ख्रीष्टियान विश्वास साँचो विश्वास हो कि अन्धविश्वास हो ?


अन्य धर्महरु जस्तै ईसाई विश्वासलाई धर्मको सुचिमा राखिएको कारण यसलाई प्रायः मानिसहरुले धर्म भनेर बुझ्‌ने गर्छन  । तर यसलाई उचित रुपमा भन्ने हो भने यसलाई ''विश्वास'' भन्नुपर्छ ।

विश्वासको अर्थ के हो ? हाम्रो नेपाली संस्कृतिमा यसलाई प्रायः कारणरहित कुरामा अन्धविश्वास भनेर गलत बुझिन्छ । कारण हामी नेपालीहरु थुप्रै अन्धविश्वासका संस्कार र संस्कृतिको अभ्यास सित परिचित छौँ । जसकारणले गर्दा इसाई विश्वासलाई पनि अन्धविश्वासको रुपमा कति मानिसहरुले हेर्दछन तथापि, ईसाई विश्वासलाई “अन्धविश्वास“ भन्नु भनेको ईसाईहरूको लागि अपमान मात्र होइन, तर उनिहरुले विश्वास गर्ने परमेश्वरलाई पनि अपमान गरेको हो । किन भन्दाखेरी इसाईहरुले विश्वास गर्ने बाइबलले अन्धोपनको कुरा गर्दा यसले ती मानिसहरूलाई जनाउदछ, जो आफ्नो पापद्वारा अन्धकारमा हिंड्छन् । त्यसैले बुझ्‌नुपर्ने कुरा, ईसाइ विश्वासले मानिसहरुलाई अन्धकारबाट ज्योतीमा ल्याउने काम गर्छ, नकि यसले अन्धकारमा पुर्‍याउछ । ( एफिसी ५ः८, कलस्सी १ः१३, यूहन्ना ८ः१२ )

ग्रिकमा विश्वासलाई πίστις (pistis)  भनिन्छ, जसको अर्थ “भरोसा“ भन्ने हुन्छ । परमेश्वरमा भरोसा गर्नु भनेको कारणरहित विश्वास होइन । परमेश्वरले हामीलाई उहाँमाथि भरोसा गर्न प्रशस्त कारण दिनुहुन्छ । उहाँले प्रमाणित गर्नुहुन्छ कि उहाँ आफैं विश्वासयोग्य र हाम्रो भरोसाको योग्य हुनुहुन्छ । 

साँचो विश्वास सुसंगत र तर्कपूर्ण र ठोस अनुभवको प्रमाणमा स्थापित हुन्छ । जसो पत्रुस भन्छन, “किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिँदा धुर्ततासँग रचिएका दन्त्यकथाहरुको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्यक्ष देख्ने हामी साक्षी हौं । (२ पत्रुस १ः१६) । 

ईसाई विश्वास काल्पनिक र दन्त्यकथाहरूमा आधारित छैन तर आँखाले देख्ने र आफ्ना कानले सुन्नेहरूको गवाहीमा आधारित छ भन्ने कुरा स्वंय बाइबलले स्व–प्रमाणीत गर्दछ । सुसमाचारको सत्यता ऐतिहासिक घटनाहरूमा आधारित छ । यदि ती घटनाहरूको विवरण सत्य छैन भने त, वास्तवमा इसाई विश्वास व्यर्थ हुनेछ । तर बाइबलको परमेश्वरले हामीलाई काल्पनिक घटनाका आधारमा कुनै पनि कुरामा विश्वास गर्न आह्वान गर्नुहुन्न ।

हिब्रुको पुस्तकले हामीलाई ईसाइ विश्वासको परिभाषा दिन्छः “अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय, र नदेखिएका कुराको दृढ भरोसा हो । (हिब्रु ११ः१) यसको मतलब यो हो कि विश्वास चाहीँ परमेश्वरले विगतमा के गर्नुभयो र भविष्यमा के गर्नुहुनेछ भन्ने कुरामा आधारित छ । विश्वासचाहीँ एउटा महसुस होइन नत म आशा गर्दछु सायद यो सत्य हो भन्नुनै हो । यसको मतलब यो हो कि कुनै कुरा बारे निश्चित हुनु हो । यहाँ नेर दुईवटा शब्दलाई विचार गर्नूहोस निश्चयता र भरोसा । 

विश्वासचाहीँ चट्टान हो जुन परमेश्वरले गर्नुभएको प्रतिज्ञा चाहीँ साँचो र ठिक हो भनि निश्चयता र भरोसा गर्छ जुन कुरा वचनमा उल्लेखित छ । हाम्रो विश्वास हावामा मुक्का हानेको जस्तो होइन यो त परमेश्वरले के गर्नुभयो अनी के गर्नुहुनेछ भन्ने कुरामा आधारित छ । जसो रोमी १०ः१७ मा भन्छ जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ ।

अन्त्यमा ख्रीष्टियान विश्वास अन्धविश्वास नभई यो एक अर्थपुर्ण विश्वास हो । जो साँचो छ अनी यो विश्वासमा जिउनेहरु अर्थपुर्ण जीवन जिउँदछन ।


सन्दर्भ सामाग्री

  1. Sproul, R. C. Essential Truths of the Christian Faith. Wheaton, IL: Tyndale House Publishers, 1992.

Post a Comment

Previous Post Next Post