रोचक प्रसङ्ग : ख्रीष्टियन विश्वासीहरु महान सम्राट र सेनापति येशूको योद्धाहरु हुन् !



विश्वासीहरु सारा हातहतियारहरुले सुसज्जित भई शैतानको र उसको योजनाहरु बिरुद्ध विश्वासको उत्तम लड़ाइँ लड्न खटाईएका सेनाहरू हुन् । हाम्रो एकमात्रै उद्देश्य भनेर आफ्नो सम्राट र सेनापति येशूलाई प्रसन्न पार्नु हो। 

रोमको योद्धाहरु लड्ने रंगशाला जसलाई  कलोसिएम भनिन्थ्यो, त्यहाँ गलडियाटरहरु (Gladiators) आफ्नो सम्राटको महिमाको लागि मृत्युपर्यन्त प्रतिस्पर्धा गर्थें । उनीहरूको दिनरातको कठोर प्रशिक्षण पश्चात् आफ्नो सम्राटको तरवार तिर हात तेर्साएर सपथ खाना लगाइन्थ्यो । उनीहरूले यसरी प्रतिज्ञा र प्रण गर्थेः जीवन र मृत्युमा, दुःख र सुखमा, लडाइँमा तरवारले काटेर मारिनु परेतापनि म मेरो सम्राटप्रति वफादार रहनेछु, अनि उहाँकै महिमाको खातिर जिउनेछु र मर्नेछु ! यो वाचा लगत्तै आगोमा तताएर राखेको सम्राटको चिन्हले उनीहरूको शरीरमा डामिदिन्थ्यो ( छाप लगाईन्थ्यो) । सो सपथ र चिन्हले त्यो गलडियाटर आजीवन सम्राटको योद्धा हुन्थ्यो । 

सबैभन्दा रोचक यो छः गलडियाटरहरुले सपथ लिँदा जुन शब्द (sacramentum) ल्याटिनमा चलाईएको थियो, त्यही शब्द बप्तिस्माको लागि पनि चलाईएको छ । यसले यही देखाउँछ : सम्राट येशू प्रभुमा बप्तिस्मा लिनेहरु सबैजना उहाँको योद्धाहरु हुन, अनि यिनिहरु शैतान र उसका सेनाहरू, अनि शरीरका अभिलाषा, आँखाको अभिलाषा, र जीवनको शेखी विरुद्ध युद्ध गर्न खटाइएका आत्मिक सेनाहरू हुन् ! हाम्रो युद्ध मासु र रगतको विरुद्धको  शारीरिक हैन, तर आत्मिक हो !  यति मात्रै हैनः यी योद्धाहरूको शरीरमा सम्राट येशूको चिह्न डामीएको छ, जुन बप्तिस्मा हो । त्यही भएर प्रेरित पावलले यसरी भनेका छन् : अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु (गलती ६ः१७) !

यो सन्दर्भ नबुझिकन बप्तिस्माको गहिरो अर्थ बुझ्नै सक्दैन, किनभने बप्तिस्मा लिँदा विश्वास स्वीकार गर्नुपर्छ अर्थात् सपथ र प्रतिज्ञा गर्नुपर्छ (वास्तवमा विश्वासको सार यसैको लागि लेखिएको थियो) र चिन्हको लागि पानी प्रयोग गरिन्थ्यो । यसरी हरेक जसले प्रभु येशूमा बप्तिस्मा लिएका छ, तिनीहरू उहाँको आजीवन र अनन्तका योद्धाहरु हुन्, र जीवन र मृत्युमा आफ्नो मुक्तिको कप्तानको महिमाको लागि युद्ध गरिरहनुपर्दछ । कति जना सहिद हुन्छन त्यो पनि उहाँकै महिमाको लागि हुन्छन् !  त्यही भएर पनि ख्रीष्टको मण्डलीलाई मिलिटरी मण्डली (Church Militant) भनिएको हो ! 

सिकाई : तपाईंलाई तपाईंको सम्राट, सेनापति, र कप्तानले आफ्नै सारा हातहतियारले सुसज्जित गरेर गलडियाटर बनाउनु भएको कारण नै विजयको लागि हो । त्यही भएर वफादार योद्धा भएर उहाँको महिमाको लागि विश्वासको उत्तम लड़ाई लड्नुहोस् ।

- सुरज कासुला


Post a Comment

Previous Post Next Post