अदनको बगैंचा पहिलो मन्दिर थियो ! आदम त्यस बगैंचाको पूजाहारी र बगैंचा सजाउने माली थियो ! त्यो मालीलाई सघाउन परमेश्वरले हव्वालाई सहयोगीको रूपमा दिनुभयो ! आदम र हव्वाले परमेश्वरबाट फल्दै – फुल्दै वृद्धि हुँदै जाने र पृथ्वीमा भरिदै जाने आशिष पाएका थिए ! यसले यो देखाउँछ कि यो दम्पतीले अदनको बगैंचा मात्रै नभएर सबै सृष्टिलाई अदन जस्तै हराभरा गर्नु पर्थ्यो किनभने अदन बाहिर हराभरा थिएन ! अर्को शब्दमा भन्नुपर्दा अदनको हराभरा र सुन्दरताको आशिष सारा संसारभरी फैलाउनु नै माली आदम र त्यसको सहयोगी हब्बाको प्रमुख जिम्मेवारी थियो ! तर आदम र हव्वा यस जिम्मेवारीबाट चुके र बगैंचाबाट लखेटिए !
परमेश्वरले आफ्नो पुत्रलाई नयाँ सृष्टिको मालीको रूपमा पठाउनुभयो, जसले आदमले गुमाएको हराभरालाई पुर्नस्थापना र पुनःप्राप्त गर्न आउनुभयो! त्यही भएर जब येशू मृतकबाट पुनरुत्थान हुनुभयो मरियमले येशूलाई माली भन्ठानेकी थिइन, जुन सत्य थियो ! यो नयाँ सृष्टिको मालीले परमेश्वरको राज्यको हराभरा र सुन्दरतालाई संसारभरी सुसमाचारद्वारा फैलाउदै हुनहुन्छ अर्थात् माली आदमले गर्न नसकेको मालीको काम अन्तिम आदमले गर्दै हुनहुन्छ !
रोचक यो छ कि हाम्रो माली प्रभुले आफ्नो बगैँचामा काम गर्न मण्डलीलाई पनि उहाँको सहकर्मीको रूपमा बोलाउनु भयो, साथै यस कामको इनाममा हामीलाई पनि सहभागी गराउनु भयो ! जसरी आदमको सहयोगी हव्वा उसको करङबाट निकालिकी थिइन, त्यसरी नै मण्डली पनि ख्रीष्टको शरीर हो, अर्थात् उहाँको अंश !
सिकाई: त्यसैले राज्यको सुसमाचारले मात्रै संसारलाई हराभरा र सुन्दर बनाउन सक्छ ! मण्डली यस महिमित मालीको कामबाट कहील्यै पनि विमुख र गैरजिम्मेवारी हुन् कदापि मिल्दैन ! हाम्रो महान मालीले यो जिम्मा मण्डलीलाई दिएर जानुभएको छ र यसलाई पालन गर्नु र अभ्यास गर्नु नै मण्डलीको धर्म हो !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
