उद्वार केवल ईश्वरीय अनुग्रहद्वारा मात्रै ( Sola Gratia )


परिचयः

एउटा सानो मानवीय विचारलाई जब समाजले अँगाल्छ, तब यसले परम्पराको आकार लिन्छ । त्यसपछि सो परम्परा कानून बन्न पुग्छ, अनि संविधानमा संहिताबद्ध हुन्छ । राजनीति, दर्शन, कानून, र धर्ममा पनि यो कुरा लागु हुन्छ । पूर्व–सुधार क्याथोलिक चर्चमा ठ्याक्कै त्यस्तै भएको थियो । परम्पराहरू बाइबलको सत्यभन्दा बढी महत्वपुर्ण बन्न पुगे । फलस्वरूप, रोमन क्याथोलिक चर्चले अनगिन्ती मानवनिर्मित सिद्धान्तहरू र अभ्यासहरूलाई स्थापित गरे, जुन चर्च परिषदहरूले अन्धाधुन्ध रूपमा अनुमोदन गरिदिएका थिए । मध्ययुगलाई वास्तवमै क्याथोलिक सिद्धान्तहरूले अँध्यारो युग बनाईदिएको थियो, जसरी जे.सी. राईलले भन्नुहुन्छ,

रोमन क्याथोलीक चर्चको आराधना, संस्कारको आराधना, मरियमको आराधना, सन्तहरुको आराधना, प्रतिमाको आराधना, अवशेषको आराधना, र पुजाहारीको आराधनाको एक विशाल प्रणाली हो! एउटै शब्दमा भन्नुपर्दा, रोमनवाद एक विशाल संगठित मूर्तिपूजा हो !

रोमको चर्चले राज्यमाथि पूर्ण नियन्त्रण गरेको हुनाले तिनीहरूको परम्पराको विरुद्धमा बोल्नेहरूलाई झूटा र देशद्रोही भनेर आरोप लगाइयो र जिउदै काठमा झुण्डाएर जलाईयो । क्याथोलिक चर्चको मानवीय परम्पराले अनुग्रहको बाइबलीय सिद्धान्तलाई घाँटी मात्र निमोठेन, तर बरु त्यसलाई अपवित्र खिचडी बनाउनको लागि ईश्वरीय अनुग्रहमा मिसाइदिए । सुधारका महान नायकहरूले अनुग्रहको सिद्धान्तलाई क्याथोलिक चर्चको दुष्ट कालकोठरीबाट बाहिर निकाले । साथै तिनीहरूले अनुग्रहको सिद्धान्तलाई ‘केवल अनुग्रह’को रूपमा पुनः परिभाषित गरे !

अनुग्रहको अर्थ

अनुग्रह भनेको अयोग्य पापीलाई सित्तैको बरदान हो, जसले आफ्नो कर्मले कहिल्यै कमाउन वा योग्य बनाउन सकिदैन । हिब्रुमा, राखुम (רַחוּם) भन्ने शब्दले अनुग्रह वा दयाको विचारलाई व्यक्त गर्दछ । यसको मूल शब्द गर्भसँग सम्बन्धित छ, जसले गहिरो पालनपोषण र हेरचाहको शक्तिशाली चित्रलाई उजागर गर्दछ, जस्तै एउटी आमाले आफ्नी बच्चालाई प्रेमपूर्वक गर्भमा न्यानो पारेर राख्छिन् । यसले परमेश्वर र मानवजाती बीचको सम्बन्धलाई चरितार्थ गर्दछ, साथै दयालु अनुग्रहको गहिरो भावनात्मक र पालनपोषण पक्षहरूलाई पनि जोड दिन्छ । आमाले आफ्नी बच्चालाई सुरक्षित, स्वस्थ र न्यानो राख्न सम्पूर्ण भूमिका खेल्छिन्, जबकि बच्चाले गर्भमा जीवन र प्रेमको आनन्द लिईरहेको हुन्छ । ‘केवल अनुग्रह’को गहिरो अर्थ यस शक्तिशाली उदाहरणद्वारा व्यक्त गरिएको छः परमेश्वरले हाम्रो मुक्तिको लागि सबै प्रबन्ध गरिदिनुहुन्छ, र हामी केवल मुक्तिको बरदानको आनन्द मात्र लिन्छौं ! हामीले केही गर्न सक्दैनौ, तर परमेश्वरले सबै कुरा गरिदिनुुहुन्छ !

