यहोशू इस्राएली सेनाहरुका सुरवीर सेनापति थिए, जसले इस्राएलीहरुलाई दूध र मह बग्ने प्रतिज्ञाको देश कनानमा अगुवाइ गरे ! तर यो सेनापतीको जम्काभेट परमप्रभुको सेनाहरुका सेनापतीसँग हुन्छ, जसले नाङ्गो तरवार लिएर यहोशूलाई सहायता गर्न आएका हुन्छन् । अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई यस्तो भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्, किनकि तँ उभिएको ठाउँ पवित्र छ ।” अनि यहोशूले त्यसै गरे (यहोशू ५ः१५) !
यही वाणी मोशालाई पनि भनिएको थियो । तर एउटा रोचक फरक यस्तो छ, जुन नेपाली बाइबलमा देखाईएको छैनः हिब्रु बाइबलमा मोशालाई दुवै जुत्ता फुकाल्न आदेश दिइएको थियो (प्रस्थान ३ः५) भने यहोशूलाई एउटा मात्रै जुत्ता फुकाल्न भनिएको छ ! यो भिन्नतामा एउटा गम्भीर महिमित रहस्य लुकेर बसेको छ : एउटा मात्र जुत्ता फुकालेर दिने चलन रूथको पुस्तकमा पाउँछौ । नाओमीको नजिकको नातेदारले आफ्नो कर्तव्यबाट पन्छिएर आफ्नो दायित्व अरूलाई सुम्पिन्दा यस्तो एउटा जुत्ता फुकालेर दिने चलन थियो (रूथ ४ः७) । यसरी नजिकको नातेदारको जिम्मा बोअजको काँधमा आइपर्छ र त्यो उसले पूरा गरेर रूथलाई आफ्नो पत्नीको रूपमा ग्रहण गर्छन् ।
रोचक यो छ : यहोशूले पनि सम्पूर्ण युद्ध र विजयको जिम्मा साथै प्रतिज्ञाको देशसम्म इस्राएलीहरुलाई अगुवाइ गर्ने जिम्मा परमप्रभुका फौजका कप्तानलाई खुट्टाको एउटा जुत्ता फुकालेर सुम्पिदिन्छन् ! पृथ्वीका सेनाहरूका कप्तानले स्वर्गका सेनाहरुको कप्तानलाई जिम्मा लगाइदिन्छन् ।
सबै भन्दा रोचक यो छ : यो स्वर्गीय सेनाहरुको कप्तान अरु कोही नभएर हाम्रो मुक्तिको कप्तान येशू प्रभुको पूर्वअवतार र पूर्वस्वरुप हुनुहुन्छ । यो परमप्रभुको विशेष स्वर्गदूत (The Angel of the Lord) पृथक हुनुहुन्थो जसले यहोवा परमप्रभुको नाउँ प्रयोग गर्नसक्नुहुन्थ्यो र मानिसको आराधना र दण्डवत् ग्रहण गर्थ्यो जुन अरु स्वर्गदूतहरुले गर्दैनथे ।
सिकाई : यसरी यहोशू आफ्नो मिसन पूरा गर्न प्ररमप्रभुको फौजका कप्तान येशूमाथि पूर्ण आश्रित भएकोले अनि विजयको लागि शतप्रतिशत भरोसा गरेको कारण सफल भए । मण्डलीले पनि यहोशूले जस्तै आफ्नो हरेक मिसनको सफलताको लागि, साथै विश्वासको उत्तम लड़ाई लड्नको लागि प्रभु येशूमा आश्रित र आधारित हुनुपर्दछ !
– सुरज कासुला
