रोचक प्रसङ्ग : विश्वासको साक्षीको रुपमा योसेफ ।


योसेफको साधारण जीवन असाधारण आशिषहरुले भरिपूर्ण थियो । विश्वास के हो र विश्वासको अभ्यास र आशा कसरी गर्नुपर्छ भनेर यदि कोहीबाट सिक्नु छ भने त्यो पात्र हो योसेफ ! आफ्नो मृत्युपूर्व योसेफले दाजुभाईहरुलाई आफ्नो मृत्युपछि अस्थीहरु मिश्रमा नछोड्नु तर प्रतिज्ञाको देशमा लगेर गाड्नु भनेर सपथ खाना लगाएका थिए ! ३०० वर्ष अगाडि परमेश्वरले अब्राहामसँग करार बाँधेर गर्नु भएको प्रतिज्ञालाई पूर्णरूपमा विश्वास गरी मृत्युपूर्व योसेफले आफ्नो अस्थीहरुको बारेमा आज्ञा दिएका थिए ।

रोचक यो छ कि ४० वर्षसम्म मरुभूमिको यात्रामा इस्राएलीहरु योसेफका अस्थिहरु बोकेर हिँडिरहेका थिए ! यो उनीहरुको लागि दृश्य इश्वरीय चिन्ह थियो । तरैपनि जिउँदो मानिसहरूको अविश्वासले गर्दा मृतक योसेफको अस्थीहरुले पनि दुःख मात्रै पाए, विश्राम पाएनन ! सबै भन्दा रोचक यो छ कि एक जना मृतकको अस्थीहरुले लाखौं जिउँदो इस्राएलीहरुलाई गिज्याइरहेको थियोः बरु मृतक हड्डीहरुलाई विश्वास थियो कि परमेश्वरले इस्राएललाई प्रतिज्ञाको देशमा लानुहुन्छ भनेर, तर जिउँदोहरुलाई पटक्कै विश्वास थिएन । जिउँदोहरुलाई मृतक हड्डीहरुले व्यंग हान्दै थियो : योसेफको मृतक अस्थीहरु दूध र मह बग्ने देशमा गडिन उत्सुक थिए, तर जिउँदो इस्राएलीहरु दासत्वको देश मिश्रमा नै फर्किन तल्लीन थिए । जिउँदो असंख्य मानिसहरु भन्दा एक जना मृतकको विश्वास बडो गजबसँग देखाइएको छ । 

कति पल्ट हामीलाई जाबो भोलि हुने कुराको त विश्वास गर्न गाह्रो हुन्छ । परमेश्वरको वचनमा लेखिएता पनि विश्वास गर्न सजिलो हुँदैन ! तर योसेफ यस्तो पात्र थिए जसले परमेश्वरको प्रतिज्ञालाई पूर्ण रुपमा विश्वास मात्रै गरेनन्, तर त्यो विश्वासको आशामा पनि रमाए, अनि सयौँ वर्ष सम्म धैर्य धारण पश्चात्  उनको अस्थीहरुले अन्तत विश्राम पाए अर्थात् आफ्नो  विश्वासको फल पाए ! त्यही भएर हिब्रुको लेखकले विश्वास भनेको आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो (हिब्रु ११ः१) भन्दछ, जुन योसेफको जीवनसँग ठ्याक्कै मेल खान्छ ! 

सिक्नु पर्ने पाठ : कतिपल्ट आफ्नो विश्वासको फल पाउन लामो समय धैर्यधारण गर्नुपर्ने रहेछ !

- सुरज कासुला



Post a Comment

Previous Post Next Post