सुधार अघि ‘केवल अनुग्रह’को इतिहास

‘केवल अनुग्रह’को सिद्धान्तले प्रेरितहरुको समयदेखि विशप अगस्टिनको समयसम्म चर्चमा प्रभुत्व जमायो । ख्रीष्ट र उहाँका प्रेरितहरूले स्पष्ट रूपमा ‘केवल अनुग्रह’को सिद्धान्त सिकाए । फरिसी र कर उठाउनेको दृष्टान्तमा, ख्रीष्टले एकदमै राम्रोसित सिकाउनुभयो कि ईश्वरीय अनुग्रह मानव इच्छा वा कर्महरूमा निर्भर हुदैन, जसकारण यो कमाउन वा योग्य बनाउन सकिदैन । तर पापीलाई परमेश्वरको पूर्ण दान स्वरुप सित्तैमा दिइन्छ (लूका १८ः९–१४)। विरोधाभास स्पष्ट छः कथित फरिसी आफ्नो स्व–धर्मको अहंकारी हृदयको कारण दोषी ठहरियो, जबकि पापी कर उठाउने आफ्नो पश्चात्तापी हृदयको कारणले परमेश्वरद्वारा धर्मी घोषित भएर घर फर्कियो । व्यवस्थाको कामद्वारा धार्मिकता खोज्ने व्यक्ति अधर्मी नै रह्यो, जबकि व्यवस्थाको कुनै पनि धार्मिकता नभएको व्यक्तिले धार्मिकताको अनुग्रह प्राप्त गर्‍यो। येशूको स्पष्ट कुरा यो नै हो कि, अनुग्रह एक अयोग्य पापीलाई दिइन्छ, तर जो आफ्नो असल कामहरूमा निर्भर हुन्छ त्यो सधैंभरि अनुग्रहविहिन नै रहन्छ ।

पावल र अन्य प्रेरितहरूले ख्रीष्टको यहि शिक्षालाई पछ्याए । पावलले तर्क गरे कि यदि व्यवस्थाका कामहरुद्वारा धार्मिकता कमाउन वा योग्य बनाउन सकिन्छ भने, अनुग्रह अर्थहीन हुनेछ र त्यो अनुग्रह नै हुनेछैन । बरु, यो मानव इच्छा र शक्तिको कमाई मात्र हुनेछ, जसरी पावलले विपरित तर्क गरे, ‘अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो’ (रोमी ४ः४)। पावलले स्पष्ट रूपमा भने कि मुक्ति पूर्ण रूपमा विश्वासद्वारा परमेश्वरको अनुग्रहबाट प्राप्त हुन्छ, व्यवस्थाका कामहरूद्वारा होइन (एफिसी २ः८)। यदि उसको कामहरूद्वारा अनुग्रह कमाउन वा योग्य बनाउन सम्भव भएमा घमण्ड गर्ने पक्कै पनि ठाउँ हुनेछ (एफिसी २ः८), तर पावलको तर्कले प्रमाणित गरिदिन्छ कि घमण्ड गर्ने कुनै ठाउँ नै छैन, किनकि मुक्ति शुरु देखी अन्त्यसम्म नै परमप्रभुको हो (भजनसंग्रह ६२ः१)! पावलले आफ्ना पाठकहरूलाई विश्वासका पिता अब्राहामकहाँ लगेर आफ्ना तर्कहरूलाई थप बलियो बनाए । इस्राएललाई खतना र व्यवस्था दिइनुभन्दा ४३० वर्ष अघि अब्राहाम उनको विश्वासद्वारा धर्मी ठहरिसकेका थिए (उत्पत्ति १५ः६, रोमी ४ः३)।

ख्रीष्टबाट प्रेरितहरूले सिकेका शिक्षाहरू चर्चका पिताहरूलाई हस्तान्तरण गरिएको थियो । अगस्टिनले ब्रिटिश सन्त पेलागियसको विरोध गर्दा पनि उही अडान लिए । पेलागियसले आदमको पतनबाट उत्पन्न वंशाणुगत पाप र मानव स्वभावको भ्रष्टतालाई पूर्णरुपमा अस्वीकार गरे । उनले मानिसको पूर्ण भ्रष्टताको सिद्धान्तलाई ओझेलमा पारे, र उनले विश्वास गरे कि मानिस अनुग्रहको प्रतिक्रिया दिन नैतिक रूपमा सक्षम छ । पेलागियसले दृढतापूर्वक तर्क गरे कि मानिस पापमा मरेको छैन, तर जीवित नै छ, त्यसैले उसले ईश्वरीय सहायता र हस्तक्षेपबिना नै अनुग्रह चुन्न सक्छ । अनुग्रहका डाक्टर, अगस्टिनले उनको सिद्धान्तलाई ठाडो अस्विकार गरे र त्यसलाई गलत साबित गरिदिए । उनका अनुसार, मानिस कोमामा छैन, तर पापमा पूर्णरुपमा मरेको छ; फलस्वरूप, उसको इच्छा पापको बन्धनमा छ, जसले गर्दा स्वभाविकरुपमा दुष्टतालाई रोज्छ । केवल परमेश्वरले मात्रै उसको इच्छा नवीकरण गरेर, अनुग्रहलाई अङ्गाल्ने तुल्याएर नयाँ जीवन प्रदान गर्न सक्छ । यसैकारण अनुग्रह पूर्ण र विशुद्ध रूपमा परमेश्वरको वरदान हो, जसरी उनले लेखे,

