करारको सन्दूक भित्र एक ओमेर मन्न अनि कोपिला लागेको हाडे बदामको हारुनको लठ्ठी थियो । सन्दूक बाहिर १ दिन पछि मन्न कुहिन्थ्यो, र किरा परीहाल्थ्यो, त्यही भएर मन्नलाई १ दिनमै खाईसक्नुपर्थ्यो, नत्र जलाउनुपर्थ्यो ! तर सन्दूक भित्र राखिएको मन्न्न न कुहिन्थ्यो न त किरा नै लाग्थ्यो, तर सधैँ ताजा रहीरहन्थ्यो ! यो इस्राएलीहरुको लागि चिन्ह थियो ! अर्को चिन्ह चाहिँ कोपिला लागेको लहुरो थियो : बिना माटो र जरा लहुरोमा फूल फुलिनै रहन्थ्यो ! परमेश्वरको जिउँदो उपस्थितिले गर्दा नै मन्न्न र लहुरो अस्वभाविक थियो !
मेरो विचारमा मन्न र लहुरो उत्कृष्ट अनन्त जीवनको प्रतीक हो ! सायद स्वर्गमा हुने पनि यस्तै होलाः परमेश्वरको उपस्थितिले हाम्रो जीवनलाई मन्नलाई जस्तै न कुहिन, न ओईलाउन, न सुक्न, न रितिन, न त किरा नै पर्न दिनुहुन्छ, तर बरु लहुरो जस्तै अनवरत, अनन्त, अविरल, र अटुट रुपमा हराभरा, स्वस्थ र बिना माटो र जरा फूल फुल्ने बनाउनुहुन्छ ! स्वर्गमा कुनै शारिरीक दुर्बलताहरु हुँदैनः न छाला चाउरी पर्छ, न आँखा धमिलो हुन्छ, न उमेर ढल्किन्छ, न त रोग र मृत्यु नै हुन्छ !
सिकाई : येशू ख्रीष्टसँग कलमी बाँधिएको मण्डलीको स्वर्गिय अविनाशी, अजम्बरी, र अनन्त जीवन दर्साउने यी दुई वास्तविक प्रतीकहरु साँच्चै नै अद्भुत छन !
