परमप्रभु परमेश्वरले आदम र हब्बालाई बनाउनु भएर अदनको मनमोहक बगैँचामा राख्नुभयो। अदनको लागि चलाईएको हिब्रु शब्द आनन्दप्रद स्थान (Paradise) हो । आदम र हब्बासँग आनन्दमय बगैँचामा ईश्वरले प्रगाढ अनि मिठो संगती गर्न, साथै प्रेमिलो भलाकुसारी गर्न अदनको बगैँचामा बारम्बार भेटघाट गर्न आउनुहुन्थ्योः अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके (उत्पति १ः८) । हिब्रु भाषामा “डुल्दैहुनुहुँदा’’ लाई प्रयोग गरिएको शब्द מִתְהַלֵּ֥ךְ (miṯ–hal–lêḵ) हो, जुन Hitpael मा छ, जसको अर्थ बगैंचा वरिपरि निरन्तर ओहोरदोहोर गर्दै हिँडडुल गर्ने अर्थ लाग्छ ! मतलब, परमेश्वर जब जब मानिसलाई भेट्न आउनुहुन्थ्यो, उहाँ तिनीहरूसँग यही रीतिमा हिँडडुल गर्नुहुन्थ्यो !
रोचक के छ भने परमप्रभु परमेश्वरलाई पनि मानिस जस्तै हिँडडुल गर्ने गरी देखाईएको छ । अर्थात् मानिससँग संगती गर्दा परमप्रभु परमेश्वरले पनि मानिसको जस्तै स्वभाव धारण गर्नुहुन्थ्यो, यसलाई Anthropomorphism भनिन्छ !
परमप्रभु परमेश्वरले अदनमा मानिस जस्तै गरी व्यवहार गर्नुले यही देखाउँछ कि एक दिन यो ईश्वरले मानव अवतार लिएर मानिसहरुसँग मानव नै भएर वास बस्न आउनुहुनेछ !
ख्रीष्टमस यही प्राचीन आशाको पूर्णता हो, अनि यही भविष्यवाणीको मुर्तता हो । अदनको साक्षत ईश्वर मानवको शरीर धारण गरेर मानिसहरूसँग वास बस्न आउनुभयो । उहाँ ईश्वरको अवतारी पुत्र ईम्मानुएल प्रभु येशू ख्रीष्ट हुनहुन्छ, जसको अर्थ “परमेश्वर मानिसहरूसँग’’ भन्ने हुन्छ, अर्थात् अदनको भन्दा महिमित रितिमा उहाँ मानिसहरुसँग हिँडडुल गर्न आउनुभयो (हेर्नुहोस यशैया ७ः१४, मत्ति १ः२३) ! यो अदनको भन्दा महिमित छ, किनभने अदनमा उहाँ आत्मामा मात्रै मानिससँग संगती गर्दै हुनुहुथ्यो, तर अब उहाँ मानव शरीर र मानव दुर्बलता र सीमिततामा नै संगती गर्न आउनुभयो (हेर्नुहोस् फिलीपी २)! यही सत्यतालाई येशूको प्रिय चेला युहन्न्नाले यसरी गवाही दिएका छः अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास (HebrewM Shekinah) गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो (युहन्न्ना १ः१४) ।
यसरी अलौकिक ईश्वर लौकिक मानव संसारमा मानव शरीरमा नयाँ रीतिमा बास बस्न आउनुभयो, जुन ख्रीष्टमसको कथा हो ! इम्मानुएल येशू ख्रीष्ट नै ख्रीष्टमसको मुटु र त्यसको ढुकढुकी हुनुहुन्छ !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