अनुग्रह मानवजातिको लागि परमेश्वरको प्रेम र कृपा हो । यो एउटा यस्तो अनुग्रह हो जुन हामीले पाउन योग्य छैनौं, तर हामीलाई उपलब्ध गराइएको छ। यसले व्यक्तिको भित्री हृदय र इच्छालाई छुन्छ। यसले तिनिहरुका जीवनलाई मार्गदर्शन गर्छ जो विश्वासयोग्य हुन बोलाइएकाहरु छन ।

संक्षेपमा भन्नुपर्दा, ईश्वरीय सार्वभौमिकताले उद्वारको कार्यमा शतप्रतिशत भूमिका खेल्छ, जबकि मानवले  पनि भूमिका खेल्नसक्दैन । जोनाथन एडवड्र्सले उपयुक्त रूपमा यसरी भनेका छन्, “तपाईंले आफ्नो मुक्तिमा पापबाहेक केही योगदान पुर्‍याउन सक्नुहुन्न, जसले मुक्तिलाई आवश्यक बनायो।’’ यो बहस सुधारको युगसम्म चलिनैरह्यो।


क्याथोलिक ईश्वरशास्त्रमा प्रायश्चित र अनुग्रहको सिद्धान्त

सुधारको युगमा सहकार्य गर्ने अनुग्रह (Cooperative grace) र कार्यकारी अनुग्रह (Operative grace) बीचको बारेमा ठुलो युद्ध लडिएको थियो। यद्दपी क्याथोलिक चर्चले मुक्तिमा अनुग्रहको अपरीहार्यतालाई कहिल्यै अस्वीकार गरेनन, तर उनीहरूले मुक्तिमा ‘केवल अनुग्रह’को सिद्वान्तलाई लत्याए ! उनीहरुले दाबी गरे कि मुक्ति मानिस र परमेश्वरको सयुक्त समन्वयात्मक कार्य होः परमेश्वरले तपाईंलाई अनुग्रह प्रदान गर्नुहुन्छ, र तपाईंले ख्रीष्टको धार्मिकताको सहायताद्वारा योग्यतापनि कमाउनुपर्छ । तस्पश्चात मात्र ख्रीष्टको धार्मिकता र तपाईको असल कार्यको समिकरणद्वारा तपाईलाई परमेश्वरले धर्मी बनाउनुहुन्छ ! यो अवधारणा व्यक्त गर्न, तिनीहरूले एउटा वाक्यांश प्रयोग गरे, जुन ‘‘ख्रीष्टको धार्मिकताको सहकार्यता’’ ( Infusion of Christ’s righteousness) हो— यो धार्मिकताले पापीहरूलाई मुक्तिको लागि असल कामहरू गर्न सशक्त बनाउछ । यसो गर्दैगर्दा, तिनीहरूले ख्रीष्टको धार्मिकता आरोपण (Imputation of Christ’s righteousness) को सिद्धान्तलाई अवहेलना गरे— जुन धार्मिकताले पापीहरूलाई व्यवस्थाको कर्महरुबिना नै धर्मी ठहर्‍याउँछ । मुक्ति ईश्वरिय अनुग्रह र मानवीय योग्यता बीचको तालमेल हो भन्ने क्याथोलिक चर्चको यो बुझाई ‘केवल अनुग्रह’ को विपरित र विरुद्ध छ !


