आजको वचन खण्ड : उत्पत्ति ३ः२१ जहाँ यसो लेखिएको छ, “ परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो ”
सन्दर्भ :
आदम र हव्वाले पाप गरे। तिनीहरूको आँखाहरू खुले, र तिनीहरूले आफूहरू नाङ्गो भएको महसुस गरे। लाज आयो र तिनीहरूले अञ्जीरका पातहरू जोडेर आफ्नो नाङ्गोपन ढाक्ने प्रयास गरे । तर अञ्जीरका पातहरू पर्याप्त थिएनन् ।
त्यसैले उत्पत्ति ३ः२१ मा परमेश्वर आफैं हस्तक्षेप गर्नुहुन्छ।
“ परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभया ”
परमेश्वरले प्रदान गर्नुभएको छालाको वस्त्र
यो पद सानो देखिएता पनि गहिरो अर्थ रहेको छ । यो नै बाइबलमा पहिलो पटक रगत बगाइएको संकेत हो । छालाको लुगा बनाउनको लागि एक निर्दोष जनावरको बलिदान दिइएको थियो ।
किन ? किनकी उनिहरुको नाङ्गोपन अञ्जिरका पातहरुले ढाक्न सक्नेथिएन ।
बाइबलभरि देखिने एउटा ढाँचा यहीँबाट शुरू हुन्छः
- पापले लाज ल्याउँछ
- लाजले हामीलाई लुक्न बाध्य पार्छ
- तर परमेश्वरले छोपि दिनुहुन्छ
तर त्यो छोप्ने वा ढाक्ने कुरा हामिले बनाएको होइन, परमेश्वरद्वारा दिइएको, र बलिदानीपूर्ण हो । जसकारण परमेश्वरले यो कुरालाई बुझाउनुभयो कि जसरी आदम र हब्बाको नाङ्गोपन ढाकिदिनको निम्ति एक निर्दोष जनावरको बलि भयो त्यसरी नै मानिसलाई पापले बनाईदिएको नाङ्गोपन ढाकिदिनको परमेश्वरले प्रबन्ध गरिदिनुभएको थुमाको धार्मिकताको वस्त्र पहिराईदिनुहुनेछ भन्ने कुराको पूर्वचित्र वा छाया हो ।
- एक प्रतिस्थापन (substitute) मारिन्छ
- मानिसका पापहरु ढाकिन्छन्
- कृपा दिइन्छ
जसकारण नयाँ करारमा हेर्छौ भने बप्तिस्मा दिने युहन्नाले जब, येशू आफुतिर आईरहनुभएको देख्छन, तब युहन्ना १ः१९ मा भन्छन, हेर संसारको पाप उठाईलैजाने परमेश्वरको थुमा ।
येशूले प्रदान गर्नुभएको धार्मिकताको वस्त्र
जसरी परमेश्वरले एक जनावर मारेर आदम र हव्वाको नाङ्गोपनलाई ढाकिदिनुभयो । त्यसरी नै परमेश्वरले पापै नचिन्नुहुने येशू ख्रीष्टलाई मानिसजातीको निम्ति पाप बनाउनुभयो, जो हाम्रो खातिर क्रूसमा बलिदान हुनुभयो, ताकि हामी उहाँको धार्मिकताको वस्त्र पाउन सकौँ । २ कोरन्थी ५ः२१, युहन्ना ३ः१६ पापको परिणाम स्वरुप क्रूसमा उहाँको नग्नतालाई देख्न सक्छौ । त्यसकारण यो एउटा विरोधाभास हो, मर्नुपर्ने बाँच्न पायो, बाँच्नुपर्ने मर्न पर्यो, नाङ्गीनुपर्ने पोशाक पायो, पोशाक भएको नाङ्गिनुपर्यो ।
यशैया ६१ः१० मा भन्छः
“उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ ।”
येशू नै त्यो निर्दोष थुमा हुनुहुन्थ्यो, जसले क्रूसमा हाम्रो सट्टामा मृत्यु स्वीकार्नुभयो । अब हामी छालाको छोपाईले होइन, तर त्यो भन्दा महान ख्रीष्टको धार्मिकताको वस्त्रद्धारा पूर्णरूपमा सधैको निम्ति ढाकिएका छौं ।
लागु गर्नुपर्ने कुराहरु
- आफैंलाई यस्ता प्रश्नहरू सोध्नुहोस । के म अझै पाप ढाक्नको लागी आफ्नो प्रयास(स्व–धार्मिक कामहरु) लाई त आधार बनाईरहेको छु कि ? बुझ्नुपर्ने कुरा हामी आफ्नै प्रयास वा असल धर्म कर्मका कामहरुद्वारा हाम्रो नाङ्गोपनलाई ढाक्न सक्दैनौ । यदि हामीले पापले हामीलाई नंग्याईदिएको कुरालाई आफ्नै धर्मकर्म र आफ्नो प्रयासद्वारा ढाक्न खोर्ज्छौ भने आदम र हब्बाले आफ्नो नाङ्गोपनलाई ढाक्नलाई अञ्जिरका पातहरुको वस्त्र बनाउन खोजेको जस्तो हो । जसले मानिसको नाङ्गोपनलाई ढाक्न सक्दैन । अर्को शब्दमा भर्न्नुपर्दा हामी आफै पापबाट छुटकारा वा मुक्ति पाउन सक्दैनौ त्यो केवल परमेश्वरले प्रबन्ध गरिदिनुभएको थुमाले मात्र हाम्रो नाङ्गोपन ढाकिदिन सक्नुहुन्छ । त्यसैले हामीले आफूलाई यस्तो प्रश्न सोध्नुपर्छ,
के मैले परमेश्वरले ख्रीष्टमा दिनुभएको धार्मिकताको वस्त्रलाई विश्वासपूर्वक ग्रहण गरेको छु ?
- सुसमाचार यो हो कि अब तपाईंलाई लुक्नु पर्दैन न त अब धर्मि ठहरिनको निम्ति तपाईले आफ्नो प्रयास गर्नुनै पर्छ । येशूको सकृय र निस्कृय आज्ञाकारीता अर्थात ( क्रुस सम्मको पूर्ण आज्ञाकारिता र उहाँको बगाउनुभएको रगत ) मार्फत मात्र पापले ल्याएको नाङ्गोपन ढाक्न सकिन्छ । त्यसकारण, आज नै उहाँमा विश्वास गर्नुहोस र पापले ल्याउने मृत्युबाट बाँच्नुहोस ।