियो, किनभने पाप उठाई लाने परमेश्वरको थुमा संसारमा आउँदै हुनुहुन्थ्यो ! 

जनावरको रगतले पापको शुद्धि हुन नसक्ने भएकोले मन्दिरको वेदी अपर्याप्त भएको देख्छौ ! त्यही भएर सिद्ध पर्याप्त वेदी, बलिदान, र बलि चढाउन पूजाहारीको जरूरत पर्यो ! येशूले आफ्‌नै पूजाहारीगिरीद्धारा आफ्‌नै रगत छर्केर एकै खेपमा अरु बलिदान जरूरत नपर्ने गरी पापको शुद्धि गरीदिनु भयो ! यो भन्दा पनि रोचक यो हो कि : मन्दिरको महापवित्रस्थानमा वर्षको एकपल्ट मात्रै प्रधान पूजाहारी छिर्न पाउँथ्यो, अरु कसैलाई अनुमति थिएन ! 

तर हाम्रो प्रधानपूजाहारी येशूले करूबहरुलाई पन्छाएर र न्यायको ज्वालामय तरवारलाई हटाएर, पापको प्रायश्चित गर्ने वेदीलाई महापवित्र स्थानबाट निकालेर यहूदीहरुलाई मात्रै नभएर संसारकै पाप प्रायश्चित गर्नको लागि उपलब्ध गरिदिनु भयो ! येशूको मृत्यु भए लगत्तै मन्दिरको पर्दा दुई भागमा च्यातिनुको कारण पनी यही नै हो : म जस्तो पापीलाई महापवित्र स्थानमा लान सकियोस् भनेर भन्दा पनि महापवित्र स्थानको वेदी सबैले देखिने गरी क्रुस मार्फत बाहिर ल्याउन सकियोस् भनेर!

यसबाट यो स्पष्ट हुन्छ कि त्यो वेदी येशूको क्रुस थियो र जसरी मोशाले उजाड स्थानमा सर्प उचाले, त्यसरी नै येशू उचालिनु भयो ताकि पापको सर्पले टोकेकाहरु निको हुन सकुन भनेर !

सिकाई : जसरी पाप प्रायश्चितको लागि मन्दिरको वेदी वाहेक अरु कुनै वेदी थिएन, त्यसरी नै मुक्ति पाउनलाई अव पृथ्वीमूनि अरु कुनै नाउँ दिएको छैन ! केवल क्रुसको वेदीमा मुक्ति छ, र पापको प्रायश्चित छ किनभने मन्दिरको वेदीलाई येशूको क्रुसले सधैंको लागि प्रतिस्थापन गरीदियो ! यो नै नयाँ करारको आशिष र अनुग्रह हो !


--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post