क्याथोलिक ईश्वरशास्त्रमा प्रभुभोज र अनुग्रह

रोमको चर्चले अनुग्रह प्रभुभोजमा घोलिएको छ भनेर पनि दाबी गरे । परिणामस्वरुप, पापीहरूले रोटी र दाखरस मार्फत ईश्वरीय अनुग्रह प्राप्त गर्दछन । तिनीहरुले प्रभुभोजको तत्वहरूलाई अलौकिक अनुग्रहको स्रोत र साधन दुबै बनाएदिए ! यो सिद्धान्तले प्रभुभोजलाई ख्रीष्टभन्दा माथि मात्र उचालेन, तर बरु रोटी र दाखरसले ख्रीष्टलाई पनि विस्तापन गरिदियो । यो अबाइबलिय सिद्वान्तले अनुग्रहको सिद्धान्तलाई अवमुल्यन गर्नुका साथै प्रभुभोजलाई गैरबाइबलीय तरीकाले बढावा दिने काम गर्‍र्यो !

क्याथोलिक ईश्वरशास्त्रमा मरियमशास्त्र र अनुग्रह

अङ्ग्रेजीमा चार ‘I’ ले रोमन क्याथोलिक चर्चको शिक्षालाई असर पारेको छः कन्या मरियमको दोषरहीत गर्भधारण (Immaculate Conception of the Virgin Mary), पोपको अपतनियता (Infallibility of the Pope), सन्तहरूको मध्यस्थकर्ता (Intermediaries of the Saints), र पापमोचन पत्रहरुको दुरुपयोग (Indulgences) । क्याथोलिक चर्चलाई खोक्रो पार्र्ने सबै सिद्धान्तहरूमध्ये मरियमशास्त्र एक प्रमूख हो, जुन विलिभर्स ईष्टर्न अर्थोडक्स चर्चले पनि अबलम्बन र प्रर्वद्धन गर्छिन । यो सिद्वान्तअनुसार मरियमलाई स्वर्ग जानको लागि चाहिने भन्दा बढी योग्यताहरु (Merits) कमाएको विश्वास गरिन्छ । अनि उनीलाई अनुग्रहको भण्डारको रूपमा हेरिन्छ ! यदि कसैले उनको नाउँमा प्रार्थना गर्‍यो भने उनीबाट अनुग्रहको पानी उघाएर स्वर्ग जानको लागी अपुग योग्यताहरु सापटी लिन सकिने विश्वास छ । थप, मरियमले आफ्नो पार्थिव जीवनको यात्रा पूरा गरिसकेपछि, र उनको मृत्यु लगत्तै शरीर र आत्मामा स्वर्गीय महिमामा प्रवेश गरेर परमेश्वर र मानिस बीच मध्यस्थता गर्न ख्रीष्टसँग सह–मध्यस्थकर्ता गर्न सकृय भईन भन्ने विश्वास रहेको पाईन्छ । यी सबै मानवनिर्मित शिक्षाहरूले अनुग्रहको बाइबलीय सिद्वान्तलाई प्रहार गरेर कमजोर बनाइदिएको छ । यसरी, क्याथोलिक चर्च र अर्थोडक्स चर्चले सबै प्रकारका झूटहरू भित्राउन आफ्‌नो ढोका फराकिलो बनाएको थिए ।

सुधारिएको ईश्वरशास्त्रमा ‘केवल अनुग्रह’

सुधारवादी अभियान वास्तवमा प्रेरितिय शिक्षा र अभ्यासहरू अनुसार मुक्तिको सिद्धान्तको सुधार र पुनर्स्थापना भन्न सकिन्छ । विशेषगरी, मार्टिन लुथर, जोन क्याल्भिन र उलरिच ज्विंगलीले क्याथोलिक सिद्धान्तहरूको विरोध गरे । तिनीहरूले धर्मशास्त्रलाई हरेक सिद्धान्तको जाँच गर्ने मापदण्डको रूपमा हेरे । यो मापदण्डलले बाइबलसँग मेल नखाने सबै मानवनिर्मित परम्पराहरूलाई गलत प्रमाणीत गरिदिए ।

