अदनमा मानिस र परमेश्वर बीचको सम्बन्ध पारिवारिक थियो । आदमलाई परमेश्वरको छोरा भनिएको छ (लुका ३ः३८), किनभने आदम परमेश्वरको स्वरूप र प्रतिरुपमा सृजिएका थिए, जसरी आदमको छोरा शेत उसको बुबा आदमको प्रतिरुपमा सृजिएका थिए । हिब्रुमा चलाईएको शब्द एउटै हो (हेर्नुहोस् उत्पति ५ः३) ! आफ्नो सन्तानलाई असल बुवाले घर (अदनको बगैँचा) बनाईदिनुका साथै सम्पूर्ण पारिवारिक प्रेम र प्रबन्धले मानिस भरिपूर्ण थियो !
त्यो सुन्दर र हराभरा परिवार तब ध्वस्त भयो, जब मानिसले बुवाको आज्ञा उलङ्घन गरी शैतानको कुरा सुनेर निषेधित फल खाए । पिता र पुत्रको सम्बन्ध दुश्मनीमा परिणत भयो, र मानिस आफ्नै बुवाको विरोधी र विद्रोही भएर जीवनको फलबाट मात्रै वञ्चित भएनन, तर परमेश्वरको पारिवारिक सुरक्षा र शान्तिबाट पनि वञ्चित भएर आफ्नै घरबाट लघारिए !
मानिसको पाप र अपमानको बाबजुत अनुग्रही पिता परमेश्वरले अदनमा भत्केको सम्बन्धलाई पुर्नस्थापना र पुननिर्माण गर्न आफ्नो स्वभाविक दिव्य पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो (युहन्ना ३ः१६) । येशू ख्रीष्ट परमेश्वरको सन्तानहरूको जेठो दाजु भएर आफ्नो भाइबहिनीहरुलाई दुष्ट सैतानबाट छुटकारा दिएर तिनीहरूलाई बटुल्न र अदन भन्दापनि महान महिमामा डोर्याउन उहाँले मानव अवतार धारण गर्नुभयो, जसलाई हिब्रुको लेखकले बडो रोचक ढंगमा प्रस्तुत गर्नुभएको छ, जसलाई हामी हिब्रुको पत्रको ख्रीष्टमस भन्न सक्छौः
यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो। किनकि पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न। उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” र फेरि, “म उहाँमाथि मेरो भरोसा राख्नेछु।” र फेरि उहाँ भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोरा–छोरीहरू।” किनकि छोरा–छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्, र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ। १७यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो…(हिब्रु २ः१०–१७) !
मरियमको गर्भबाट देहधारी जेठो छोरा वास्तवमै मण्डलीको जेठो दाजु हुनुहुन्छ, जसले शैतानलाई पराजित गरी आफ्नो भाईबहिनीहरुलाई फेरि पनि पारिवारिक सम्बन्धमा जोड्न मात्रै हैन, तर अदनको वास्तविकता अर्थात् स्वर्गमा लान आउनुभयो । त्यतिमात्रै हैन, आफ्नो स्वर्गीय वैभव र महिमा आफ्नो भाईबहिनीहरूसँग बाडचुड गरेर तिनीहरूलाई पनि आफूजस्तै स्वर्गीय उत्तराधिकरी र अंशियार बनाउन मानव चोला धारण गर्नुभयो (हेर्नुहोस रोमी ८ः१७, गलाती ३ः२९) !
त्यसैले ख्रीष्टमस परमेश्वरको छोराछोरीहरुको जेठो दाजुको अवतारको कथा हो, जसले आफ्नो पारिवारिक धर्म निर्वाह गर्नुभयो ! यो आफ्नो भाईबहिनीहरुलाई प्रेम गर्न कुनै कसर बाँकी नराख्नुहुने ठूलो दाईको कथा हो ! त्यसैले त भनिन्छ, ईश्वरको पुत्र मानव बन्नुभयो ताकि मानवको पुत्र ईश्वरको पुत्र हुन सकियोस् (हेर्नुहोस् युहन्ना १ः११–१४, हिब्रु ३ः५) !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
