रोचक प्रसङ्गः येशू प्रभु मरेको मरै भएको भए ख्रीष्टियन विश्वास पनि मृतक ईश्वरको एउटा धर्म हुन्थ्यो !


यदि येशू ख्रीष्ट पनि चिहान मै रहीरहनुभएको भए सायद ख्रीष्टियन विश्वास पनि अरु धर्महरू जस्तै एउटा धर्ममा मात्रै सिमित हुन्थ्यो होला ! र ख्रीष्टियन ईश्वर पनि अरु धर्मका ईश्वरसरह मृतक ईश्वर मात्रै हुन्थ्यो होला ! ती स्त्रीहरू जो झिसमिसे बिहान मै येशूको शरीरमा सुगन्धित अत्तर र द्रव्य मल्नलाई गएका थिए, तिनीहरूले एउटा नयाँ धर्म सुरुवात गर्ने योजनामा थिए किनकी तिनीहरू येशूको चिहानमा तीर्थ गर्न गएका थिए ! तर स्वर्गदूतहरुले उनीहरूको योजनालाई विफल बनाउँदै यसो भने, “तिमीहरू जिवितलाई किन मृतकहरूको बीचमा खोदछौ, उहाँ यहाँ हुनुहुन्न, उहाँ जीवित भएर उठ्नुभएको छ ।“ 

वास्तवमै येशू प्रभु मरेको मरै भएको भए ख्रीष्टियन विश्वास पनि मृतक ईश्वरको एउटा धर्म हुन्थ्यो र उहाँको चिहान ख्रीष्टियन धर्मालम्वीहरुको लागि तीर्थ स्थल मात्रै हुन्थ्यो ! तर येशूको पुनरुत्थानले सबै कुरा नयाँ बनाइदियो, र कसैले नचिताएको र नसोचेको घटना भयो इतिहासमा ! 

येशू प्रभुको पुनरुत्थानले संसारमा आमूल परिवर्तन ल्यायो, किनभने मृत्युलाई कसैले कहिल्यै पूर्ण रूपमा जित्न सकेको थिएन ! उहाँको पुनरुत्थान लाजरसको जस्तो थिएन जो पुनर्जीवित त भयो, तर फेरि दोर्सो चोटि मर्न पर्यो ! तर येशू अनन्तको लागि पुनर्जीवित ( पुनरुत्थान) हुनुभयो, र अब उहाँ कहिल्यै मर्नुहुने छैन, किनकी उहाँले मृत्यु र मृत्युको शक्ति भएको शैतानमाथि विजय प्राप्त गर्नुभयो ! मृत्यु विजयमा सधैंको लागि निलिएको छ ! 

येशूको शरीर चिहानमा नकुहिनुले यही देखाउँछ कि उहाँ मृत्युको पनि मालिक र प्रभु बन्नुभयो, किनभने उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ ! मृत्युले उहाँलाई रोक्न नसकेको अर्को कारण भनेको उहाँ पापरहित हुनुभएकोले पनि हो ! पापीमाथि मात्रै मृत्युको शक्ति हुन्छ, पापरहित माथि हैन ! 

स्मरण रहोस्, पुनरुत्थान येशूको लागि थिएन, तर मण्डलीको लागि थियो ! येशू हाम्रो लागि पुनरुत्थान हुनु भएको हो ! निम्न कारणहरूले गर्दाः 

१. ख्रीष्टियन विश्वास धर्ममा मात्रै सीमित नहोस् भनेर ! 

२. हाम्रो प्रभु अरु ईश्वरहरु जस्तै मृतक ईश्वर नहोस् भनेर !

३. हाम्रो विश्वास र आस्था ब्यर्थ नहोस् भनेर ! 

४. उहाँ सुतिगएकाहरु मध्य प्रथम आगौते फल हुन सकियोस् भनेर !

५. हामी उहाँको क्रुसमा मात्रै हैन, तर विजय जीवनमा पनि उहाँसँगै कलमी बाँधिन सकियोस् भनेर ! 

सिकाई : येशू ख्रीष्टको पुनरुत्थान हाम्रो लागी आशा र अर्थपुर्ण विश्वास हो ।

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post