आजको वचनखण्ड : उत्पत्ति ४ः२–५ “ फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन् । हाबिल भेड़ा–गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए । केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए । तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन । यसैले कयिन ज्यादै रिसाए, र उनको मुख अँध्यारो भयो ।”
सन्दर्भ :
आदम र हव्वाका छोराहरू ( कयिन र हाविल ) दुवैले परमेश्वरको लागि भेटी ल्याए, तर परिणाम फरक भयो । कयिन खेतिकिसानी गर्दर्थ्यो । अनी उसले भूमिको उब्जनीबाट केही परमप्रभुकहाँ ल्यायो । त्यसैगरी उसको भाई हाबिल भेडा गोठालो थियो अनी उसले भेडाको बगालबाट पहिले बियाएका पाठाहरुका बोसे भाग परमप्रभुकहाँ ल्यायो ।
परमेश्वरले यहाँ हाबिलको भेटि स्वीकार गर्नुहुन्छ तर उनका दाजु कयिनको भेटि स्वीकार गर्नुहुन्न । कारण केवल कुन वस्तु ल्याए भन्नेमा मात्र होइन, तर कसरी ल्याए र त्यो के संकेत गर्थ्यो भन्ने कुरा महत्वपूर्ण थियो ।
हिब्रु ११ः४ ले स्पष्ट गर्छ कि ’विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए । तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। ’
हाबिलको भेटी विश्वासद्वारा थियो, र रगत सहितको थियो, जुन परमेश्वरले उत्पत्ति ३ः२१ मा नमूना देखाइसक्नुभएको थियो । तर कयिनको भेटीमा न त साँचो विश्वास देखिन्छ न त प्रायश्चितको बलि नै देखिन्छ ।
यसले एउटा गहिरो सन्देश दिन्छः
परमेश्वरले त्यही आराधना स्वीकार गर्नुहुन्छ जुन विश्वासद्वारा, एक प्रतिस्थापन (substitute) बलिदानको माध्यमबाट चढाईन्छ ।
ख्रीष्टसँग सम्बन्ध :
- हाबिलले आफ्नो भेडाको बथानको उत्तम पहिलो पाठो ल्याए अनी परमेश्वरले स्वीकार गरी त्यस भेटीलाई सम्मती देखाउनुभयो । त्यसैगरी परमेश्वरले पनि आफ्नो एकमात्र पुत्रको क्रूसमा पापी मानिसहरुको साटोको बलिदानलाई स्वीकार गरी सम्मती देखाउनुभयो । कलस्सी १ः१५
- हिब्रू १२ः२४ भन्छः ’र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ । ’
- हाबिलको बलिदान असल थियो तर येशू ख्रीष्टले चढाएको बलिदान उत्तम थियो । जो एकपटक सधैभरिको निम्ति थियो । हिब्रु १०ः१०
अब येशू ख्रीष्टको माध्यमबाट हाम्रो आराधनाका भेटीहरु स्वीकार्य हुन्छन । कारण प्रतिस्थापनको बलिदानद्धारा पवित्र परमेश्वर सम्म पुग्ने माध्यम उहाँ नै हुनुहुन्छ । हिब्रु १३ः१५–१६
लागू गर्नुपर्ने कुराहरु
- आज तपाईं आफैंलाई सोध्नुहोस । के म कयिनजस्तै आफ्नै तरिकाले परमेश्वरकहाँ जान खोज्दैछु ? कि म हाबिल जस्तै परमेश्वरले दिनुभएको बलिदान येशू ख्रीष्ट मार्फत उहाँकहाँ पुग्ने कोसिस गर्दैछु ?
- अब तपाई पवित्र परमेश्वर कहाँ पुग्न र उहाँलाई आराधना गर्न जनावरका बलि वा आफ्नै असल कामलाई माध्यम बनाउन प्रयास गर्नुपदैन । अब तपाईं परमेश्वर पितालाई येशूख्रीष्टद्धारा भएर आराधना गर्न सक्नुहुन्छ, र त्यो आराधनालाई परमेश्वर पिताले सधैं स्वीकार गर्नुहुन्छ ।