रोचक प्रसङ्गः येशूको रगतमा अनन्त जीवन थियो !


मोशाले करारको सन्दूक बनाए । त्यसमाथि छायाँ पर्ने २ वटा सुनको करुबहरु बनाएका थिए, र त्यस भित्र परमेश्वरको संविधान अर्थात् १० आज्ञा र कोपिला लागेको लहुरो र मन्न थियो । यसले यही देखाउँछः सार्वभौम परमप्रभु महाराजा करुबहरुमाथि विराजमान हुनहुन्छ र महाराजाधिराजको संविधान अर्थात् उहाँको करार उहाँकै सामुन्ने छ ! यो सन्दर्भ अदनसँग लगभग मिल्न आउँछ ! 

पाप भनेको उहाँको ब्यबस्था भंग गर्नु या करार भंग गर्नु हो, जसले ईश्वरीय क्रोध दन्काउँछ । परिणामस्वरूप, उहाँले र उहाँको संविधानले न्यायको माग गर्दछ, र चुकेमा मृत्युको सराप भोग्नुपर्छ ! जबसम्म ईश्वरीय न्याय र संवैधानिक सर्वोच्चताको माग सन्तुष्ट हुँदैन, तबसम्म पाप क्षमा, मिलाप, उद्धार, र शान्ति सम्भव हुँदैन । परमेश्वरको अनुग्रहमा, उहाँले मोशालाई न्याय सन्तुष्ट गर्न रगत छर्कने विधि दिनुभयो । सालिन्दा प्रधान पूजाहारी प्रायश्चितको दिन (Yom Kippur) रगत लिएर पर्दा भित्र प्रवेश गर्छन्, र करुबहरु र १० आज्ञाको बीचमा ७ पल्ट रगत छर्किन्छ ! करार भंगको पापको दोष करुबहरुमाथि आसीन परमेश्वरको नजरबाट छोपियो भन्ने अर्थ यसले दिन्छन, किनभने हिब्रुमा यो दिनलाई पाप छोप्ने दिन (Yom Kippur) भनिन्छ ! यसरी सालिन्दा थुमाको रगतले इस्राएलको पाप छोपिदिन्थ्यो साथै ईश्वरीय न्याय अस्थायी रूपमा सन्तुष्ट हुन्थ्यो ! 

तर हिब्रुको लेखकले स्पष्ट भन्नुहुन्छ की न जनावरको रगतले पाप हरण गर्न सक्छ, न त ईश्वरीय न्याय नै सन्तुष्ट गर्न सक्छ, न त मरणशिल पूजाहारीले नै सधैंको लागि पूर्ण रूपमा एकै खेपमा पापको प्रायश्चित गर्न नै सक्छ । त्यही भएर एक जना यस्तो अविनाशी पूजाहारी र खोटरहित सिद्ध बलिदान अपरिहार्य भयो । त्यही भएर परमेश्वरको थुमा येशू बलिदान र बलिदान चढाउने पूजाहारी भएर क्रूसको वेदीमा सधैंको लागि एकै खेपमा आफ्नै रगत छर्केर पूर्ण रूपमा पापको प्रायश्चित गरीदिनुका साथै ईश्वरीय न्याय र व्यवस्थाको माग पनि फेरि जरूरत नपर्ने गरी सन्तुष्ट गरिदिनुभयो ! यो काम उहाँले पार्थिव मन्दिरमा अर्थात् छायाँमा नभएर, त्यसको वास्तविकता अर्थात् स्वर्गिय मन्दिरमा गरिदिनुभयो, जहाँ वास्तविक करुबहरु र परमेश्वर हुनुहुन्थो ! 

यो कुरा रोमी ३ः२५ स्पष्ट देखाईएको छः परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यसरी येशू प्रभुको बलिदानी मृत्युको प्रायश्चितले पाप हरण, संकट मोचन, मिलाप, न्याय सन्तुष्ट, छुटकारा, धार्मिकता, र पवित्रता कमाउनुका साथै ईश्वर र मानवको प्राचीन लामो दुस्मनीलाई क्रुसद्वारा शान्ति स्थापना गराएर सधैंको लागि अन्त्य गरिदियो ! 

हरेक प्राणधारीको जीवन रगतमा हुन्छ । मानिसको जीवन रगतमा हुन्छ, तर येशूको रगतमा अनन्त जीवन थियो जुन उहाँले क्रुसमा बगाईदिनुभयो अर्थात् उहाँले आफ्नो जीवन खन्याउनुभयो । यदि रक्तदान जीवनदान हो भने येशूले यो दान मानवजातिको उद्धार र छुटकाराको लागि बहाउनुभयो ! 

येशूको बलिदानी क्रुसमा रगतले कमाएका अरु उपलब्धिहरु यस प्रकार छन् : 

१. रगतले पाप छोपियो र जीवन दियो

२. रगतले पापको शुद्धिकरण गरिदियो  

३. रगतले ईश्वरीय न्याय र व्यवस्थाको माग सन्तुष्ट गर्यो 

४. रगतले पापीलाई हिउँ र ऊनजस्तै सेतो हुने गरी धोईदियो 

५. रगतले पाप हरण गर्यो र निस्तार चाड जस्तै संकट मोचन गर्यो 

६. रगतले मण्डलीलाई मन्दिर हुनको लागि अर्थात् पवित्रआत्माको बासस्थान हुनको लागि चोख्याइदियो 

७. रगतले छुटकारा, पाप क्षमा, प्रायश्चित, पवित्रता, धार्मिकता कमाई दियो 

८. रगतले मृत्यु र मृत्युको शक्ति भएको शैतानलाई सधैंको लागि पराजित गरिदियो 

९. रगतले करुबहरुलाई पन्छाएर र ज्वालामय तरवारलाई हटाएर स्वर्गको ढोका (मन्दिरको पर्दा) पापीहरूको लागि खोलिदियो 

१०. रगतको अमूल्य मूल्यमा दुलाह येशूले आफ्नो दुलही मण्डली खरिद गर्नुभयो 

यसरी लेख्दै गयो भने १००० वटा भन्दा बढी हुन्छ । यति १० वटाले धेरै कुरा स्पष्ट पार्छ । 

सिकाई : यसरी येशू प्रभुले हाम्रो निम्ति योगदान र बलिदान गरेर आफ्नो निस्वार्थ र सर्तरहित प्रेम र अनुग्रह उत्कृष्ट रुपमा क्रुसमा संसारलाई देखाइदिनुभयो । जुन अनुग्रहबाट येशू ख्रीष्टमाथीको विश्वासद्वारा हामी धर्मी ठहरिन्छौँ ।

---------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post