पवित्र आत्माको बप्तिस्मा कतिबेला हुन्छ ?




पवित्र आत्माको बप्तिस्मा सम्बन्धी केही विश्वासीहरुको गलत बुझाई छ । साथै पवित्र आत्माको बप्तिस्मा र भरिपूरीप्रति पनि भ्रम छ । जसकारण कति चर्चहरुमा त पवित्र आत्माको बप्तिस्मा लेउ भनेर प्रचारकले अगाडी बोलाएर हात राख्ने काम गरेको कुराहरु पनी देख्न सकिन्छ । तर वास्तवमा भन्ने हो भने बाइबलमा पवित्र आत्माको बप्तिस्मा लिनको लागी कतै आज्ञा गरिएको हामी देख्दैनौँ । जस्तोगरी पानीको बप्तिस्माको निम्ति पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनको लागी आज्ञा गरिएको छ । 

बप्तिस्मा भन्ने शब्दको अर्थ डूबाउनु वा चोपल्नु भन्ने हुँदछ । पवित्र आत्माको बप्तिस्मा त्यतिबेला नै हुन्छ जतिबेला हामी उद्दारको क्षणमा नै अर्थात जुन दिन हामीले आफूलाई पापी देख्यौ र येशू खीष्टलाई मुक्तिदाताको रुपमा देखी उहाँमा विश्वास गरी आफ्‌नो जिवन सुम्पिन्छौँ त्यतिखेर नै हामी पवित्र आत्माको बप्तिस्मा पाउँछौँ । पवित्र आत्माको बप्तिस्माले हामीलाई ख्रीष्ट येशूमा डुबाउने अर्थात उहाँमा एक बनाउने काम गर्छ । त्यसकारण पवित्र आत्माको बप्तिस्मा उद्दार पाएपछि हुने अवस्था होइन तर उद्दारको क्षणमा नै हुँदछ ।

जसो पावलले यो कुरा बताउँछन : १ कोरन्थी १२ः१२–१३ मा किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ । किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो । यहाँ नेर पावलले यो कुरालाई स्पष्ट पार्छन कि यो कुनै मानिसले दिने कुरा होइन तर परमेश्वरले नै दिने कुरा हो । अनी अर्को कुरा यहाँ आज्ञा होइन तर सत्यता प्रस्तुत गरी विश्वास गर्नुपर्ने कुरा गर्दछन । 

कति मण्डलीहरुले पवित्रआत्माको बप्तिस्माको चिन्ह अन्यभाषा हो भनि सिकाउदछन । जसकारणले गर्दा धेरै विश्वासीहरु आफूले अन्यभाषा बोल्न नजान्दा मैले पवित्र आत्माको बप्तिस्मा पाएको छैन भन्ने भ्रम र चिन्तामा जिईरहेका हुन्छन । यसरी पवित्र आत्माको बप्तिस्मालाई भ्रमित पारी धेरै चर्चहरुले पवित्रआत्मा सम्बन्धी गलत शिक्षा सिकाउँदै आईरहेका छन । बाइबलले न त पवित्र आत्माको बप्तिस्मा लिनको निम्ति आज्ञा नै दिएको छ न त दिनको निम्ति आज्ञा गरिएको छ । यो त स्वंयम परमेश्वरको काम भएको कारणले गर्दा उद्धारको समयमा नै पवित्र आत्माको बप्तिस्माद्धारा हामी येशू ख्रीष्टमा जोडिने अर्थात उहाँको शरिरको अंग हुने अवसर पाउँदछौँ ।


सन्दर्भ सामाग्री

  1. Sproul, R. C. Essential Truths of the Christian Faith. Wheaton, IL: Tyndale House Publishers, 1992.
  2. ग्रुडम, वेन । सुव्यवस्थित ईश्वरशास्त्र : बाइबलिय धार्मिक सिद्धान्तको परिचय । दार्जीलिङ्ग, भारतः वचन प्रकाशन, १९९४ ।

Post a Comment

Previous Post Next Post