मुक्ति धर्मकर्मद्वारा मात्रै सम्भव छ, विश्वासद्वारा कदापि हैन ! मुक्ति सस्तो र सितैंमा पनि पाइँदैन ! मुक्ति मोशाको व्यवस्थाको धर्मकर्ममा आधारित छ, जुन येशूले आफ्नो पवित्र जीवनद्वारा व्यवस्थामा निस्खोट र निस्कलंक भएर, साथै महँगो मूल्य चुकाएर क्रूसमा पापवाली भएर कमाई दिनुभयो । यसलाई येशूको सक्रिय र निष्क्रिय आज्ञाकारीता भनिन्छ : अर्थात् येशू हाम्रो पापको लागि मर्नु मात्रै भएन तर धार्मिकता र पवित्रताको लागी जिउनु पनी भयो !
हाम्रो धर्मकर्ममा नभएर येशूको धार्मिक कार्यमा विश्वास गरेको कारणले हामीले मुक्ति पाएका हौं ! येशूले हाम्रो खातिर मोशाको व्यवस्थाको मागलाई आफ्नो पवित्र जीवनद्वारा पूरा गरी दिनु भयो भने उहाँले हाम्रो खातिर परमेश्वरको न्याय र पवित्र क्रोधलाई पूर्ण रूपमा सन्तुष्ट गरी दिनुभयो !अर्को शब्दमा भन्नुपर्दा, यदि येशूले आफ्नो धर्मकर्मद्वारा मुक्ति प्रबन्ध नगरिदिनु भएको भए, हामीले के माथि विश्वास गरेर मुक्ति पाउने ? मुक्तिको आधार नै हुँदैन थियो ? तर अब त हाम्रो मुक्तिको आधार छ, र यसैमाथि हाम्रो विश्वास, आस्था र पूर्ण निर्भर भएर मुक्ति केवल विश्वासद्वारा मात्र सम्भव बनाइदिनुभयो ।
यसरी भन्न सकिन्छः येशूले मुक्ति आर्जन गर्दा विश्वासद्वारा थिएन, बरु व्यवस्थाको कर्मद्वारा थियो, तर जब उहाँले मानव जातिलाई यो मुक्ति दिनुभयो, तब उहाँले आफ्नो अनुग्रहमा यो मुक्ति वरदान स्वरूप दिनुभयो ! मानिसको लागि यो मुक्ति सस्तो र सित्तैमा थियो, तर येशूले यो कमाउँदा महँगो र ठूलो मूल्य क्रुसमा चुकाउनु पर्यो !
सिकाई: येशूले मण्डलीलाई अनन्त गुण लगाउनु भएको छ, र मण्डली येशूको यो बलिदानी प्रेमप्रति ऋणी छ, जुन मण्डलीले आज्ञाकारी जीवनद्वारा चुकाउँदै जानु पर्छ !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