सुधारवादी पिताहरु ख्रीष्ट र उहाँका प्रेरितहरूको पाइलामा विश्वासिलो भएर हिँडे । तिनीहरूले तर्क गरे कि मानिस केवल ईश्वरीय दानको प्रापक मात्र हो जसले मुक्तिको कार्यमा कुनै भूमिका खेल्दैन वा खेल्न सक्दैन। तथापि, अनुग्रह निःशुल्क छैन! मानिसले यो सित्तैमा प्राप्त गर्यो तर कसैले यसको लागि ठूलो मूल्य चुकाउनुपर्यो । हाम्रो लागि अनुग्रह कमाउन र योग्य बनाउनको लागि बलिदानी मूल्य चुकाउने केवल ख्रीष्ट हुनुहुन्थ्यो । क्रूसमा ख्रीष्टको दण्डनीय प्रतिस्थापनको (The Doctrine of the Penal Substitution) कारणले गर्दा हामीलाई अनुग्रह दिईयो । अर्को शब्दमा भन्नुपर्दा, यदि ख्रीष्ट क्रूसमा नमर्नुभएको भए, पापीहरूको लागि अनुग्रह कहिल्यै उपलब्ध हुने थिएन। वास्तवमा, मुक्ति कामहरूद्वारा हो, तर यो हाम्रा कामहरूद्वारा होइन, तर परमेश्वरका पुत्र ख्रीष्टका कामहरूद्वारा मात्रै हो, जसमाथि हामीले मुक्तिको लागि विश्वास र आस्था राख्छौं (रोमी ३ः२३–२६, यूहन्ना ३ः१६)। ख्रीष्टको महान बलिदानले पापको प्रायश्चित गर्‍यो, अनि परमेश्वरको न्यायलाई अनि उहाँको व्यवस्थाको उचित मागहरूलाई पनि पूर्णरुपमा सन्तुष्ट गरिदियो । फलस्वरुप, पापको क्षमा, धर्मीकरण र परमेश्वरसँग मिलाप सम्भव भयो ।

ख्रीष्ट हाम्रो मुक्तिको लागि मात्र मर्नुभएन, तर हाम्रो धार्मिकताको लागि पनि जीउनुभयो (२ कोरिन्थी ५ः२१)। उहाँ हाम्रो प्रायश्चितको बलिदान ( निष्क्रिय आज्ञाकारिता) को रूपमा क्रूसमा मर्नुभयो, र हाम्रो धार्मिकताको लागि व्यवस्थाको मागहरू पूरा गर्न उहाँले पापरहित जीवन जीउनुभयो (सक्रिय आज्ञाकारिता) (रोमी ८ः४)। उहाँको सक्रिय र निष्क्रिय आज्ञाकारिताले हाम्रो उद्वारलाई चाहिने अनुग्रह कमाएर हामीलाई अनन्त जीवनको भागिदार बनाईदियो, किनभने उहाँ हाम्रो प्रतिनिधिक बलिदान र प्रतिनिधिक व्यवस्थापालक हुनुहुन्छ (रोमी १०ः४)। अर्को शब्दमा भन्नुपर्दा, ख्रीष्टको सकृय र निष्कृय आज्ञाकारीतामा पापीलाई सधैँको लागी कलमी बाँधिदियो ! सुधारकहरूका अनुसार, ख्रीष्टका यी सबै उपलब्धिहरू पापीहरूको खातामा आरोपण गरिएको छ, र तिनीहरूका पापहरू ख्रीष्टको खातामा आरोपण गरिएको छ । यो दोहोरो आरोपण हो ! ख्रीष्टको धार्मिकताको आरोपणको सद्गुणहरुको खातिर परमेश्वरले अब हाम्रो पाप देख्नुहन्न, तर बरु उहाँले हामीमा ख्रीष्टको धार्मिकता देख्नुहुन्छ । यसरी परमेश्वरले हामीलाई व्यवस्थाका कामहरू बिना नै धर्मी घोषणा गर्नुहुन्छ वा ठहर्‍याउनुहुन्छ । क्याथोलिक सिद्धान्तले दाबी गरेझैं, परमेश्वरले ख्रीष्टको धार्मिकताको प्रभावद्वारा हामीलाई धर्मी बनाउने होइन, तर बरु ख्रीष्टको धार्मिकताको आरोपणद्वारा परमेश्वरले हामीलाई धर्मी घोषणा गर्नुहुन्छ । ख्रीष्टको धार्मिकता मात्र हाम्रो मुक्तिको एक मात्र कारक र आधार हो । त्यसकारण असल कामहरू मुक्तिको फल मात्रै हुन्, क्याथोलिक सिद्वान्तले सिकाएको जस्तो मुक्तिको कारक र आधार हुँदैहोइन । अर्को तरिकाले भन्नुपर्दा, असल कामहरू हाम्रो प्रगतिशील पवित्रीकरणलार्ई सहायता गर्ने माध्यमहरु मात्र हुन, तर हाम्रो धर्मिकरणको लागी होइन । न असल कामहरुले धर्मिकरणलाई प्रभावित पार्नसक्छ, न त त्यसमा केही थप्न नै सक्छ । पवित्रीकरण एउटा प्रक्रिया हो जबकि धर्मिकरण नदोहोरिने निश्चित कार्य हो— त्यो कार्य जसद्वारा परमेश्वरले पापीलाई पापको अवस्था (Injustice) बाट अनुग्रहको अवस्थामा ( Justice) सार्नुहुन्छ । कथित मिश्रीत क्याथोलिक सिद्धान्तले पवित्रीकरणलाई धर्मिकरणसँग मिसाएर भ्रम छर्ने काम मात्र गरेको छ ।

