रोचक प्रसङ्ग: माटोको शरीर लिएर ईश्वर मानव भएर जन्मनुभयो !



 

परमेश्वरले आदमलाई माटोबाट बनाउनु भएर उसभित्र जीवनको श्वास फुकिदिनुभयो, त्यसपछि मात्रै मानिस जीवित भयो । मानिसलाई बनाउनु हुँदा हिब्रु भाषामा चलाईएको क्रिया “यतसार (yatsar) हो, जसको अर्थ सृष्टिकर्ता कुमाले परमेश्वरले माटो मुछेर मानिसलाई आकार दिई आफ्नै स्वरूप (बौद्धिकता र क्षमता) र प्रतिरुपमा (नैतिकता र चरित्र) सृजनुभयो । परमेश्वरलाई निपूण कार्यकौशलताले भरिपूर्ण कलाकारको रूपमा देखाईएको छ । येशू प्रभुले जन्मैको दृष्टिविहिनलाई माटोमा आफ्नो थुक मुछेर नयाँ आँखाहरू बनाईदिनुभएको उदाहरणले यसमा अझै रोचकता थपिदिन्छ ! अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो (उत्पति १ः२६–२७) ! 

ख्रीष्टमससँग यो प्रसङ्ग रोचक रुपमा यसरी सम्बन्धित हुन्छः जुन माटोबाट परमेश्वरले मानिस बनाउनुभयो, एक दिन आफैँले त्यही माटो मुछेर बनाएको शरीर, अनि आफैँले जीवनको श्वास फुकेर आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनुभएको शरीरमा प्रकट हुने वाचा  थियो । अर्को शव्दमा भन्नुपर्दा, ईश्वरले अदनमा आदमको मानव शरीर बनाउनुमा यही देखिन्छ की एक दिन ईश्वर स्वयंम त्यही माटोको शरीरमा अवतरण भएर मानिससँग वास बस्न आउने प्रतिज्ञा थियो । मानिस बनाउनुको उद्देश्य नै यही थियो कि ईश्वरले एक दिन आफूले मानव अवतार लिएर आउने बाटो सुरुदेखि नै तयार गर्दै हुनुहुन्थो ! यो ईश्वरीय योजना, मनसुवा, र इच्छा तब पूरा भयो जब प्रभु येशू ख्रीष्ट मरियमको गर्भबाट माटोको शरीर लिएर ईश्वर मानव भएर जन्मनुभयोः मरियमले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन (लुका २ः७) । 

ख्रीष्टमस ईश्वरले मानव स्वभाव धारण गरेर हाम्रो दुर्बलता र सीमिततामा हामीसँग पहिचान गर्न आउनुभएको ईश्वरको कथा हो ! यो कथाको मुख्य पात्र तथा नायक अवतारी ईश्वर पुत्र येशू हुनुहुन्छ, जो असीमित भयतापनि हाम्रो खातिर सीमित बन्नुभयो, अतुलनीय भयतापनि तुलना गर्न सकिने बन्नुभयो, अदृश्य भयतापनि दृश्य बन्नुभयो, अनि अविनाशी भएतापनि नाशवान हुन आउनुभयो !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।


Post a Comment

Previous Post Next Post