हरेक सजीव बन्न पहिला त्यो निर्जीव हुनै पर्दछ, अर्थात् हरेक सजीवको बिऊ पहिला मर्नुपर्दछ, अनि मात्रै त्यसले नयाँ जीवन प्राप्त गर्दछ ! यो नियम जन्मिने वा बन्ने सबैमा लागू हुन्छ, अर्थात् वनस्पतिमा, पशुप्राणीमा, चराचुरुङ्गीमा, अनि मानिसमा पनि यही प्रकिया हुन्छन् ! पुरुषको शुक्रकिट (बाइबलमा चलाईएको शब्द बिऊ (Seed) नै हो ) स्त्रीको डिम्बसम्म पुग्न लामो यात्रा तय गर्दछ, अनि जब त्यो शुक्रकीट डिम्बभित्र प्रवेश गर्दछ, तब डिएनए (DNA) र क्रोमोजोम बोकेको त्यो शुक्रकीट मर्छ । यही शुक्रकिटको बलिदान र आहुतिले गर्दा नै नयाँ जीवनको सुरुवात हुन्छ, जुन एकदम रोचक छ !
यो कुरालाई प्रेरित पावलले पुनरुत्थानको सन्दर्भमा पनि भनेका छन “…जे तिमी रोप्तछौ त्यो नमरिकन सजीव हुँदैन। जे तिमी रोप्तछौ त्योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्तछौ, चाहे त्यो गहूँ, अथवा अरू कुनै किसिमको अन्न होस्। तर आफूलाई खुशी लागेबमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ ।“ (१ कारिन्थी १५ः३६–३८)
यो अझै रोचक हुन्छ जब हामीले यो बुझ्छौ की यो प्रक्रिया सृष्टि र पुनरुत्थानमा मात्रै हैन, तर मुक्तिमा पनि लागू हुन्छ ! स्वयंम येशू प्रभुले यो कुरालाई यूहन्ना १२ः२४ स्वीकार्नुभयो : “साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ । तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।“ यो सानो दृष्टान्तलाई बुँदागत हेरौं :
१. येशू ख्रीष्टको जीवनको बलिदान क्रुसमा नभईकन नयाँ जन्मको सुरुवात हुँदैन । मण्डलीको अनन्त जीवन क्रूसको आहुतिमा र आत्मदाहमा मात्रै निहित छ !
२. येशू ख्रीष्टको बलिदानविना मुक्तिको फल फल्दैन ! (बाइबलले आमाको पेटमा आएको बच्चालाई गर्भको फल भन्नु पनि रोचक छ) मुक्ति कलवरीको क्रूसमा टाँगिनुभएको येशू ख्रीष्टको दिव्य रगतको सिंचाईद्वारा मात्रै सम्भव छ ! अर्को शब्दमा भन्नुपर्दा, मण्डली क्रूसको फल हो !
३. येशू ख्रीष्टको बलिदानले मण्डलीलाई आफ्नो जीवनमा एकै गरिदियो, किनभने गहुँको दाना मरेन भने त्यो एकलै रहनुपर्थ्यो, तर मर्यो भने धेरै गहुँको दानाहरु बोटको एकतामा आउँछन् । यो परिवारको भाषा होः हाम्रो जेठो दाजु ख्रीष्ट आफ्नो भाई बहिनीहरू, अर्थात् परमेश्वरको सन्तान संसारभरीबाट खोज्न र बटुल्न आउनुभयो ! तर भाइबहिनीहरूको जीवन र एकता जेठो दाजुको बलिदानी रगतमा थियो (हेर्नुहोस् हिब्रु २ः१४–१६) । जब ख्रीष्टको बलिदान भयो, तब सुसमाचार र मिसनद्वारा संसारभरि छरप्रस्ट भएर बसेका आफ्नो भाइबहिनीहरू उहाँको एकतामा गहुँको बोटमा दाना फलेको जस्तै गरी आए (हेर्नुहोस् यूहन्ना १२ः३२) ! अर्को शब्दमा भन्नुपर्दा, यदि ख्रीष्टको बलिदान नभएको भए मानिसहरू कहिल्यै पनि ख्रीष्टियन हुँदैनथे । हाम्रो अनन्त जीवन क्रूसको दुःखदायी बलिदानको देन र फल हो ! यति मात्रै हैन, हाम्रो ईश्वरीय प्रभावकारी बोलावट, धार्मिकता, पवित्रता, पुनरुत्थान, धर्मसन्तानग्रहण, एकता अनि सम्पूर्ण स्वर्गीय आशिषहरु केवल कलवरीको क्रुसमा आधारित र आश्रित छ !
४. यो अनन्त जीवन र अलौकिक एकता ख्रीष्टको क्रुसमा विश्वास गरेर पाईन्छ ! गहुँको बोटमा नयाँ गहुँ भएर फल्ने र जोड्ने योग्यता भएको केवल विश्वास मात्रै हो । तर स्मरण रहोस्, त्यो विश्वास पनि कार्य हैन, तर परमेश्वरको वरदान हो (हेर्नुहोस यूहन्ना १५) !
५. येशू ख्रीष्टलाई एकलै बस्नु थिएन । भलै उहाँ पुत्रको रूपमा त्रीएक परमेश्वरको सँगतीमा हुनुहुथ्यो, तरै पनि उहाँले मानव परिवार र घराना चाहनुभयो । तिनीहरूलाई स्वर्गीय महिमामा डोहोर्याउन नै उहाँले मानव अवतार (देहधारण) लिनुभयो, अनि त्यो अवतारी देह क्रुसमा बलिदान गरिदिनुभयो । यसरी यो प्रसङ्ग ख्रीष्टमससँग पनि ठोकिन्छ (हेर्नुहोस, हिब्रु २) !
यसरी हामीले सृष्टि र मुक्तिको जीवनको लागि मृत्यु अपरिहार्य भएको देख्छौ । विश्वासी सबैजना मृत्युको फल होः आमाको गर्भमा अनि क्रूसको मृत्युमा ! हाम्रो ख्रीष्टियन जीवन पनि मृत्युको वरिपरि नै घुम्छ : पापको लेखी मर्नु, संसारको लेखी मर्नु, अभिलाषा मार्नु, क्रुस बोकेर मृत्युतिर अघि बढ्नु, आफ्नो भाईहरुको लागी मर्न तयार हुनु (१ यूहन्ना ३ः१६) आदि इत्यादी ! ख्रीष्टले त यति सम्म पनि भनिदिनुभयो : “किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ“ (मत्ति १६ः२५) !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
