बाइबलिय प्रार्थना भनेको के हो ?


वेस्टमिन्स्टर संक्षिप्त धार्मिक शिक्षाको प्रश्न ९८ मा प्रार्थना भनेको के हो भन्ने प्रश्नको उत्तरमा त्यसको जवाफ यसो रहेको छ, प्रार्थना भनेको परमेश्वरको इच्छाअनुसार हाम्रो चाहानाहरुलाई ख्रीष्टको नाउँमा आफ्ना पापहरुलाई स्वीकार गर्दै अनि अनुग्रहको लागी धन्यवादी भई चढाउने अन्तरबिन्ति हो ।


प्रार्थनाद्धारा हामी परमेश्वर सित सञ्चार गर्छौ भने परमेश्वरले हामी सित आफ्नो जिवित वचन बाइबलद्धारा सञ्चार गर्नुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा हामीले प्रार्थनाद्धारा हाम्रा कुरा परमेश्वरसित भन्छौ भने परमेश्वरले आफ्ना कुरा आफ्नो वचनद्धारा हामीसित भन्नुहुन्छ ।


एक व्यक्ति ख्रीष्ट सित जोडिएको छ भन्ने कुराको साँचो प्रमाण के हो भने उक्त व्यक्तिले दिनहुँ परमेश्वरको आवाज ( वचन ) सुन्छ अनी प्रतिकृया ( प्रार्थना ) दिन्छ । जेसि रायल भन्नुहुन्छ , नयाँ करारमा ख्रीष्टियान प्रार्थना भनेको परमेश्वरलाई पिताको रुपमा, येशू ख्रीष्टको नाउँमा मध्यस्तकर्ताको रुपमा अनी हामी भित्र वास गर्नुहुने पवित्रआत्माको सक्षम अनुग्रहको माध्यमद्धारा गरिने कुराकानी हो ।


प्रार्थनाको बारेमा जान्नुपर्ने कुराहरु ।


कति पटक मानिसहरु प्रार्थना त गर्दछन तर प्रार्थनाको उत्तर नआउदा निराश हुन्छन । साथसाथै परमेश्वरले आफ्नो प्रार्थनाको जवाफ नदिएकोमा गुनासो पोख्न थाल्दछन । आज हामी प्रार्थना गर्दा ध्यान दिनुपर्ने कुराहरु हेर्नेछौँ ।


१. परमेश्वरको इच्छाअनुसार प्रार्थना जाहेर गर्नुपर्छ ।


परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ । हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ । १ युहन्ना ५ः१४–१५
परमेश्वर सित पुर्ण भरोसासाथ हामीले उहाँ सित बिन्ति विसाउने हो । तर त्यसको जवाफ उहाँको इच्छामा छोड्ने हो । हाम्रा इच्छा आकांक्षा कति पटक हामीलाई नै नाश गर्ने खालका हुन्छन तर परमेश्वरको इच्छा सधै हाम्रो निम्ति ठिक हुन्छन ।


२. हामीलाई के कुराको खाँचो छ परमेश्वर जान्नुहुन्छ ।


यसकारण तिनीहरूजस्ता नहोओ । किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन–कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ । मत्ती ६ः८

परमेश्वर पितालाई हामीलाई के के कुराको खाँचो छ भन्ने थाहा भएकोले हामीले उहाँसित प्रार्थना गर्ने कुराले हामीलाई उहाँ माथी भर पर्न प्रोत्साहन दिन्छ । कारण हाम्रो परमेश्वर पिता हामीबाट टाढा हुनुहुन्न, हामीबाट लुकेर बस्नुभएको छैन तर उहाँ त हाम्रो हरेक परिस्थीतीलाई जान्नुहुन्छ । र हामी जे कुरा माग्न लागेको छौँ त्यो कुरा उहाँले जान्नुहुने भएकोले हाम्रो माग पुरा गर्नुहुनेछ भन्ने कुराले हामीलाई निर्धक्क बनाउँछ ।


३. पवित्र आत्माले प्रार्थनामा हाम्रो तर्फबाट मध्यस्तता गर्नुहुन्छ ।


त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । रोमी ८ः२६–२७
हामी विश्वासीलाई पवित्र आत्मा दिईएको छ । जो हामी भित्र वास बस्नुभएको छ । अनी उहाँले हाम्रो प्रार्थनामा सहायता गर्नूहुन्छ । कतिपटक हामी विभिन्न परिस्थीतीमा कसरी प्रार्थना गर्ने के कुरा भन्ने भनेर थाहा नहुँदा पनी पवित्र आत्माले हामीले भन्न चाहेको कुरालाई पिताकहाँ विन्ति गरिदिनुहुन्छ ।


४. परमेश्वर सार्वभौम हुनुहुन्छ ।


परमेश्वर सार्वभौम हनुहुन्छ भन्ने कुराले हामीलाई झन प्रार्थना ढुक्क साथ गर्न प्रोत्साहन गर्छ । अर्को शब्दमा भन्नुपर्दा हामी त्यो परमेश्वर सित प्रार्थना वा विन्ति चढाउछौँ जसको नियन्त्रण भन्दा बाहिर कुनै कुरा पनी छैन । सबै कुरा उहाँको नियन्त्रण भित्र छ । जसकारणले गर्दा हामी उहाँ सित पूर्ण भरोसा साथ प्रार्थना गर्न सक्छौँ ।


५.परमेश्वरमा विना शंका प्रार्थना जाहेर गर्नुपर्छ ।


तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस् । शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छाल समान हुनेछ । याकुव १ः६

परमेश्वरको इच्छा अनुसारको प्रार्थना जाहेर गर्नुपर्छ, हामीलाई के कुराको खाँचो छ परमेश्वर जान्नुहुन्छ, पवित्र आत्माले प्रार्थनामा हाम्रो तर्फबाट मध्यस्त गर्नुहुन्छ र परमेश्वर सार्वभौम हुनुहुन्छ उहाँको नियन्त्रण भन्दा बाहिर कुनै कुरा पनी छैन भन्ने कुरा थाहा पाईसकेपछि हामी जुन कुराको निम्ती प्रार्थना गर्दै छौँ त्यो कुरामा विना शंका उहाँ सित बिन्ति राख्नुपर्दछ । कि उहाँले हाम्रो विन्ति सुन्नुहुन्छ जसमा उहाँको इच्छाले अधिकार गर्छ । अर्को शब्दमा भन्नुपर्दा उहाँको इच्छा अनुसार हाम्रो विन्तिलाई उहाँले जवाफ दिनुहुन्छ ।


६. प्रार्थना गर्न हामीलाई आज्ञा दिईएको छ ।


१ थेसलोनिकी ५ः१७ मा भन्छ, निरन्तर प्रार्थना गरिरहो । ख्रीष्टियान जीवनमा प्रार्थना हाम्रो वैकल्पिक कार्य होइन तर निरन्तर अभ्यास गरिराख्ने अनिवार्य कार्य हो ।


सन्दर्भ सामाग्री

  1. कोइराला, मणी, सुरज कासुला र बिनोद राई, अनुवादक र सम्पादक । वेस्टमिन्स्टर विश्वासका स्वीकारहरु । काठमाडौं,नेपालः             रिफर्म्ड बुक्स हाउस, २०२३ ।

  1. Ryle, J. C. A Call to Prayer. London: William Hunt and Company, 1878.

Post a Comment

Previous Post Next Post