सुधारवादी पिताहरूले क्याथोलिक तत्वपरिवर्तनको सिद्धान्त ( Doctrine of Transubstantiation), अर्थात रोटी र दाखरस वास्तवमै येशू ख्रीष्टको देह, रगत र ईश्वरत्वमा परिणत हुन्छ भन्ने शिक्षाको मात्र विरोध गरेनन, तर त्यो अनुग्रहको स्रोत हो भन्ने कुराको पनि खुल्लमखुल्ला विरोध गरे । क्याथोलिक शिक्षाले प्रभुभोजमा अनुचित र अत्यधिक जोड दिएर ख्रीष्टलाई ओझेलमा पार्ने काम गरे। तर सुधारवादीहरुले ख्रीष्टलाई आफ्नो प्रचार र ईश्वरशास्त्रको केन्द्रमा राखे । ख्रीष्टले सक्रिय र निष्क्रिय आज्ञाकारिताद्वारा कमाउनु भएको पर्याप्त र असिमित योग्यता उद्वारको लागी ईश्वरीय अनुग्रहको एक मात्र स्रोत हो । कथित क्याथोलिक चर्चको योग्यताको खजानाको सिद्वान्त (Treasure of Merits) अर्थात् मरियम र सन्तहरूका योग्यताहरु, अनि तिनीहरूका अस्थिहरुको श्रद्धाबाट आउने योग्यताहरु केवल कपोकल्पित मानव आविष्कारहरू र मिथ्यकथाहरु मात्र हुन । यसरी सुधारकहरूले मण्डली र ईश्वरशास्त्रमा सुधार ल्याउन विभिन्न तरिकाले योगदान गरे र कतिले बलिदान नै गरे । अनुग्रहको महिमित सिद्धान्तलाई सुधारवादी पिताहरुले मानव निर्मित अबाइबलिय परम्परासँग मिसिनबाट मात्र जोगाएनन, तर अनुग्रहको सिद्वान्तलाई पुनःजागृत गर्न र पुनः पत्ता लगाउन आफ्नो जीवनको आहुतीसम्म दिए ।

निष्कर्षः

क्याथोलिक चर्चले उल्टो पारेको कुरालाई सुल्टो बनाउन नै सुधारवादी क्रान्ती भएको थियो । अनुग्रहको सिद्धान्तको सन्दर्भमा यो एकदम सत्य हुन्छ । सुधारकहरूले अनुग्रहको महिमालाई पुनः पत्ता मात्र लगाएनन्, तर क्याथोलिक चर्चले भ्रष्ट र दुरुपयोग गरेको अनुग्रहको सिद्वान्तलाई पनि सच्याउने काम गरे । वर्तमान समयमा पनि नेपाल र भारतमा झुटा समूहहरू धेरै छन् जसले कुनै न कुनै रूपमा त्यस्तै हर्कत गरिरहेका छन । विलिभर्स ईष्टर्न अर्थोडक्स चर्चले मरियको यो अबाइबलीय सिद्वान्तलाई गर्वसाथ वकालत मात्र गरिरहेका छैनन, तर यसलाई प्रचारप्रसार गर्न मरिमेटिरहका छन । यो सरासर बाइबल विरोधी कल्ट (Cult) हो । त्यसैले सुधार अझै सकिएको छैन । झुटो शिक्षकहरुले अनुग्रहको महिमित सिद्वान्तलाई आफ्‌नो झुटो कुसुसमाचार र अबाइबलिय अभ्यासहरुद्वारा अवमुल्यन र दुरुपयोग गर्दै आएका छन । यसकारण मण्डलीको प्रमुख जिम्मेवारी र भूमिका भनेको झुटा शिक्षाहरु र शिक्षकहरु विरुद्ध खडा भएर तिनिहरुको खण्डन गर्नुका साथै अनुग्रहको सुसमाचारलाई प्रर्वद्धन गर्नु हो ।

Post a Comment

Previous Post Next Post