रोचक प्रसङ्गः दुलहा (येशू ख्रीष्ट) स्वर्गको वैभव छाडेर पृथ्वीमा आफ्नी दुलही खोज्न आउनुभयो !



 परमेश्वरले आदमलाई माटोबाट बनाउनुभयो, अनि त्यसपछि आदमको करङबाट सुहाउँदो सहयोगी हब्बा बनाउनुभयो ! आदमको शरीरबाट निकालिएको हुनाले मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो । तिनलाई स्त्री भनिनेछ । किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌” (उत्पति २ः२३) ! यसलाई यसरी भनौ, पतिको शरीरबाट सहयोगी जोडी पत्नी निकालियो ! 

रोचक के छ भने यो पति पत्नीको घनिष्ट प्रेम सम्बन्धलाई पुरानो नियम र नयाँ नियम दुवैमा देखाइएका छ : प्ररमप्रभु परमेश्वर इस्राएलको पति (दुलहा) हुनुहुन्छ भने मण्डली येशू ख्रीष्टको दुलही हो ! प्रेरित पावलले यो प्रसङ्गलाई प्रस्टसँग लेखीदिनुभएको छ : त्यसरी नै पतिहरूले पनि आ–आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ । किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनभने हामी उहाँका शरीरको अङ्ग हौं। “यसकारण मानिसले आफ्ना आमा–बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।” यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस् (एफिसि ५ः२८ः३३) । 

मण्डली र ख्रीष्टको एकताले गर्दा दुलही (मण्डली) दुलाह (येशू ख्रीष्ट) को आफ्नै शरीर भएको छ, र दोस्रो र अन्तिम आदम ख्रीष्टले पनि आफ्नो दुलहीलाई भन्नुभयो, ‘तिमी मेरै हाड़को हाड़ र मासुको मासु हो (उत्पति २ः२३) ।’ यसको अर्थ यही हुन्छ कि आदम र हव्वाको वैवाहिक एकताले ख्रीष्ट र मण्डलीको चित्रण र चरितार्थ दुवै गरिदिन्छ, अनि यही ख्रीष्ट र मण्डलीको एकतालाई एक दिन प्रस्तुत गर्न नै आदमको करङबाट परमेश्वरले स्त्री बनाउनुभएको थियो ! 

यो भन्दा अझै रोचक के छ भने अदनमा आदमको करङबाट हब्बा बनाउन निकालियो, तर बेथलेहेममा पस्रिनुभएको बालक येशू मण्डलीको दुलहा हुनहुन्छ, जसमा मण्डली आफ्नो दुलहाको शरीरमा पुनः जोडियो, अर्थात् ख्रीष्टको करङ पुनः आफ्नो ठाउँमा फर्कियो !  यसरी मण्डली ख्रीष्टको शरीर भयो ! अर्को शव्दमा भन्नुपर्दा, ईश्वरको पुत्र येशूमा मानव स्वभाव जोडेर एक व्यक्ति बन्नु नै ईश्वरीय स्वभावमा मण्डली जोडिनु हो, जसलाई हाईपोस्टाटिक एकता (Hypostatic union) भनिन्छ ! मण्डली विना ख्रीष्ट दुलहीविहिन अर्थात् शरीरविहिन भएर एक्लै हुन्थ्यो, तर आफ्नो शरीर अर्थात् दुलहीले ख्रीष्टलाई पूर्णता दियो ! मतलब, मण्डलीबिना ख्रीष्ट शरीररहित हुन्छ भने ख्रीष्टविना मण्डली शिररहित हुन्छ, तर एकले अर्कोलाई पूर्णता दिएर सिङ्गो शरीर निर्माण गरिदिन्छ, जुन ख्रीष्टको अवतारमा अर्थात् ईश्वर र मानवको एकतामा एक व्यक्तिको जन्ममा सिद्ध हुन्छ ! त्यही भएर मण्डलीको महिमा हाईपोस्टाटिक एकता (Hypostatic union) हो भन्न सकिन्छ ! 

यसरी आदम र हब्बाको कथा ख्रीष्टमससँग जोडिन्छ ! ख्रीष्टमस दिव्य दुलहाको जन्मको कथा हो, जो स्वर्गको वैभव छाडेर पृथ्वीमा आफ्नी दुलही खोज्न आउनुभयो ! यो दुलहाले आफ्नी दुलहीलाई भेटाउनु मात्रै भएन, तर दुलहा येशू ख्रीष्टले आफ्नी दुलही मण्डलीलाई वैवाहिक सम्बन्धद्वारा आफ्नो शरीरमा अनन्तको लनगी गाभेर आफ्नो शरीरको अंश अर्थात् रगत र मासु पनि बनाइदिनुभयो । त्यो भन्दा बढी, ख्रीष्टले आफ्नो शरीरको पवित्रता, धार्मिकता, स्वर्गिय आशिष, र ईश्वरीय स्वभाव मण्डलीमा प्रसारण गरी ती आशिषहरुमा मण्डलीलाई अनन्तको लागि सहभागी, सामेल, सम्मिलित र समावेश गरिदिनुभयो !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post