रोचक प्रसङ्ग: पानी छायाँ हो भने त्यसको वास्तविकता, पूर्णता र सिद्धता पवित्र आत्मा हुनुहुन्छ ।


रोचक प्रसङ्ग : प्ररमप्रभु चट्टान हुनुहुन्छ, र उहाँको नाउँ हिब्रुमा ज्यूरियल (zuriel) हो, जसको अर्थ चट्टान हो ! यही चट्टान परमेश्वरले इस्राएलीहरुलाई सुख्खा मरुभूमिमा चट्टानबाट पानी जुटाईदिनु भएर उनीहरुलाई जीवन दिनुभयो ! मोशाले जब चट्टानलाई हिर्काए, तब त्यसबाट पानी बगिनिस्क्यो ! अच्चम के छ भने त्यो चट्टानलाई इस्राएलीहरुले आफूसँगै बोकेर लगे कि त्यो चट्टान उनीहरू सँगसँगै गए, त्यो चाहिँ स्पष्ट छैन ! यति चाहिँ बुझ्न सकिन्छ कि इस्राएलीहरु पक्कै पनि पानी भर्न त्यही ठाउँमा बारम्बार आएनन् ! यति हो कि त्यही चट्टानबाट निस्केको पानी पिएर इस्राएलीहरु मरुभूमिको यात्राभरी जीवित रहेका थिए ! 

रोचक यस्तो छ : प्रेरित पावलले १ कोरिन्थि १०ः१–४ मा भनेका छन् कि यो चट्टान जुन इस्राएलीहरुको साथसाथै हिँडेका थियो, त्यो येशू ख्रीष्टको पूर्वस्वरूप (Typology) थियो : “भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए। अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए। सबैले एउटै आत्मिक भोजन खाए। सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो’’ (१ कोरिन्थि १०ः१–४) । मतलब, इस्राएलीहरुले भौतिक चट्टानबाट शारीरिक पानी पिए, तर अब त्यो चट्टानको वास्तविक स्वरूप (Anti-Typology) अर्थात् ख्रीष्ट आइसकेको हुनाले उहाँमा आत्मिक पानी उपलब्ध छ । यदि यस्तो हो भने यसले बाइबलको धेरै रहस्यहरुको ताल्चा खोल्न सहायता गर्दछ, जुन यस प्रकार छन् : 

१. येशूले सामरी स्त्रीलाई आफू जीवनको पानीको स्रोत भएको दाबी गर्नुभयो, किनकि भौतिक पानी पिउने फेरि तिर्खाउने छ तर येशूले दिनुहुने पानी (पवित्र आत्मा) पिउने फेरि कहिल्यै तिर्खाउने छैन, त्यो त्यसमा उम्रिरहने मुहान बन्नेछ ( यूहन्ना ४ः१३–१४)

२. येशूले भन्नुभयो यदि कोही तिर्खायो भने त्यो म कहाँ आओस किनकि धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट (ग्रीकमाः नाभी) जीवनको पानी (पवित्र आत्मा) बगिनिस्कन्छ (यूहन्ना ७ः३७–३९)! यसैमा अर्को रोचक के छ भने जब येशूले यो वचन भन्दै हुनुहुन्थ्यो, तब यहूदिहरू आफ्नो समर्पणको चाडको रीति अनुसार सिलोआमको पोखरीबाट पानी उघाएर मन्दिरको ढुङ्गाको वेदीमा खन्याएर बगाउदै थिए । त्यो बेला उनीहरूले मोशाले चट्टानबाट पानी निकालेर आफ्नो पुर्खाहरुलाई मरुभूमिमा जीवन पाएको कुराको सम्झना गर्दै थिए ! 

३. येशूले भन्नुभयो म कहाँ आउनेको कोही भोकाउने छैन, अनि तिर्खाउने  छैन, किनकी साँचो चट्टानबाट अनन्त तिर्खा मेटाउने पानी उपलब्ध भईसकेको छ (यूहन्ना ६ः३५)!

४. येशूको शरीरबाट पानी र रगत बग्यो ! मोशाले चट्टानलाई लहुरोले हिर्कायो, र सिपाहीले क्रुसमा टाँगिएको येशूको शरीरमा भालाले घोच्यो ! दुवैबाट पानी बगिनिस्क्यो (यूहन्ना १९ः३४) ! स्मरण रहोस् रगतमा पानीको मात्रा बढी हुन्छ ! 

सिकाई: यसरी पुरानो नियमको चट्टान छायाँ हो भने येशू ख्रीष्ट त्यसको वास्तविकता, पूर्णता र सिद्धता हुनुहुन्छ । पानी छायाँ हो भने त्यसको वास्तविकता, पूर्णता र सिद्धता पवित्र आत्मा हुनुहुन्छ, जो येशू ख्रीष्टबाट (चट्टान) पेन्तिकोसको दिन मण्डलीलाई जीवन दिन बग्नुभयो, र त्यो पानी संसारभरि मण्डलीको नदीद्वारा बग्दै छ ! यसरी चट्टान र पानीको रोचकता र गम्भीरता हेर्न र बुझ्न सक्छौं ।

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।


Post a Comment

Previous Post Next Post