रोचक प्रसङ्गः येशूको व्यक्तित्व जमानी र उहाँको कार्य जमानत हो !


जब योसेफ मिश्रको प्रधानमन्त्री सरह भए । तब उनको दाजुभाईहरु अनिकालले मर्न नपरोस् भनेर मिश्रमा अनाज किन्न आए । अनाज किन्न आउदा योसेफले आफ्नो सुनको प्याला उनीहरूकै ढोक्रोमा राखिदिन्छन् र उनीहरुलाई नै अभियोग लगाउँछन् । त्यसपछि सिमियोनलाई बन्धकी राखेर बेन्यामिनलाई लिएर आउने शर्तमा छाडिदिन्छन् । 

कथाको रोचकता यो छ : याकुबले आफ्नो प्रिय छोरा बेन्यामिनलाई जान दिँदैनन् किनभने उनले योसेफलाई आफूले गुमाइसकेको तर्क गर्दै यहूदालाई बेस्सरी कराउछन । तर यहूदा आफू जमानी बसेर भएपनि बेन्यामिनलाई लिएर योसेफकहाँ जान सफल हुन्छन । जमानी भनेको धरौटी जस्तै हो : यदि यहूदाले बन्यामिनलाई ल्याउन नसकेको खण्डमा आफुपनि मर्न तयार हुने वाचा र कसम हो । मतलब, बेन्यामिन फर्केन भने आफ्नो प्राण जोखिममा हुने निश्चिन्त छ । यही कुरा यहूदाले योसेफलाई यसरी भन्छनः हजूरको दास, म आफै यस केटाको निम्ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनेंः ‘यदि मैले त्यसलाई फर्काएर तपाईंकहाँ ल्याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु। यसकारण अब बिन्ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्नो कमारा तुल्याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्। (उत्पति ४४ः३२–३३) !

यही शब्द र प्रसङ्ग येशू ख्रीष्टको नयाँ करारको मृत्यु र ख्रीष्ट र मण्डलीको सम्बन्धलाई दर्शाउन चलाईएको छ । हिब्रुको लेखकले ख्रीष्टलाई नयाँ करारको जमानी र जमानत भनेका छन् : यसैले येशूलाई उत्तम करारको जमानत बनाउँदछ (हिब्रु ७ः२२) ! यसले यही देखाउँछ कि प्रभु येशू ख्रीष्ट विश्वासीहरुको पाप र अनन्त जीवनको जमानी र जमानत हुनहुन्छ, अर्थात् उहाँको रगतले पाप क्षमाको निश्चयता गर्छ, साथै अनन्त जीवन सुनिश्चित गर्दछ । अर्को शब्दमा भन्नुपर्दा : जब सम्म अविनाशी, अजम्बरी, अमर, र अनन्त येशू हाम्रो जमानी र जमानत भईरहनुहुन्छ, न हाम्रो धार्मिकता र पवित्रता कसैले खोस्न सक्छ न त हामीलाई शैतानले नै पराजित गर्न सक्छ ! यो आशिषको प्रत्याभूति र ग्यारेन्टी केवल येशूको कलबरी क्रूसमा बगेको रगतले गर्दछ । 

यो सहकारी र बैंकको सन्दर्भमा अझै रोचक हुन्छः यदि सहकारीमा तपाईंको साथीले कर्जा लिएको छ र तपाईं जमानी (साक्षी हैन) बसिदिनुभएको छ भने, यदि साथीले तिरेन या भाग्यो भने तपाईं जवाफदेही हुनुहुन्छ, अनि तपाईं त्यो कर्जा तिर्न बाध्य हुनुहुन्छ नत्र कानुनी कारवाही हुन्छ । बैंकको हकमा पनि त्यही होः यदि कर्जा तिरिएन भने कर्जा लिँदा तपाईंले राख्नु भएको धरौटी जफत हुन्छ किनकि धरौटीले, जुन जमानी हो, तपाईको कर्जालाई सुनिश्चित र ग्यारेन्टी गर्छ । यसरी नै क्रूसमा बगेको नयाँ करारको रगतले हाम्रो मुक्तिको सुनिश्चित र ग्यारेन्टी गर्छ किनकि येशूको व्यक्तित्व जमानी र उहाँको कार्य जमानत हो, जुन सुसमाचार हो (ख्रीष्टको व्यक्तित्व र कार्य) ! 

सिकाई : जब कसैले येशूलाई र उहाँले गर्नु भएको क्रूसको बलिदानी मृत्युलाई पाप क्षमाको लागि विश्वास गर्दछ, उहाँ त्यो व्यक्तिको पाप क्षमा र मुक्तिको लागि जमानी र जमानत भएर सुनिश्चित र ग्यारेन्टी गरिदिनुहुन्छ ! यसरी यो महिमित शब्द र सन्दर्भलाई बाइबलमा प्रस्तुत गरिएको छ !

 सुरज कासुला

Post a Comment

Previous Post Next Post