रोचक प्रसङ्गः बोअज र रूथको कथा वास्तवमा, ख्रीष्ट र मण्डलीको विवाहको कथा हो ।

 

रूथ र बोअजको विवाहको कथा एकदमै चाखलाग्दो छ । नाओमीको पति र छोराहरूको मृत्यु पश्चात् दुईजना बुहारीहरुमध्ये रूथ मात्रै आफ्नो सासुसँग इस्राएलमा जान जिद्दी गर्छिन । त्यसपछि रूथ र बोअजको प्रेम कथा बडो रोचक र मार्मिक ढंगमा प्रस्तुत गरिएको छ । यो प्रेम विवाहमा परिणत हुन भन्दा अगाडि एउटा बाधा आईपर्छ : नाओमी र रूथलाई छुटकारा दिने नजिकको नातेदार बोअज भन्दा अघि अर्को एकजना हुन्छ । तर त्यो व्यक्ति त्यस जिम्मेवारीबाट पन्सिन्छ र आफ्नो जुत्ता फुकालेर त्यो कर्तव्य बोअजलाई सुम्पिदै यस्तो भन्छः 

“म आफै यो काम गर्न सक्दिनँ, किनभने मेरो आफ्नै पैतृक–सम्पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्दिनँ।”

प्राचीन समयमा जग्गाजमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा, दिने मानिसले आफ्नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो । इस्राएलमा पक्का गर्ने रीति यस्तै थियो। यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्नै निम्ति त्यो किन्नुहोस्।” अनि तिनले आफ्नो जुत्ता फुकाले। तब बोअजले ती धर्म–गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्योनका जे–जति छन् सो सबै नाओमीको हातबाट प्राप्त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्छ । यसबाहेक महलोनकी पत्नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक–सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई तिनका नातेदारहरूका बीचबाट र सहरको खाताबाट तिनको नाउँ नमेटिओस् भनेर मैले आफ्नी पत्नी हुनलाई प्राप्त गरेको छु । तपाईंहरू आजको दिन साक्षी हुनुहुन्छ।” (रूथ ४ः६–१०) 

यसरी बोअज नजिकको नातेदार भएर रूथलाई आफ्नो पत्नीको रूपमा ग्रहण गर्छ । रोचक के छ भने नजिकको नातेदारलाई हिब्रु भाषामा चालाईएको शब्द गोयल (GoÚel)  हो । साहुसँग कर्जा लिएर तिर्न सकेन भने त्यो व्यक्तिले आफूले आफूलाई त्यो साहुको हातमा बेच्नुपर्छ अनि उसको कमारा बन्नुपर्दछ । तर त्यो व्यक्तिको गोयलले उसलाई आफ्नो पैतृकसम्पति बेचेर भएपनि नीखन्नुपर्छ अनि त्यसबाट छुटकारा दिनुपर्छ ! यति मात्र हैन, जब कसैको पैतृक सम्पति बन्धकी राखिन्छ भने गोयलले त्यो निखन्नी दिनुपर्दछ । मोशाको व्यवस्थामा यस्तो नियम थियो । 

रोचक यस्तो छ : येशू ख्रीष्ट मण्डलीको गोयल भएर हामीलाई पाप, मृत्यु र शैतानको दासत्वको बन्धकीबाट सधैंको लागि नीखन्नु मात्र भएन तर अनन्तको लागि छुटकारा पनि दिनुभयो ! यसको लागि गोयल येशूले कलवारीको क्रुसमा रगत बगाएर ठूलो मूल्य चुकाउनुपर्यो ! येशू कसरी गोयल हुनुभयो त? किनभने येशूले मानव अवतार लिनुभयो ! मतलब, उहाँले आफ्नो शरीरमा मण्डलीलाई पहिचान (Identified) गरेर हाम्रो गोयल हुन्नको लागि हाम्रो स्वभाव अर्थात् मासु र रगतको शरीर धारण गर्नुभयो, जुन उहाँले आफ्नो दुलहीलाई (मण्डली) नीखन्नु अनि छुटकारा दिन क्रुसमा बलिदान गरिदिनुभयो ! यस महिमित कार्यले गर्दा येशू ख्रीष्ट हाम्रो गोयल हुन्नको योग्य र सक्षम हुनहुन्छ ! 

बोअज र रूथको कथा वास्तवमा ख्रीष्ट र मण्डलीको विवाहको कथा हो । बोअजले दरिद्र मोआवी रूथलाई विवाह गरेर उनीलाई नयाँ पहिचान दिनुका साथै उनको ओहदा पनि परिवर्तन गरिदियो, जसरी हाम्रो दुलाह येशूले आफ्नो दुलही मण्डलीलाई नयाँ पहिचान दिनुका साथै ओहदा परिवर्तन गरिदिनुभयो ! मण्डली ख्रीष्टको शरीरको एकतामा कलमी बाँधिएर उहाँको सम्पूर्ण स्वर्गीय वैभव र आशिषहरुमा सहभागी, समावेश र अंशियार बनाइयो । 

सिक्नुपर्ने कुराः यसरी हाम्रो दुलाह आफ्नो दुलहीलाई नीखन्न र छुटकारा दिन स्वर्गबाट गोयल भएर आउनुभयो, र बलिदानी रगतको मूल्यमा उहाँले मण्डलीलाई आफ्नो निम्ति सधैंको लागि प्राप्त गर्नुभयो, जुन रूथ र बोआजको प्रेम कथाले चरितार्थ गरिदिन्छ !

---------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post