मोशाको व्यवस्थामा धेरै विधिहरु मध्ये पापबलि विधि चाखलाग्दो छ । यो बलिलाई अति पवित्र भनिएको छ किनभने “जुन चीजले त्यो मासु छुन्छ, त्यो पवित्र हुन्छ, अनि जसमा त्यो रगत छर्किन्छ वा पर्छ त्यो पनि पवित्र हुन्छ (लेवी ६ः२६–२७) ! त्यही भएर मोशाले इस्राएलीहरुमाथि, भाँडाकुँडा माथि, र व्यवस्थाको पुस्तकमाथि रगत छर्केको थियो । रगतले चोख्याउने काम मात्र गर्दैन, तर अलग पार्ने काम पनि गर्दछ जसलाई हिब्रुमा पवित्र भन्ने अर्थ लाग्छ !
जब पवित्र पारिएको परमेश्वरको मन्दिरको भाँडाकुँडा बेविलोनको राजा बेलसजरले आफ्नो स्वार्थको लागि चलाए, तब हातको लेखोट भित्तामा प्रकट भएर ईश्वरीय न्याय आएको कुरा दानियलको पुस्तकमा स्पष्ट लेखिएको छ (दानियल ५ः२५–२८) बेलसजरको मुख्य पाप यही थियो कि उसले पवित्र भाँडाकुँडाको अनादर गरेर त्यसको अनुचित प्रयोग गरे !
रोचक यो छ कि, येशूको क्रुसको बलिदानलाई प्रेरित पावलले पापबलि भनिएको छ : पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो (रोमी ८ः३)! क्रूसको पापबलि यति पवित्र छ कि यसले पाप वहन गरेर त्यसको नाश गरिदिन्छ, साथै जसले यसलाई छुन्छ र जसमाथि यसको रगत छर्किन्छ, त्यो तुरुन्तै पवित्र (अलग) हुन्छ । यो पवित्रता कसरी प्राप्त हुन्छ ?
सिकाईः केवल येशू ख्रीष्टको पापबलि अर्थात् उहाँको देह र रगतको बलिदानी शरीरमाथि विश्वास गरेर प्राप्त हुन्छ, किनभने विश्वास उहाँको मृत्युमा (सुसमाचार) आधारित छ !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
