रोचक प्रसङ्गः वास्तविक निस्तारको थुमा र निस्तारक त प्रभु येशू हुनहुन्छ !



परमेश्वरले मोशालाई निस्तार चाडको विधि दिनुभयो ! अन्तिम विपत्तिबाट बच्न, अर्थात् मृत्युको दूतबाट आफ्नो जेठो सन्तानलाई बचाउन १ वर्षको निखोट पहिले बियाएको थुमा मारेर त्यसको रगत चौकोसमा लगाउनु पर्थ्यो !

रोचक यो छ कि १० विपत्तिहरु मध्ये ९ विपत्ति मिश्र माथि मात्रै पर्यो, तर १०औं विपत्ति मिश्र र इस्राएल दुवैमा पर्यो ! तर यस महाविपत्तिबाट छुटकाराको मोल स्वरूप जेठो थुमाको रगत इस्राएलको खातिर बग्यो ! अर्को शब्दमा भन्नुपर्दा, परमप्रभुको जेठो छोरा इस्राएलको सट्टामा जेठो थुमाले मूल्य चुकायो, तर मिश्रमा कोही पनि छुटकारा दिने भएन, त्यही भएर मिश्रमा ईश्वरीय न्याय र सराप पर्यो !

यही कारणले गर्दा जेठो जन्मेकाहरुको हकमा मोशाको व्यवस्थामा यस्तो नियम थियोः पहिलो जन्मेका मानिस र जनावरमाथि केवल परमेश्वरको अधिकार हुन्थ्यो, अनि तिनीहरूलाई उहाँको हातबाट निखन्नु पर्थ्यो, अर्थात् उहाँबाट किन्नुपर्थ्यो, नत्र जनावरको हकमा घाँटी भाँचेर मार्नुपर्ने व्यवस्था थियो । मानिसको हकमा, हरेक पहिलो जेठो यहूदी पुरुषलाई मन्दिरमा लगेर त्यसको सट्टामा आफ्नो औकात अनुसार केही दिएर निखान्नु पर्थ्यो। येशू प्रभुलाई उहाँको आमा बुबाले त्यही भएर मन्दिरमा लगेर एक जोडी ढुकुरको मूल्यमा परमेश्वरको हातबाट किन्नुभएको थियो ! 

निस्तारको थुमाको रगतले इस्राएली सन्तानको सुरक्षाको प्रत्याभूति मात्रै गरेन्, तर परमेश्वरको न्याय र सराप लिएर आएको दूतलाई पनि पार लगाईदियो, अर्थात् थुमाको मृत्युले संकट मोचन गरेर निस्तारकको काम गरिदियो । अझ भन्ने हो भने त्यो संकट इस्राएलीहरुबाट पन्छाएर मिश्रमा लान दूतलाई बाध्य पारिदियो । 

तर त्यो निस्तारको थुमा केवल सूचक र छायाँ मात्रै थियो ! वास्तविक निस्तारको थुमा र निस्तारक त परमेश्वरको थुमा प्रभु येशू हुनहुन्छ ! पुरानो निस्तार भन्दा पनि ठूलो र मिश्रको फारो भन्दा पनि ठूलो (सैतानबाट) र पुरानो ईश्वरीय न्याय र क्रोधको संकटभन्दा पनि ठूलोबाट पार लगाउने हाम्रो महान निस्तारको थुमा र निस्तारक ख्रीष्ट हुनुहुन्छ ! बप्तिस्मा दिने यूहन्नाले येशूलाई परेमश्वरको थुमा भनेर संबोधन गर्दा ३ वटा कुरालाई विशेष जोड दिएको देखिन्छ : 

१. वास्तविक निस्तारको थुमाले यहूदीहरुको मात्रै नभएर संसारकै पाप हरण गर्न ईश्वरीय न्याय र सराप क्रुसमा वहन गर्न आउनुभयो (यूहन्ना १ः२९) !

२. थुमा येशूको रगतले छर्केका (इजकिएलको पुस्तकमा र निधारमा चिह्न लगाइएको संकेत इजकिएल ९ः४ ) विश्वासीहरूलाई मृत्युको दूतबाट छुटकारा दिनलाई निस्तारकको रूपमा आउनुभयो (१ कोरन्थी ५;७) !

३.निस्तारको थुमा येशू विश्वासीहरूको लागी प्ररमप्रभुको प्रबन्ध र प्रतिज्ञा हुनहुन्छ, जो हामीहरूको छुटकाराको मोल भएर ईश्वरीय न्याय र क्रोधलाई हामीबाट पन्छाई र मन्छाईदिनुहुन्छ (यशैया ५३)

यी सबै कार्य प्रभु येशूले निस्तारको थुमा भएर कलबारी क्रुसमा रगत बगाएर गरिदिनुभयो ! अझै चाखलाग्दो यस्तो छः  निस्तारको थुमा र येशू बीचको समानताहरु : 

१. येशू र थुमा दुवै पहिलो जन्मेका निष्कलंक हुनुपर्दछ ।

२. येशू र थुमा दुवैलाई न दिन न त रात तर गोधुली साँझमा बलिदान गर्नुपर्थ्यो ।

३. येशू र थुमाको हड्डी भाँचिन मिल्दैनथ्यो! त्यही भएर क्रुसमा येशूको हड्डी नभाचिएको ! क्रुसमा हिसपको स्याउलाको प्रयोग पनि हेर्नुहोला (यूहन्ना १९ः३६) ! 

४. निस्तारको थुमालाई बलिदान गर्नुभन्दा अगाडि १४ दिन सम्म निस्खोट हो कि हैन भनेर जाँच गरीनुपर्थ्यो अनि मात्रै बलिदानको लागी योग्य मानिन्थ्यो । थुमा येशूलाई पनि क्रुसमा मार्नुभन्दा अगाडि राजाहरूले जाँच गरे, तर केही खोट भेटाउन सकेनन, र अन्तमा पिलातसले आफ्नो हात धोएर निर्दोष सावित गरेर क्रुसमा टाँग्ने आदेश दिए, अर्थात् निस्तारको थुमा हुन योग्य छ भनेर देखाईदिए, जुन व्यङ्ग्यात्मक रूपमा यूहन्नाको सुसमाचारमा लेखिएको छ ! 

५. निस्तारको थुमाको बलिदानले इस्राएलीहरुलाई छुटकारा मात्रै दिएन तर त्यो थुमाको मासु खाएर उनीहरू सीनै पर्बतमा परमेश्वरको आराधना गर्न तीर्थ यात्रामा निस्कनु पर्थ्यो! त्यसरी नै थुमा येशूको बलिदानले हामीलाई पाप, संसार, र शैतानको दासत्वबाट मात्रै छुटकारा दिएन, तर बरु उहाँको देह र रगतमा सहभागी भएर (प्रभुभोज) हामी सीनैको वास्तविकतामा अर्थात् स्वर्गसम्मै तीर्थयात्रा गर्दैछौ ! यसरी थुमा र येशू बीच समानता र भिन्नता देखिएको छ, जुन एकदमै रोचक र रहस्यमय छ ।

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post