पहिलो सुसमाचार


वचन खण्ड : उत्पत्ति ३ः१५, जहाँ यसो लेखिएको छ,  तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”

सन्दर्भ (Context):

उत्पत्ति ३ बाइबलको सबैभन्दा अन्धकारपूर्ण अध्यायहरूमध्ये एक हो —जहाँ आदम र हव्वा, सर्पको प्रलोभनमा परेर परमेश्वरको आज्ञा उल्लंघन गर्छन् । पाप संसारमा प्रवेश गर्छ । अनी परिणाम स्वरुप लाज, डर, दोषारोपण देखिन थाल्छ । तर ठीक त्यसैबेला, परमेश्वरले आशाको वचन दिनुहुन्छ ।

परमेश्वरले शैतानसँग युद्धको घोषणा गर्नुहुन्छः

“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । ”

“दुश्मनी “ शब्दको अर्थ गहिरो शत्रुता, द्वन्द्व हो । यो केवल श्राप मात्र होइन – यो ईश्वरीय हस्तक्षेपको घोषणा हो । जहाँ दुष्टको विजय हुनेछैन ।

परमेश्वरले स्त्रीको सन्तानको प्रतिज्ञा गर्नुहुन्छ

“ तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् । “

परमेश्वरले यहाँ स्त्रीको सन्तान अर्थात एक व्यक्तिको कुरा गर्नुभएको छ, जसले शैतानलाई पराजित गर्नुहुनेछ ।

अब त्यो स्त्रीको सन्तान को हुनुहुन्छ त ?

  • स्त्रीको सन्तान येशू ख्रीष्ट हुनुहुन्छ (लुुका १ः२६–३७, गलाती ४ः४, मत्ती १ः२१)

लुका १ः२६–३७ छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्ये–केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।  स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा–पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ ।”

तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। ३०, स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ ।  उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।  उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।” ३५ स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्। किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”

  • शैतानले क्रूसमा उहाँको खुट्टाको कुर्कुच्चो टोकेको थियो (पिडा)
  • तर येशुले पुनरुत्थानमा शैतानको टाउको कुचल्नुभयो ( मृत्युमाथी विजय )

’जसले पाप गर्छ त्यो दियाबलसको हो । किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। ’ १ यूहन्ना ३ः८

कुलुस्सी २ः१५ भन्छ, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निःशस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो ।

हिब्रु २ः१४ ’किनकि छोरा–छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्, ’ 

लागू गर्नुपर्ने कुरा 

  • आज तपाईंलाई के याद गर्न जरुरी छ भनेः तपाईं छुटकाराको कथा भित्र हुनुहुन्छ। तपाईंले अहिले जुन संघर्ष महसुस गर्दै हुनुहुन्छ, त्यसमा अन्तिम विजय येशूको हो । त्यसकारण आज नै तपाईंको विश्वास सर्पमाथि विजय प्राप्त गर्ने उही व्यक्तिमा राख्नुहोस । जसले पापको ज्याला मृत्युमाथी तपाईलाई बिजयी दिनुहुन्छ ।

Post a Comment

Previous Post Next Post