रोचक प्रसङ्ग: मन्दिर जसको वास्तविक स्वरुप स्वर्ग थियो ।




राजा सोलोमनले भव्य मन्दिर निर्माण गरे‚ जुन मोशाले बनाएको भेट हुने पालको नक्सामा आधारित थियो‚ र त्यो नक्साको वास्तविक स्वरूप स्वर्ग थियो‚ अर्थात् मन्दिर छायाँ वा ब्लु प्रिन्ट मात्रै थियो । मन्दिरमा ३ वटा कोठाहरू थिए: महा पवित्रस्थान‚ पवित्र स्थान‚बाहिरीचोक । पहिलो मन्दिर अदनको बगैंचा र दोस्रो मन्दिर सिनै पर्वत पनि यसरी नै संरचना गरिएको थियो: महापवित्र स्थानमा आदम र हव्वालाई परमेश्वरले भेट्न आउनुहुन्थ्यो र सिनै पर्वतको सन्दर्भमा प्रधान पूजाहारी मोशा मात्रै सबै भन्दा माथि उक्लन पाउँथ्यो। अदनको पवित्रस्थानमा जनावरहरूपन्छीहरू थिए भने सिनैमा चाहिँ हारून र ७० जना अगुवाहरू जान पाउँथे‚ तर त्यहाँ भन्दा माथि जान मिल्दैनथ्यो । अनि बाहिरी चोक चाहिँ अदन बाहिर थियो‚ जुन मरुभूमि थियो‚ र सिनैको सन्दर्भमा पहाडको फेद थियो जहाँ इस्राएलीहरु थिए । 
अझ रोचक यो छ: स्वर्ग‚ जुन मन्दिरको वास्तविक रूप हो‚ त्यसलाई पनि ३ भागमै विभाजित गरिएको थियो : पहिलो स्वर्ग भनेको मानव संसारको आकाश जहाँ चरा चुरुङ्गी उड्छन् ‚ दोश्रो स्वर्ग भनेको तारा मण्डल‚ अनि तेस्रो स्वर्ग भनेको परमेश्वरको बासस्थान ! प्रेरित पावललाई तेर्सो स्वर्ग सम्म उठाइ लगियो भन्नुको अर्थ परमेश्वरको उपस्थितिमा लगियो भने हुन्छ ! 
महा पवित्रस्थान र पवित्र स्थानलाई अलग गर्न ठूलो पर्दा राखिएको थियो । वर्षको एक चोटि मात्रै त्यो पर्दा छिचोलेर प्रधान पूजाहारी इज्राएलीहरुको पापमोचन र प्रायश्चित गर्न रगत लिएर महा पवित्रस्थानमा प्रवेश गर्थ्यो । जनावर पवित्र स्थानमा मारिन्थ्यो‚ र त्यसको रगत महा पवित्रस्थानमा पर्दा भित्र लगिन्थ्यो । हिब्रुको लेखकले यो प्रसङ्गलाई यसरी देखाएका छन् : येशूलाई पहिलो स्वर्गमा अर्थात् क्रुसमा उचालियो अनि उहाँको रगत ईश्वरीय आत्माद्वारा महा पवित्रस्थानमा पापमोचन र प्रायश्चितको लागि वास्तविक करारको सन्दूकमा छर्कन लगियो । आकाश अर्थात् पर्दा छिचोलिएर जानु भएको येशूले मानव उद्धारको लागि बलिदान र बली चढाउने पूजाहारी भएर एकै खेपमा पापको सूद्धकरण गरिदिनुभयो । 
महा पवित्रस्थानपवित्रस्थान अलग गर्ने ठूलो पर्दालाई तेस्रो स्वर्गको ढोका मानिन्थ्यो‚ र अदनको बगैंचाको भान आउने गरी त्यो पर्दामा करूबहरु कुँदिएका थिए । जब क्रुसमा येशू मर्ने बित्तिकै यो पर्दा टुप्पोदेखि फेदसमै दुई भाग हुने गरी च्यातियो‚ अर्थात् तेस्रो स्वर्गको परमेश्वरमा जाने जीवित मार्ग पापीहरूको लागि खोलियो । यो अवसर केवल येशूको क्रुसको बलिदानी मृत्युको कारकले सम्भव गरिदियो । 
यो प्रसङ्गलाई अझ रोचक दृष्टिकोणमा यसरी प्रस्तुत गरिएको छ । यो पर्दालाई हिब्रुको लेखकले क्रुसमा टाँगिएको ख्रीष्टको शरीर भनेका छन् : हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो‚ जसको कारण पर्दाद्वारा‚ अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौं (हिब्रु १०:२०) ! मतलब‚ प्रधानपूजाहारीले पर्दा नछिचोली महा पवित्रस्थानमा प्रवेश पाउँदैन‚ त्यसरी नै अविनाशी र अनन्त वास्तविक प्रधानपूजाहारी येशूको शरीर क्रूसमा नच्यातिकन परमेश्वरको उपस्थितिको बाटो खोलिदैन थियो । यसले येशू कसरी भेडाहरुको ढोका अनि बाटो‚ सत्य र जीवन हुनहुन्छ र उहाँ बाहेक कोही पनि पिताकहाँ जान सक्दैन भन्ने वचनलाई थप स्पष्ट पारिदिन्छ । 

सिकाई : कुनै पनि मानिस क्रुसको बलिदानी मृत्युको ढोकाबाट प्रवेश नगरी मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैन । येशू स्वयम् मन्दिर हुनुहुन्छ र मन्दिरको ढोका पनि हुनहुन्छ‚ अर्थात् ईश्वर उहाँको मानव शरीरमा बास बस्न आउनुभएको छ । जो कोहीले पनि येशूलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छ तिनीहरूको निम्ति उहाँले ढोका खोलिदिनुहुन्छ र तिनीहरूले जीवित ईश्वरसँग साक्षात्कार गरेर अनन्त जीवनम प्रवेश गर्छन् ! यो नै मन्दिर र मन्दिरको पर्दाको रहस्य र महिमा हो !  


- सुरज कासुला
 

Post a Comment

Previous Post Next Post